
काठमाडौँ । असार ५ गते नेपाल भित्रिएको मनसुन मंगलबारदेखि देशभर फैलिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार र बिहीबार देशभरको मौसम थप प्रतिकूल रहने अनुमान गरिएको छ ।
बंगालको खाडी क्षेत्रमा विकसित न्यूनचापीय प्रणालीका कारण नेपालतर्फ जलवायु युक्त हावाको प्रवाह बढिरहेको कारण मनसुनी गतिविधि थप सशक्त बनेको र वर्षाको मात्रा बढ्ने अवस्था सिर्जना भएको मौसमविद्धहरूले बताएका छन् ।
मनसुनजन्य विपद्को सम्भावित घटनाको जोखिम कम गर्न तथा प्रतिकार्यको लागि सरकारी संयन्त्र सक्रियताका साथ काम गरिरहेका छन् । सशस्त्र प्रहरी बल ९एपीएफ० नेपालले विपद्को समयमा तत्काल उद्धार टोली पुग्न समस्या हुने अति संवेदनशील र जोखिमयुक्त स्थानहरूको पहिचान गरी देशका ५४ स्थानमा ‘अस्थायी मनसुन प्रतिकार्य वेस’ स्थापना गरेको सशस्त्र प्रहरी बल (एपीएफ) नेपालका प्रवक्ता डीआईजी नेत्रबहादुर कार्कीले बताए । उनका अनुसार वर्षाजन्य विपद् हुने १६ वटा अति जोखिमयुक्त स्थानहरूमा जनशक्ति र स्रोतसाधनसहितका विपद् व्यवस्थापनका लागि स्थायी बस स्थापना गरिएको छ ।
साथै विपद्पछिको उद्धार तथा राहतका लागि गोताखोरसहितको टोलीलाई आवश्यक उपकरणसहित देशभरका जोखिमयुक्त स्थानमा खटाइएको कार्कीले बताए । ‘मनसुनजन्य विपद् व्यवस्थापनको लागि सशस्त्र प्रहरी बल नेपाल सधैं तयारी अवस्थामै रहन्छ । यस वर्षको मनसुनलाई लक्षित गरेर हामीले देशका विभिन्न ५४ वटा स्थानमा मनसुन प्रतिकार्य बेस स्थापना गरेका छौँ । स्थायी प्रकृतिका विपद् व्यवस्थापनका लागि १६ पहिलेदेखि नै तयारी अवस्थामा छन्,’ डीआईजी कार्कीले भने ।
विपद्सम्बन्धी सूचना प्राप्त गर्ने उद्देश्यले सशस्त्र प्रहरीले ‘एपीएफ कम्युनिटी अलर्ट सिस्टम’ मोबाइल एप सञ्चालनमा ल्याएको छ । यस प्रणालीमार्फत समुदायबाट प्राप्त सूचना बाहिनी तहको अपरेसनल रुममा तत्काल पुग्ने र उद्धार टोली परिचालन हुने व्यवस्था मिलाइएको सूचना अधिकारी कार्कीले बताए । उक्त प्रणालीमा रहेको विपद्को कुनैपनि प्रकारमा थिच्ने बित्तिकै लोकेसनसहित सूचना प्राप्त हुने र नजिकको बाहिनीमा कार्यरत कर्मचारी आउने उनको भनाइ छ । कार्कीले जोखिममा परेका नागरिकका लागि केन्द्र तथा प्रत्येक बाहिनीमा १११४ हटलाइन सेवा सञ्चालनमा ल्याइएको समेत जानकारी दिए ।
मनसुनजन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै नेपाली सेनाले तीन चरणको विशेष पूर्वतयारी कार्ययोजना अघि सारेको छ । सम्भावित बाढी, पहिरो तथा अन्य प्राकृतिक प्रकोपबाट हुनसक्ने क्षति न्यूनीकरण र तत्काल उद्धारका लागि सेनाले जनशक्ति र स्रोतसाधनलाई उच्च सतर्कताका साथ परिचालन गरेको हो ।
नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार पहिलो चरण अन्तर्गत पूर्वतयारी र योजना निर्माणको कार्य सम्पन्न भएको छ । यस क्रममा विगतका विपद्का घटनाहरूको गहन अध्ययन र अनुसन्धान गरी विद्यमान योजनालाई परिमार्जन गरिएको छ । जङ्गीअड्डादेखि तल्लो तहका इकाइहरूसम्म ‘हातेमालो’ लगायतका विभिन्न संयुक्त अभ्यासहरू सञ्चालन गरी फौजलाई तयारी अवस्थामा राखिएको सेनाले जनाएको छ ।
दोस्रो चरण अन्तर्गत स्रोतसाधनसहितको ‘पूर्व तैनाथी’ लाई तीव्रता दिइएको छ । यसअन्तर्गत गण र गुल्म तहमा तत्काल परिचालन हुनसक्ने गरी फौज तैनाथ गरिएको छ भने पृतना तहमा राहत सामग्रीसहितको ‘कम्पोजिट सर्च एन्ड रेस्क्यु’ टोली तयारी अवस्थामा राखिएको छ ।
बाढी र पहिरोका कारण सडक सञ्जाल अवरुद्ध हुनसक्ने जोखिमलाई ध्यानमा राख्दै धादिङको गजुरी, चितवनको भरतपुर र बारामा ‘बेलीब्रिज’ स्ट्यान्डबाई राखिएका छन् । काठमाडौंमा यान्त्रिक पुलहरू र आपत्कालीन चिकित्सा सुविधाका लागि इमर्जेन्सी मेडिकल किटसहितका फिल्ड अस्पतालहरू समेत तयारी हालतमा राखिएको प्रवक्ता बस्नेतले जानकारी दिए ।
हवाई उद्धारका लागि सेनाले विशेष तयारी गरेको छ । इटहरी र सुर्खेतमा हेलिकप्टर पूर्वतैनाथ गरिसकिएको छ भने मौसमको अवस्था हेरी तत्काल परिचालन हुनेगरी काठमाडौंमा थप दुईवटा हेलिकप्टर तयारी अवस्थामा छन् । विमानस्थलहरूमा खोज तथा उद्धार टोली परिचालन गरिएको छ । हालै बागमती ड्याममा हवाई उद्धारसम्बन्धी विशेष अभ्याससमेत सम्पन्न गरिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०८३ वैशाखयता बाढीका कारण ६ जनाको मृत्यु भएको छ । त्यस्तै हावाहुरीका कारण १३, पहिरोमा परी ५ र भारी वर्षाले ३ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ ।