
ग्वालेखोरमा भत्किएको आधुनिक घट्ट
हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका वडा नम्बर ७ ग्वालेखोरमा निर्माण भएको आधुनिक घट्ट प्रयोगमा नआउँदै भत्किएको छ । सात वर्ष अगाडि गरिबी निवारण कोषको लगानीमा बनेको घट्ट प्रयोग नआउँदै भत्किएको स्थानीय मैनबहादुर शाहीले बताए ।
प्रयोग नगर्दै घट्ट भत्किएपछि ग्वालेखोरका स्थानीयले घट्ट निर्माण उपभोक्ता समितिको ध्यानाकर्षण गराएका छन् । सात वर्ष अगाडि करिब ७ लाख ५० हजार रुपैयाँको लागतमा बनेको घट्ट प्रयोगविहीन बनेर भत्किएको भन्दै उपभोक्ता समितिको ध्यानाकर्षण गराएका हुन् ।
उनीहरुले उपभोक्ता समितिसँग घट्ट निर्माण गर्दा ५० घरधुरीले दुई महिना गरेको श्रमदानको क्षतिपूतिसमेत मागेका छन् । स्थानीय शाहीकाअनुसार घट्ट बनाउँदा उपभोक्ता सिमितिले कबोल गरेको रकम उनीहरुले माग गरेका हुन् ।
‘घट्ट प्रयोगमा आएको भए बरु चित्त बुझाउँन सकिन्थ्यो’ उनले भने । यता उपभोक्ता समितिका अनुसार करिब तीन वर्ष अगाडि हिल्सा सिमकोट सडक आयोजनाले सडक निर्माण गर्दा ढुङ्गाले लागेर एक तिरको पर्खाल भत्किएको थियो ।
एक तिरको पर्खाल भत्किए पछि घट्टमा भएको सबै सामन चोरी भएको समितिको दाबी छ । घट्ट बनाउँदा आएको रकम हिनामिना गरेको आरोपमा उपभोक्ता समितिविरुद्ध मुद्दा हाल्ने स्थानीयले चेतावनी दिएका छन् ।