२०८३ असार १७ , बुधबार

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल भित्रिँदै



काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्रालयले आगामी साउनभित्र करिब २ लाख १० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको जनाएको छ। धान रोपाइँका बेला किसानलाई आवश्यक मलको अभाव हुन नदिन सरकार–सरकार (जीटूजी) सम्झौता तथा अन्तर्राष्ट्रिय टेन्डरमार्फत मल आयात प्रक्रिया तीव्र पारिएको मन्त्रालयले जनाएको हो।

मन्त्रालयका अनुसार भारतसँग भएको जीटूजी सम्झौताअन्तर्गत ८० हजार मेट्रिक टन मल आयात गरिनेछ। पहिलो चरणमा ५० हजार मेट्रिक टन मल साउनको दोस्रो सातासम्म नेपाल आइपुग्ने अपेक्षा गरिएको छ। यसैगरी अन्तर्राष्ट्रिय टेन्डरमार्फत १ लाख ८० हजार मेट्रिक टन रासायनिक मल आयात भइरहेको छ, जसमा १ लाख २० हजार मेट्रिक टन युरिया र ६० हजार मेट्रिक टन डीएपी रहेका छन्।

ओमान, कतार, साउदी अरेबिया र भियतनामबाट युरिया तथा डीएपी मल बोकेका जहाजहरू क्रमशः कोलकाता र विशाखापट्टनम बन्दरगाह हुँदै असार अन्तिमदेखि साउन दोस्रो सातासम्म नेपाल भित्रिने मन्त्रालयले जनाएको छ। साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र कृषि सामग्री कम्पनी लिमिटेडमार्फत विभिन्न खेपका मल आयातको प्रक्रिया अन्तिम चरणमा पुगेको पनि मन्त्रालयले जानकारी दिएको छ।

पश्चिम एसियामा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा मलको उपलब्धतामा केही असर परे पनि किसानलाई आवश्यक मल उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको मन्त्रालयको भनाइ छ। चालु आर्थिक वर्षमा करिब ६ लाख मेट्रिक टन रासायनिक मल अनुदानमा वितरण गर्ने लक्ष्य राखिएको छ, जुन हालसम्मकै सबैभन्दा ठूलो परिमाण हुने मन्त्रालयले जनाएको छ।

मन्त्रालयले मल वितरणलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन सम्बन्धित निकायलाई अनलाइन प्रणालीमा विवरण अनिवार्य रूपमा अद्यावधिक गर्न निर्देशन दिएको छ। साथै, स्थानीय तहमा कालोबजारी वा अनियमितता भएको पाइए बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म हटलाइन नम्बर ९७०००९९११३ वा क्यूआर कोडमार्फत गुनासो दर्ता गर्न आग्रह गरेको छ।

प्रकाशित मिति : २०८३ असार १७ गते बुधबार