
हुम्ला । हुम्लाको अदानचुली गाउँपालिकाको गल्फागाडदेखि कालागाडसम्म सडक निर्माणसँगै कालोपत्रे गर्ने विश्व बैंकले प्रस्ताव गरेको छ । सडक निर्माणका लागि विश्व बैंकका इन्जिनियर र पालिका अध्यक्षसहितको टालीले भुगोल अनुगमन गरेको छ । निर्माणसँगै कालोपत्रे गर्ने विश्व बैंकको प्रस्तावको विषयमा कालागाडमा पालिकाका जनप्रतिनिधि, प्राविधिक तथा स्थानीयहरुको उपस्थितिमा छलफल भएको छ । विश्व बैंकमार्फत १४ किलोमिटर २ सय मिटर सडक निर्माण गरिने छ ।
१८ महिनाभित्र निर्माण भएको सडक कालोपत्रे गर्ने र अन्य कार्यहरुमा पनि सहजीकरण गर्ने विश्व बैंकले लक्ष्य लिएको इन्जिनियर भुवनेस त्रिपाठीले बताए । घरजग्गाको विषयमा विवाद उब्जिए बैंक जिम्मेवार नहुँदै पूर्व जानकारी दिँदै त्रिपाठीले नालसहित ८ मिटर चौडाइको सडक निर्माणका लागि सडक तल र माथिका घर टहरा हटाउन पालिका आफैं जिम्मेवार हुनु पर्ने बताए । सडकको सर्भे गर्न ७ गते प्राविधिकको टोली अदानचुली पुग्ने बताइएको छ ।आउँदो जुन महिनामा टेण्डर आह्वान हुने तथा स्थानीयले उक्त आयोजनामा काम गर्न पाउने बताइएको छ ।
अदानचुलीवासीले विकासलाई सहर्स स्वीकार गरेर अघि बढ्ने गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंहले बताए । सर्भे टोली पुग्नु अगावै विवादरहित बनाउन समन्वयकर्ता बनाएर अघि बढ्ने तयारी रहेको उपाध्यक्ष कर्ण रोकाया सुधारले बताए । सडक निर्माणका लागि घरटहरा भत्काउन अनुरोध गर्ने तथा विवाद समाधान समिति बनाएर अघि बढ्ने उनले बताए । विकासका लागि सबैको साथ रहने उपाध्यक्ष रोकायाको भनाइ थियो ।