२०८३ वैशाख ५ , शनिबार

आज राम नवमी, कर्णालीमा सार्वजनिक बिदा



भगवान श्रीराम

सुर्खेत । आज राम नवमी पर्व । रामको पूजा आराधना गरी सुर्खेत सहित देशभर मनाइँदै छ । हरेक वर्ष चैत्र शुक्ल नवमीका दिन देशभरी श्रद्धा र भक्तिपूर्वक ‘रामनवमी’ पर्व मनाउने गरिएको छ । हिन्दु धर्मग्रन्थ रामायण अनुसार चैत्र शुक्ल नवमी तिथिमा पर्ने आजको दिनलाई भगवान श्रीरामको जन्मदिनको रूपमा लिइन्छ ।

 

यो पर्व चैत्र नवरात्रको बीचमा आउने भएकाले यो दिन भगवान श्री रामका साथै नवदुर्गा देविको पनि पूजा हुन्छ ।त्रेता युगमा चैत्र शुक्ल नवमीका दिन अयोध्यामा जन्मिएका रामले दानवीय प्रवृत्तिका रावणको अन्त्य गरी जन कल्याण गरेको सम्झनामा यो पर्व मनाइने गरिएको हो ।

 

यस्तै, आज यस पर्वको अवसरमा कर्णाली प्रदेश सरकारले प्रदेशका दशवटै जिल्लामा सार्वजनिक बिदा दिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले गत वर्ष वि.सं. २०७८ चैत २९ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयबमोजिम आज प्रदेशस्थित सबै सरकारी, सार्वजनिक सङ्घसंस्थामा बिदा दिइएको बताए ।

प्रकाशित मिति : २०७९ चैत १६ गते बिहीबार