काठमाडौं। निर्वाचन आयोगले आज राष्ट्रपति निर्वाचनको मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाउँदै छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आयोगले बिहीबार भएको चुनावको परिणामसहितको प्रतिवेदन आज राष्ट्रपतिसमक्ष पेश गर्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । बिहीबार भएको राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल मुलुकको तेस्रो राष्ट्रपतिका रूपमा निर्वाचित भएका थिए ।
संघतर्फको १६ हजार ९०६ र प्रदेशतर्फको १६ हजार ९६ गरी कुल ३३ हजार ८०२ मतभारसहित पौडेल निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले प्रदेशतर्फ सात हजार ७७६ र संघतर्फ सात हजार ७४२ गरी कुल १५ हजार ५१८ मतभार पाएका थिए । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आउँदो सोमबार शपथ ग्रहण गर्दै छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको आइतबार कार्यकाल सकिने भएकाले पौडेलले सोमबार शपथ ग्रहण गरेपछि पद सम्हाल्ने छन् ।