२०८३ वैशाख १४ , सोमबार

जाजरकोटका दुई परीक्षा केन्द्रबाट ४० थान मोबाइल बरामद



तस्बिर एआइको सहयोगमा निर्माण गरिएको हो।

सुर्खेत। कक्षा १२ को परीक्षामा जाजरकोटका दुई वटा परीक्षा केन्द्रबाट परीक्षार्थीहरूको साथबाट ४० थान मोबाइल बरामद गरिएको छ। आज (सोमवार) देखि सुरु भएको कक्षा १२ को परीक्षाका क्रममा जिल्लाको शिवालय गाउँपालिका–७ स्थित वीरेन्द्र माध्यमिक विद्यालय परीक्षा केन्द्र र शिवालय गाउँपालिका–३ स्थित सरस्वती माध्यमिक विद्यालय सिमा परीक्षा केन्द्रबाट ती मोबाइल बरामद गरिएको हो।

वीरेन्द्र माध्यमिक विद्यालय परीक्षा केन्द्रका केन्द्राध्यक्ष शेरबहादुर खत्रीका अनुसार उक्त केन्द्रबाट ३५ थान मोबाइल बरामद गरिएको हो। उनले परीक्षालाई मर्यादित, व्यवस्थित र निष्पक्ष बनाउन गरिएको सुरक्षा जाँचका क्रममा परीक्षार्थीहरूले साथमा ल्याएका मोबाइल नियन्त्रणमा लिइएको बताए।

यस्तै, सरस्वती माध्यमिक विद्यालय सिमा परीक्षा केन्द्रका केन्द्राध्यक्ष कमल थापाले आफ्नो केन्द्रबाट ५ थान मोबाइल बरामद गरिएको जानकारी दिए। वीरेन्द्र माध्यमिक विद्यालय परीक्षा केन्द्रमा २४१ जना परीक्षार्थीमध्ये २१६ जना परीक्षार्थी सहभागी छन् । यहाँ २५ जना परीक्षार्थी अनुपस्थित छन् यस्तै सरस्वती माध्यमिक विद्यालय सिमा परीक्षा केन्द्रमा २१२ जना परीक्षार्थीमध्ये १७९ जना मात्रै परीक्षामा सहभागी भएका छन्।

यहाँ ३३ जना परीक्षार्थी अनुपस्थित रहेको छन्। शिवालयका दुवै परीक्षा केन्द्रमा मोबाइल, गेस पेपर लगायत निषेधित सामग्री नियन्त्रणमा लिएर शान्तिपूर्ण रूपमा परीक्षा सञ्चालन भइरहेको शिवालय गाउँपालिकाका वरिष्ठ शिक्षा अधिकृत मानबहादुर बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : २०८३ वैशाख १४ गते सोमबार