२०८३ वैशाख ५ , शनिबार

कर्णालीमा ३८ हजार बढीले एसईई दिँदै



फाईल तस्बिर

सुर्खेत । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा कर्णाली प्रदेशबाट ३८ हजार बढीले परीक्षा दिने भनेका छन् । कर्णालीका १० जिल्लाका छात्रछात्रा गरी कुल ३८ हजार ९ सय ७० परीक्षार्थी सहभागी हुन लागेका हुन् । जसमा छात्र १९ हजार ३ सय एक र छात्रा १० हजार ६ सय ६९ जना रहेको शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतले जनाएको छ । यस्तै, नियमित परीक्षा दिने परीक्षार्थीको संख्या ३७ हजार नौ सय रहेको छ भने नियमितको साधारणतर्फ ३६ हजार ७ सय ५५ र प्राविधिक तर्फ १ हजार एक सय ४५ छन् । नियमितको छात्रहरूमा १८ हजार ७ सय ७२ रहेकोमा छात्रातर्फ १९ हजार १ सय २८ रहेको शिक्षा विकास निर्देशनालय सुर्खेतका आठौँ अधिकृत एवम् सूचना अधिकारी लोकप्रसाद पौडेलले खबरदृष्टिलाई जानकारी दिए । उनका अनुसार यस्तै कर्णालीमा ग्रेडवद्धिको परीक्षा दिनेको संख्या भने न्यून रहेको निर्देशनालयले जनाएको छ । जसमा ग्रेड वृद्धितर्फ छात्र ५२९ र छात्रातर्फ ५४१ गरी १ हजार ७० जना रहेका छन् । यस वर्षको एसईईको परीक्षामा सबैभन्दा बढी परीक्षार्थी सुर्खेतमा रहेको छन् ।

जसमा सुर्खेतमा ३२ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । जिल्लामा यसपालि ग्रेड वृद्धि र प्राविधिक तर्फका विद्यार्थी लाईसमेत सँगै राखेर परीक्षा सञ्चालन गरिने भएको छ । यसपालि जिल्लाभर नौ हजार एक सय ३९ जनाले परीक्षा दिने भएका छन् । नियमितमा ८ हजार ७५७ र ग्रेड वृद्धिका ३ सय ८२ परीक्षार्थीले यस वर्षको एसईईको परीक्षा दिन लागेको पौडेलले जानकारी दिए । जिल्लामा नियमितको साधारण र प्राविधिकतर्फको कुल ८ हजार ७५७ जना र ग्रेड वृद्धिको १८६ छात्र र १९६ छात्रा गरी ३८२ जना परीक्षार्थीले परीक्षा दिनेछन् । सुर्खेतका तीन वटा माध्यमिक विद्यालयले प्राविधिक कक्षा सञ्चालन गरे पनि प्राविधिकतर्फ विद्यार्थीको संख्या भने न्यून रहेको छ । सुर्खेतमा माध्यमिक विद्यालयको संख्या १ सय ६३ रहेको छ । जसमा ५१ संस्थागत र ११२ सामुदायिक रहेका शिक्षा विकास तथा समन्वय एकाइ सुर्खेतले जनाएको छ । यस्तै, यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा जाजरकोटमा २० परीक्षा केन्द्रमा ४ हजार ६५६ जना परीक्षार्थीले परीक्षा दिने भएका छन् । जसमा नियमितको साधारणतर्फ २ हजार २२३ छात्र र २ हजार २३० छात्र गरी ४ हजार ५५३ र प्राविधिक तर्फ २४ छात्र र ३५ छात्रा गरी ५९ जना रहेको निर्देशनालयले जनाएको छ ।

जिल्लामा ग्रेड वृद्धितर्फको साधारण र प्राविधिकतर्फको छात्र १८ र छात्रा २६ गरी जम्मा ४४ जना परीक्षार्थीले परीक्षा दिन पाउनेछन् । यस्तै दैलेखमा २४ परीक्षा केन्द्र तोकिएकोमा नियमितको साधारण र प्राविधिक गरी ५ हजार ३२३ र ग्रेड वृद्धिको साधारण र प्राविधिक गरी ४१२ जनाले यस वर्षको परीक्षा दिन पाउनेछन् । जिल्लामा २ हजार ७१५ छात्र र ३ हजार २० छात्रा गरी जम्मा ५ हजार ७३५ जना परीक्षार्थी परीक्षामा सहभागी हुनेछन् । यस्तै जुम्लामा जम्मा परीक्षार्थीको संख्या २ हजार ८७७ छन् भने जिल्लामा १७ वटा परीक्षा केन्द्र तोकिएको छ । यस्तै जिल्लामा नियमितको साधारणतर्फ छात्र १ हजार ३८१ र छात्रा १ हजार ३१८ गरी २६९९ जना, प्राविधिकतर्फ ६९ जना छात्र र ६० छात्रा रहेको सूचना अधिकारी पौडेलले जानकारी दिए । उनकाअनुसार जिल्लामा ग्रेड वृद्धितर्फ साधारण र प्राविधिकतर्फ २५ छात्र र २४ छात्रा गरी४९ जना परीक्षामा सहभागी हुनेछन् । यस्तै, कालिकोटमा ३ हजार ७६६ जनाले यस वर्षको एसईईको परीक्षा दिने भएका छन् । जसमा नियमितको साधारण र प्राविधिकतर्फ ३ हजार ६२१ र ग्रेड वृद्धिको साधारण र प्राविधिकतर्फ ४५ जना परीक्षार्थीले परीक्षा यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई दिने बताईएको छ ।

जसमा १ हजार ९०३ छात्र र १ हजार ८६३ छात्र सहभागी हुनेछन् । यस्तै, सबैभन्दा कम डोल्पाबाट यस वर्षको एसईईको परीक्षामा परीक्षार्थी सहभागी हुन लागेको छन् । जसमा १९०३ छात्र र १८६३ छात्रा गरी जम्मा ६९८ जना परीक्षार्थी परीक्षामा सहभागी हुने अधिकारी पौडेलले बताए । उनकाअनुसार जिल्लामा ४ वटा मात्रै परीक्षाकेन्द्र तोकिएको छ । यस पटक डोल्पामा ग्रेड वृद्धिमा कुनै पनि परीक्षार्थी नरहेको उनले जानकारी दिए । यस्तै, मुगुमा ७ परीक्षाकेन्द्रमा ८ सय छात्र र ८ सय ६६ जना छात्रा गरी १ हजार ६६६ जना परिक्षार्थीहरुले परीक्षा दिन पाउँनेभएका छन् । जसमा नियमितको साधारण र प्राविधिक गरी १ हजार ६४५ र ग्रेड वृद्धिको साधारण र प्राविधिकमा ११ छात्र र १० छात्रा गरी २१ जना परीक्षार्थीले परीक्षामा सहभागी हुनेछन् । यस्तै, डोल्पापछि सबैभन्दा कम हुम्लामा परीक्षाकेन्द्र र परिक्षार्थी रहेका छन् । जसमा हुम्लामा ६ वटा परीक्षाकेन्द्र ताकिएकोमा ६६० छात्र र ५७४ छात्रा गरी १२३४ जना परीक्षार्थीहरू परीक्षामा सहभागी हुनेछन् । यस्तै जिल्लामा नियमितको साधारण र प्राविधिकतर्फको १ हजार २२८ परीक्षार्थी यस वर्षको एसईई दिनेछन् ।

यस्तै कर्णालीको सबैभन्दा दोस्रो बढी परीक्षार्थी सल्यानमा रहेका छन् । जिल्लामा २५ परीक्षा केन्द्रमा २ हजार ३८५ छात्र र २ हजार ५९८ गरी ४ हजार ९८३ जनाले परीक्षा दिने भएका छन् । जसमा नियमितको साधारण र प्राविधिक तर्फ ४ हजार ९१४ र ग्रेड वृद्धिको साधारण र प्राविधिकतर्फ ३२ छात्र र ३७ छात्रा गरी ६९ जना परीक्षार्थी यस पटकको एसईई परीक्षामा सहभागी हुने पौडेलले जानकारी दिए । यस्तै रुकुम पश्चिममा २३ वटा परीक्षा केन्द्रमा २ हजार ७२ छात्र र २ हजार १४४ छात्रा गरी जम्मा ४ हजार २१६ जना परीक्षा दिने भएका छन् । जिल्लामा नियमितको साधारण र प्राविधिक तर्फको ४ हजार १७४ र ग्रेडवृद्धिको १९ छात्र र २३ छात्रा गरी जम्मा ४२ जना परीक्षार्थीले यस वर्षको एसईई परीक्षा दिने उनले जानकारी दिए । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को समयतालिका सार्वजनिक गरिसकेको छ । परीक्षा आगामी चैत १७ देखि २९ गतेसम्म सञ्चालन हुने छ । तालिकाअनुसार आगामी चैत १७ गते शुक्रवार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुने छ । चैत १९ गते अनिवार्य गणित र २० गते अनिवार्य नेपालीको परीक्षा हुनेछ ।

प्रकाशित मिति : २०७९ चैत १ गते बुधबार