
काठमाडौँ । नेपाल (चीन सीमावर्ती लप्ची क्षेत्रमा सीमा पार गरेर ड्रोन उडाएको आरोपमा चिनियाँ सुरक्षाकर्मीको नियन्त्रणमा रहेका दुई नेपाली युवा बिहीबार रिहा हुने भएका छन्।
तातोपानी अध्यागमन कार्यालयका प्रमुख पदमराज तिमल्सिनाका अनुसार चिनियाँ पक्षले आवश्यक कानुनी प्रक्रिया पूरा गरी दुवै युवालाई बिहीबार छाड्ने जानकारी दिएको छ। उनका अनुसार युवाका परिवारसमेत सम्पर्कमा आइसकेका छन् र नेपाली पक्षले औपचारिक पत्राचारमार्फत रिहाइका लागि अनुरोध गरिसकेको छ।
ड्रोनमार्फत चिनियाँ भूभागको गतिविधि लिन कसैले उनीहरूलाई उक्साएको हो कि भन्ने आशंका चिनियाँ पक्षको देखिन्छ। हामीले आवश्यक समन्वय र पत्राचार गरिसकेका छौं। बिहीबार रिहा गर्ने जानकारी पाएका छौं, तिमल्सिनाले भने।
काठमाडौंका मनोज प्रजापति र भक्तपुरका १७ वर्षीय सुदीप थापा मगरले लप्ची घुम्न गएका बेला सीमा क्षेत्रबाट ड्रोन उडाएका थिए। ड्रोन चिनियाँ भूभागमा प्रवेश गरेपछि चिनियाँ सुरक्षाकर्मीले उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
हाल उनीहरूलाई चीनको न्यालम काउन्टीमा सुरक्षित राखिएको छ। ती दुवै युवाको अवस्था सामान्य र सुरक्षित छ , प्रमुख तिमल्सिनाले भने । सीमाक्षेत्रमा चहलपहल बढेपछि चिनियाँ पक्षले निगरानीसमेत कडा बनाएको छ ।