२०८३ वैशाख ५ , शनिबार

शिवालयको कल्यानमा झोलुङ्गे पुल जीर्ण हुँदा स्थानीयवासीलाई सास्ती



जाजरकोट । जाजरकोटको शिवालय गाउँपालिका वडा नम्बर–५ र ७ जोड्ने कल्यानमा वि.स. २०७२ सालमा झोलुङ्गे पुल निर्माण भयो । पुल १०४ मिटर लामो रहेको छ । विदेशी संस्थाको करीब ३५ लाख बजेटमा पुल निर्माण भएको हो । पुलले पुरानो इतिहास बोकेको छ । पुल निर्माण भएपछि स्थानीयवासी खुसीले गदगद भएका थिए । पुलको निर्माण समितिको अध्यक्षमा शिवालय–५ की स्थानिय लक्ष्मी केसी थिइन ।पहिले उक्त स्थानमा पुल नहुँदा स्थानियवासीलाई वारपार गर्न निकै असहज भएको थियो । अरुबेला खोला तरेर स्थानिय वारपार गरे पनि वर्खाको समयमा भने खोला तर्न निकै समस्या हुने गर्दथ्यो । नागरीकलाई घट्ट, मिल साथै अन्य कामकाजको लागि समेत पुल निर्माण भएपछि स्थानिवासीलाई निकै राहत मिल्यो । झोलुङ्गे निर्माण भएको झण्डै ७ वर्षमा आईपुग्दा अहिले पुलको अवस्था नाजुक देखिएको छ । पुरानो इतिहास बोकेको झोलुङ्गे जीर्ण हुँदा स्थानीयवासीलाई समस्या भएको छ । गत असोजमा निरन्तर अविरल वर्षका कारण जीर्ण बनेको पुल हालसम्म पनि मर्मत नहुँदा स्थानियवासीलाई समस्या भएको हो ।  शिवालय गाउँपालिकाको कार्यालय जाने बाटो पनि यहीँ पर्छ । शिवालय गाउँपालिकाको व्यापारीक केन्द्रमा पनि यही पुल हुँदै दैनिक सयौँ नागरीकको आउजाउ हुन्छ ।

गाउँपालिका–५ का सल्लेरी, विरालसिमा, काउँला, डाँडाबाडा र वडा नम्बर ६ का काडागाउँ लगायतका मानिस गाउँपालिकाको कार्यालय आउजाउ गर्ने बाटो यही पुल भएर हो । तर, वर्षौंदेखि सञ्चालनमा आएको पुल मर्मतमा भने कसैले चाँसो देखाएका छैनन् । झोलुङ्गेको जीर्णेद्धारका लागि स्थानीयवासीले आवाज उठाए पनि पुलको अवस्था झनै नाजुक हुँदै गएको छ । शिवालय गाउँपालिकाको विभिन्न स्थानमा नयाँ पुलहरु बनाउन सरकारी निकाय सक्रिय भएपनि भएका पुराना पुलहरु मर्मत सम्भार गर्न तर्फ कसैको ध्यान जान सकेको छैन । पुल जीर्ण बन्दा शिवालय गाउँपालिका–५ र ७ का नागरीकलाई निकै समस्या भएको स्थानियवासी सपना बुढाले बताईन् । ‘गाउँपालिकाकी उपाध्यक्ष र ५ का वडा अध्यक्ष लगायत अन्य जनप्रतिनिधि पनि गाउँपालिकाको कार्यालय जाने बेला यही बाटोबाट जानुहुन्छ । पुल जीर्ण अवस्थामा रहेको थाहा हुँदै पनि यसमा केही चासो दिनुभएको छैन् । दैनिक यस्तो जीर्ण बनेको पुलमा एक सय भन्दा बढी नागरीकको आवतजावत हुने गर्दछ । तर पनि पुल मर्मत गर्ने केही कुरा उठेको छैन् ।’ उनले भनिन् । गाउँपालिका–५ का स्थानियवासी उक्त पुलबाटै दैनिकजसो बिस्कुन पिस्न घट्ट, मिल लगायत अन्य कामको दागि उनीहरुले जाखिम मोलेर ओहोरदोहोर गर्ने गर्दछन् ।

‘हामी जोखिम मोलेरै यो पुलबाट ओहोरदोहोर गर्छाै, पुलका फलेक, तार जाली केही पनि छैन, वडा अध्यक्षदेखि गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष समेतलाई पुल जीर्ण बनेको थाहा भएपनि उहाँहरुले पुल मर्मतको लागि कुनै पनि पहल गर्नुुहुन्न ।’ अर्का एक जना स्थानिय निर्मल क्षेत्रीले भने । वडा नम्बर–५ का नागरीक लगायत अन्य मानिसहरु पनि जोखिम मोलेरै जीर्ण अवस्थामा रहेको पुलबाट गाउँपालिकाको कार्यालय, खलङ्गा, सुर्खेत आउँने गर्दछन् । हामी केही सामान किन्न परे पालिकामा यही पुलबाट जान्छौँ, भनेको समयमा गाडि पाईएत गाडीमा जान्छौ, यो पुलमा जानुपर्देन्, तैपनि सधैभरी गाडि पाईदैन, हामी गाडी नपाएपछि हिड्दै सामानको भारीसँग यो पुलमा डरैडरले ओहोरदोहोर गर्छाै ।’ ५४ वर्षकी एक जना महिलाले भनिन् । यता गाउँपालिकाकी उपाध्यक्ष गिता शाहीले उक्त स्थानमा पुल मर्मत गर्ने कि नयाँ पुल बनाउने भन्ने विषयमा ठोस निर्णय लिन नसेकेको बताइन । ‘हामीले बजेट त विनियोजन गरेका छौ, तर पुल नयाँ निर्माण गर्ने कि त्यही पुललाई मर्मत गर्ने भन्ने बारेमा हामीले छलफल गर्दै छौ ।’ उनले भनिन् । उक्त पुल मर्मत सम्भारको लागि गाउँपालिकाबाट करिब ५२ लाख बजेट विनियोजन गरीएको छ ।

प्रकाशित मिति : २०७९ फागुन ३० गते मंगलबार