२०८३ वैशाख ५ , शनिबार

बाँफिकोट गाउँपालिकामा पशु सेवा शाखा सुचारु



रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाले पशु शाखा कार्यालयको सेवा आइतबारदेखि छिन्खेतबाट शुरु गरेको छ । यसअघि पशु शाखाको सेवा वडा नं- ४ मा रहेको गाउँपालिकाको कार्यालय नजिकै भाडाको घरबाट प्रवाह भइरहेको थियो ।

 

आइतबार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष जनककुमार बाँठा र उपाध्यक्ष तारा बुढा केसीले संयुक्तरुपमा शाखाको उद्घाटन गरेका हुन् । वडा नं- ४ छिन्खेतमा उद्घाटन भएको पशु शाखाको कार्यालय पनि भाडाकै भवनमा राखिएको छ ।

 

गाउँपालिकामा रहेका १० वडामध्ये १, २, ९ र १० नं- वडाका नागरिकलाई सेवा लिन सहज होस् भन्ने उद्देश्यले छिन्खेतमा शाखा स्थापना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गाबहादुर ओलीले बताए ।

ओलीका अनुसार छिन्खेतमा पशु शाखा कार्यालय स्थापना भएसँगै पहिलेको कार्यालय सहायक पशु सेवा कार्यालयको रुपमा रहने छ । पालिकाभित्रका नागरिकले जहाँबाट सहज हुन्छ सोही कार्यालयबाट सेवा लिन सक्ने उनले बताए ।

दुई ठाउँबाट सेवा प्रवाह हुँदा पनि कर्मचारीको समस्या नहुने गाउँपालिकाले जनाएको छ । शाखामा कार्यरत कर्मचारीलाई दुवै ठाउँमा बाडँफाँड गरेर सेवा प्रवाह शुरु गरिएको गाउँपालिकाले जनाएको छ ।

उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ओली, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख रत्नबहादु केसी, वडा नं- ४ का वडा सदस्य चन्द्रजङ मल्ल, पशु शाखा प्रमुख कृृष्णबहादुर खत्री, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख पुष्पा ददेललगायतको सहभागिता रहेको थियो । वडा नं- ६, वडा नं- ८ र वडा नं- १० मा पशु सेवा उपशाखा सञ्चालनमा रहेका छन् ।

प्रकाशित मिति : २०७९ चैत १३ गते सोमबार