२०८३ वैशाख ५ , शनिबार

अनिर्णित अवस्थामै कर्णाली सरकारले आज विश्वासको मत लिँदै



कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा

सुर्खेत । कर्णाली प्रदेश सरकारले शुक्रबार विश्वासको मत लिने भएको छ । विश्वासको मत लिने निर्णयसंगै अबको मुख्यमन्त्री को हुने भन्ने चर्चा चुलिएको छ । गत माघ ६ गते माओवादी एमालेको गठबन्धनबाट मुख्यमन्त्री बनेको राजकुमार शर्मा विश्वासको मत लिने दिन भैसक्दापनि दोधारमा छन् । केन्द्रमा चुनावी गठबन्धन बिउँतिएसँगै प्रदेशमा पनि नेपाली कांग्रेस सत्तामा आउने र सत्तामा रहेको एमाले रिङ आउट हुने करिब निश्चित जस्तै देखिन्छ । यद्यपि एमालेले अहिलेसम्म कुनै निर्णय गर्न सकिरहेको छैन ।

 

माओवादीले सरकार छोड्न नभनेसम्म एमाले सरकारमै बसिरहन चाहेको देखिन्छ । अर्कातर्फ नयाँ माओवादीले पनि अहिलेसम्म न कांग्रेससँग छलफल गर्न सकिरहेको छ, न एमालेलाई सरकार छाड्न भन्न सकिरहेको छ । तर कांग्रेसले प्रदेश सरकारको नेतृत्वका लागि दाबी गरिरहेको छ । केन्द्रीय राजनीतिका बाछिटाहरू क्रमशः प्रदेशसम्म पुग्न थालपछि मुख्यमन्त्री शर्मा यता न उताको भएका छन् । नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले चुनावताका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र कांग्रेस उपसभापति पुर्णबहादुर खड्काले मुख्यमन्त्री बनाउने बचन दिएको र सोही अनुसार आफू प्रदेशमा आएको बताइरहेका छन् ।

 

शर्माले सरकारको नेतृत्वबारे कुनै पनि निर्णय नगरी दोस्रो पटक विश्वासको मत लिन लागेका छन् । मुख्यमन्त्रीको रूपमा माघ ६ गते पहिलो पटक विश्वासको मत लिएका शर्माले राप्रपाले समर्थन फिर्ता लिएपछि पुनः चैत १७ गते विश्वासको मत लिन लागेका हुन् । कर्णालीमा कुनै दलको पनि स्पष्ट बहुमत छैन । स्पष्ट बहुमत नहुँदा मुख्य तीनदलमध्ये दुई दल मिलेर सरकार चलाउनुपर्ने वाध्यता छ । चुनावताका भएको गठबन्धन पुस १० गते भत्किएपछि एमाले र माओवादी मिलेर कर्णालीमा सरकार बनाएका थिए । तर, पछि चुनावताकै गठबन्धन व्युउँतिएपछि प्रदेशमा पनि सरकार फेरबदल हुने निश्चित देखिएको छ ।

 

४ वटा प्रदेश सरकारहरूको नेतृत्व गरेको एमाले यसअघि नै सुदूरपश्चिम प्रदेशबाट बाहिरी सकेको छ भने लुम्बिनी र गण्डकी प्रदेशमा एमालेलाई दिएको समर्थन नेकपा माओवादीले फिर्ता लिईसकेको छ । पूर्वको कोशी प्रदेशमा राप्रपा निर्णायक देखिएकोले सत्तारुढ गठबन्धनका मुख्य दल नेपाली काँग्रेसले राप्रपालाई मुख्यमन्त्री दिएरै भए पनि एमालेलाई सबै प्रदेशबाट “क्लीनस्वीप“ गर्नुपर्ने योजना बनाएको छ । तर, कर्णालीमा भने एमालेले सरकारमा बस्ने कि बाहिरिने भन्ने बारे केही सोच्न सकेको छैन । एमाले माओवादीको भरमा बसेको छ भने कांग्रेस पनि माओवादीसँग मिलेर सरकार चलाउँने रस्साकस्सीमा छ ।

 

माओवादीले भने बाहिरी रुपमा कुनै पनि निर्णय नगरेको भएपनि भित्रभित्रै कांग्रेसका दलहरुसँग मौखिक रुपमा एमालेले नेतृत्व गरेको ठाउँमा कांग्रेसलाई समेट्ने योजना बनाएको माओवादी स्रोतले बताएको छ । केन्द्रमा चुनावताको गठबन्धन व्युउँतिएर राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन भैसक्दापनि कर्णाली प्रदेशको एमालेले केही थान मन्त्रालयमै ¥याल काट्दै आएको छ । ३ मन्त्रालयको जिम्मेवारी सम्हालेको एमाले सरकारबाट कहिले बाहिरिएला र माओवादी माथि दबाब बढाउन पाइएला भन्ने दाउ हेरेर काँग्रेस बसेको छ । एमालेको यो निर्णयले माओवादीलाई थप खेल्ने अनि सुरक्षित अवतरण हुने सुनौलो अवसर मिलेको छ ।

 

नेकपा एमालेले केन्द्रमा चुनावताको गठबन्धन बने पनि प्रदेशमा सोही गठबन्धन हुनुपर्छ भन्ने नभएको भन्दै सरकारमा बसिरहन कुतर्क गर्दै आएको छ । गत माघ ६ गते मुख्यमन्त्री शर्माले नेकपा माओवादी केन्द्रसहित नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकिकृत समाजवादी पार्टी र स्वतन्त्र सांसदको गरी २५ मत प्राप्त गरेका थिए । उनलाई नेकपा एमालेका १०, माओवादी केन्द्र १३, राष्ट्रिय प्रजातन्त्र पार्टी एक, नेकपा एकिकृत समाजवादी एक र एक स्वतन्त्रसहित २५ जना सांसदले मतदान गरेका थिए । उनको विपक्षमा १४ मत परेको थियो । कांग्रेसले मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिएको थिएन ।

 

कर्णालीमा ४० सदस्यीय रहेकोमा माघ ६ गते र ३९ सांसद मतदानमा सहभागी भएका थिए । मुख्यमन्त्री शर्माले दोस्रोपटक शुक्रवार विश्वासको मत लिने तयारी गरेपनि उनलाई गत माघ ६ गते विपक्षमा बसेको नेपाली कांग्रेसले विश्वासको मत दिने कि नेकपा एमालेले विश्वासको दिने भन्ने बारे अझै पनि एकिन भएको छैन । यता, नेकपा माओवादी केन्द्रले भने सकेसम्म कर्णालीमा सबै दल मिलेर जानुपर्ने धारणा राख्दै आइरहेको छ तर यसमा काँग्रेस भने असहमत छ । यसरी दलहरु नै अनिर्णित भएपछि मुख्यमन्त्रीलाई शुक्रबार कसले विश्वासको मत दिने हो भन्ने प्रष्ट भैसकेको छैन।

 

यसवारेमा बुझ्न खोज्दा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री टेकराज पछाईले एमालेका सांसदहरु जिल्ला बाहिर भएको हुँदा मुख्यमन्त्रीलाई विश्वासको मत दिने कि नदिने भन्नेबारे छलफल नभएको वताए । उनले सिद्धदर्शनसँग भने, ‘यहाँ सबै सांसदहरु हुनुहुन्न त्यसैले हामीले अहिलेसम्म केही निर्णय गरेका छैनौँ, सबै सांसदलाई बोलाएका छौँ, आज छलफल गछौँ ।’ यता, पूर्व मुख्यमन्त्री एवम् नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले सिद्धदर्शनसँग कुरा गर्दै भने, “सरकारको नेतृत्वमा कांग्रेसको दाबी कायम रहन्छ । चुनावताका प्रचण्ड, पूर्णबहादुर खड्का ज्यू बिच एक खालको सहमति भएर नै म फेरि प्रदेशमा आएको हो ।

 

माथि अहिले राजनीतिक कोर्ष अर्कै तरिकाले गइरहेको छ । माथि पनि छलफल गरिरहेकै छन् । म टिकट नपाएर यहाँ आएको पनि हैन । तिमीलाई मुख्यमन्त्री बनाउने हो, प्रदेशमै जाउ भनेर नै आएको हो । त्यसैले मैले दाबी गर्ने भन्दा पनि सबै कुरा प्रष्टै छ,“उनले भने, ‘यदि नेकपा एमाले र माओवादी मिलेर गएपनि आफुहरु प्रतिपक्षमै बस्न तयार छौँ । मेरो शुभकामना त उहाँहरु (एमाले–माओवादी)लाई बसेर चलाउनुस् भन्ने नै हो ।“

 

यस्तै, मुख्यमन्त्री शर्माले सत्तारुढ दलबीच कुनैपनि प्रकारको अफ्ठ्यारो नभएको बताएका छन् । उनले गठबन्धन दलहरुबीच छलफल भैरहेको र कुनैपनि समस्या नभएको दाबी गरेका छन् । उनले केन्द्रमा फेरिएको राजनीतिक समिकरणसँगै कर्णाली सरकारमा सहभागी एमाले माओवादीका कुनैपनि मन्त्रीलाई बर्खास्त गर्नुपर्ने स्थिति नभएको घुमाउरो पाराले उत्तर दिएका छन्।

प्रकाशित मिति : २०७९ चैत १७ गते शुक्रबार