२०८३ वैशाख ५ , शनिबार

कर्णालीबाट ३८ हजार बढी परीक्षार्थी एसईईमा सहभागी



सुर्खेत । देशैभर आजदेखि भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा कर्णालीबाट ३८ हजार नौ सय ७० परीक्षार्थी सहभागी भएका छन् ।प्रदेशको शिक्षा विकास निर्देशनालयका निर्देशक दीपा हमालका अनुसार यहाँका दश जिल्ला गरी १९ हजार तीन सय एक छात्र र १९ हजार तीन सय ७९ छात्राले परीक्षा दिइरहेका छन् ।

 

आज बिहान ८ बजेदेखि शुरु भएको एसइईमा यस प्रदेशमा एक सय ७९ परीक्षा केन्द्र सञ्चालनमा रहेको उनले बताए । दश जिल्लामध्ये ३२ परीक्षा केन्द्र रहेको सुर्खेतबाट नौ हजार एक सय ३९ परीक्षार्थी र चार परीक्षा केन्द्र रहेको डोल्पामा छ सय ९८ परीक्षार्थी एसइई परीक्षामा सहभागी भएका निर्देशक हमालको भनाइ थियो । चौबिस परीक्षा केन्द्र रहेको दैलेखमा पाँच हजार सात सय ३५ परीक्षार्थी सहभागी छन् ।

एक्काइस परीक्षा केन्द्र रहेको कालीकोटमा तीन हजार सात सय ६६, बीस परीक्षा केन्द्र रहेको जाजरकोटमा चार हजार छ सय ५६ र १७ परीक्षा केन्द्र रहेको जुम्लामा दुई हजार आठ सय ७७ परीक्षार्थी एसइईमा सहभागी भएको जनाइएको छ । त्यसैगरी २३ परीक्षा केन्द्र रहेको सल्यानबाट चार हजार नौ सय ८३ र तीन परीक्षा केन्द्र रहेको रुकुमपश्चिममा चार हजार दुई सय १६ परीक्षार्थी सहभागी छन् ।

 

छ परीक्षा केन्द्र रहेको हुम्लामा एक हजार दुई ३४ र सात परीक्षा केन्द्र रहेको मुगुमा एक हजार छ सय ६६ परीक्षार्थी सहभागी भएका छन् । कर्णालीमा कूल परीक्षार्थीमध्ये नियमिततर्फ ३७ हजार नौ सय र ग्रेड वृद्धितर्फ एक हजार ७० परीक्षार्थी रहेको निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : २०७९ चैत १७ गते शुक्रबार