
कुलेन्द्र शाही, सुर्खेत। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेपछि सुरक्षा अवस्थालाई मध्यनजर गर्दै कर्णाली प्रदेशमा सुरक्षा सतर्कता उच्च पारिएको छ। गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनअनुसार प्रदेशभरका सुरक्षा निकायलाई ‘हाई अलर्ट’मा बस्न सर्कुलर जारी गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राम प्रकाश शाहका अनुसार सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै आजदेखि लागू हुने गरी जिल्ला प्रहरी प्रमुखसहित सम्पूर्ण प्रहरी कर्मचारीको बिदा स्थगित गरिएको छ। ‘आजदेखि लागू हुने गरी जिल्ला प्रहरी प्रमुखसहित सम्पूर्ण प्रहरी कर्मचारीको बिदा पनि स्थगित गरिएको छ,’ उनले भने, ‘सबैलाई स्ट्यान्डबाई बस्न निर्देशन भइसकेको छ ।’ उनले थपे, ‘अहिले प्रदेशका सबै प्रहरीहरु तयारी अवस्थामा बस्नुभएको छ।,’
वरिष्ठ उपरीक्षक शाहले कुनै पनि अप्रत्याशित घटना तुरुन्त नियन्त्रण गर्न सकियोस् भन्ने उद्देश्यले सुरक्षा संयन्त्रलाई पूर्ण तयारीमा राखिएको खबरदृष्टिलाई बताए। त्यस्तै, जिल्ला प्रहरी कार्यालय सुर्खेतका एक अधिकारीका अनुसार प्रदर्शन, जुलुस वा अन्य अप्रत्याशित गतिविधि हुन सक्ने संकेत देखिएकाले सम्पूर्ण प्रहरीलाई तयारी अवस्थामा राखिएको हो।
आवश्यक परे तत्काल परिचालन गर्न सकिने गरी सुरक्षा व्यवस्थापन सुदृढ गरिएको उनले बताए। ‘संघीय राजधानीमा विरोध प्रदर्शन भइरहेको छ । यहाँ पनि प्रदेश राजधानीमा भएकाले केही प्रभाव हुनसक्छ भनेर बिदा सबै स्थगित गरिएको छ, आवश्यक परे तत्काल परिचालन गर्न सकिने गरी प्रहरीलाई स्ट्यान्डबाई राखिएको छ,’ ती अधिकृतले भने।
२३ र २४ भदौमा भएको जेन–जी आन्दोलनको छानबिनका लागि गठित आयोगको सिफारिसअनुसार पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक पक्राउ परेपछि राजधानी काठमाडौँमा विरोध प्रदर्शन भइरहेका छन्। सोही घटनाको प्रभाव कर्णाली प्रदेशसम्म फैलिन सक्ने आँकलन गर्दै विशेषगरी प्रदेश राजधानी वीरेन्द्रनगरसहित संवेदनशील क्षेत्रहरूमा सुरक्षा सतर्कता बढाइएको प्रहरीले जनाएको छ।
यसैबीच, सशस्त्र प्रहरी बलको प्रधान कार्यालयबाट पनि आवश्यक सतर्कता अपनाउँदै स्ट्यान्डबाई अवस्थामा बस्न निर्देशन दिइएको बताइएको छ।