
अष्टमासिक प्रगति समिक्षा गोष्ठीमा छलफल हुँदै
सुर्खेत । भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको संयुक्त आयोजनामा वीरेन्द्रनगरमा दुईदिने प्रगति समिक्षा गोष्ठी सुरु भएको छ । चौमासिक तथा अष्टमासिक प्रगति समिक्षा गोष्ठीको उद्घाटन बिहीवार भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भिमप्रकाश शर्माले गरेका छन् । कर्णालीका कृषि मन्त्रालय अन्तर्गतका सबै कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको गोष्ठीमा हरेक कार्यालयले आ–आफ्नो प्रगति विवरण प्रस्तुत गरेका थिए ।
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा.लेखराज दाहालको अध्यक्षतामा सुरु भएको गोष्ठीमा मन्त्री शर्माले समुदाय स्तरमा कार्यक्रम नपुग्नु भनेको काम गर्ने विधिमै समस्या रहेको देखिएकोले कर्मचारीहरुले त्यसतर्फ विशेष ध्यान दिन आग्रह गरे। गोष्ठीमा उपस्थित कार्यालय प्रमुखहरुलाई निर्देशन दिँदै मन्त्री शर्माले सूचना जारी गरेर मात्र कार्यालयको जिम्मेवारी पुरा नहुने भन्दै सेवाग्राही र स्थानीय सरकारसँग निरन्तर अन्तरक्रिया र समन्वय गरेर कार्य सम्पादनमा ध्यान दिनुपर्नेमा जोड दिए ।
उनले कार्यालयहरुले प्रस्ताव माग्ने मात्र नभई त्यसको कार्य सफलताको लागि पनि सक्रियता देखाउन निर्देशन दिएका छन् । यस्तै, सचिव डा. दाहालले यसपटकको प्रगति त्यति सन्तोषजनक नरहेको बताउँदै आगामी दिनमा प्रभावकारी काम गरेर देखाउन कार्यालयहरुलाई निर्देशन दिएका छन् । उनले कृषि क्षेत्रमा योजना बनाउँदै गरिकाले यस प्रदेशबाट अन्य प्रदेशकाले पनि सिक्ने गरी योजना बनाउनका आग्रह गरेका छन् । बेरुजु फर्छ्यौटमा के–के काम भएका छन्, अब के गर्ने हाे भन्ने बारेको योजना बनाउन समेत डा.दाहालले निर्देशन दिएका छन् ।
योजना तर्जुमाको चरणमा रहेकाले राम्रा योजनालाई स्थान दिन उनले कर्मचारीलाई आग्रह गरे । कार्यक्रममा पशुपन्छी विकास निर्देशनालयका निर्देशक कृष्णप्रसाद पंगेनी, कृषि विकास निर्देशक कर्णाली प्रदेश सुर्खेतका निमित्त प्रमुख चित्रबहादुर रोकाय, एकिकृत कृषि प्रयोगशालाका निमित्त प्रमुख परशुराम रावत, बागवानी विकास केन्द्रका प्रमुख, दशवटै जिल्लाका पशु अस्पताल तथा पशु सेवा कार्यालय प्रमुख, कृषि विकास कार्यालयका प्रमुख र पशु सेवा प्राविधिकहरुको उपस्थिति रहेको थियो । चालू गोष्ठी आज (शुक्रवार) सम्पन्न हुनेछ ।