
सुर्खेत । केन्द्रमा विश्वासको मत दिँदा “ढोक्सा” थापेको चर्चा भइरहँदा एमालेले पनि कर्णालीमा “ढोक्सा” थापेको छ । मुख्यमन्त्री राजकुमार शर्मालाई नेपाली कांग्रेसले विश्वासको मत दिने निर्णय गरिसक्दा पनि केन्द्रकै सत्ता समिकरणमा फर्किसक्दा पनि एमालेले लतारिएर कर्णाली सरकारलाई विश्वासको मत दिएको छ। एमालेले कांग्रेसकाे सिकाे गर्दै “ढोक्सा” थापेर बसेको अभिनय गरेपनि सफल हुने देखिदैन। सरकारमा सामेल राप्रपाले केही समयअघि नै प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिईसक्दा पनि एमाले भने अझै “ढोक्सा” थापेरै बस्ने निर्णय गरेको छ ।
भेरी र कर्णालीमा धेरै पानी बगिसक्दापनि एमालेले अझै पनि माओवादीको आस गरेको छ । माओवादीले तीनै दल मिलेर जाने देखाएको ललिपपमा एमाले भुलिएकाे छ। उसले तत्काल सरकारबाट नबाहिरिने निर्णय गरेको छ । ‘हामीले विश्वासको मत दिएका छौँ, माओवादीले मिलेरै जाने कुरा गरेको छ, व्यवहारमा पनि केही भिन्नता आएको छैन’ एमाले कर्णाली प्रदेशका एक नेताले भने, “हामी तत्काल बाहिरिनै पर्छ भन्ने छैन, माओवादीले नै निर्णय गर्छ अनि हामी त्यसपछि बुझ्छाै र बाहिरिन्छौ।’ एमालेले सरकारबाट बाहिरिन चाहेको छैन् एमालेले बाहिरिन नचाहे पनि केन्द्रमा भएको गठबन्धन यहाँ पनि सोही बमोजिम कायम हुने कांग्रेसका नेताहरुको दाबी छ ।
केन्द्रमा चुनावी गठबन्धन बिउँतिएसँगै कर्णालीमा एमालेलाई अप्ठ्यारो परिरहेको छ । बदलिँदो परिस्थितिमा केही प्रदेशमा माओवादी नेतृत्वको प्रदेश सरकारमा नेकपा एमालेले समर्थन फिर्ता लिईसक्दा पनि कर्णालीमा भने एमालेले सरकारमै रहेर र्याल चुहाईरहेको छ । माओवादीले सरकार छोड्न नभनेसम्म एमाले सरकारमै बसिरहने छ । कांग्रेसले प्रदेश सरकारको नेतृत्वका लागि दाबी गरिरहेकोले यसैमा एमालेले “ढोक्सा” थापेको एमाले कर्णाली प्रदेश कमिटी सदस्यले बताए। नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले चुनावताका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र कांग्रेस उपसभापति पुर्णबहादुर खड्काले मुख्यमन्त्री बनाउने बचन दिएको र सोही अनुसार आफू प्रदेशमा आएको बताउँदै आईरहेका छन् ।
कांग्रेस र एमालेलाई छक्क्याउदै मुख्यमन्त्री राजकुमार शर्माले दोस्रो पटक विश्वासको मत लिएका छन् । यसअघि प्रदेश सरकारमा सामेल राप्रपाले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएपछि उनले पुनः शुक्रवारका प्रदेशसभामा विश्वासको मत लिनु परेको हाे। मुख्यमन्त्री शर्माले नेकपा माओवादी केन्द्रसहित नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा एकिकृत समाजवादी पार्टी र स्वतन्त्र सांसदको गरी ३८ मत प्राप्त गरेका हुन् । उनको विपक्षमा भने एक मत परेको छ । राप्रपाले शर्मालाई विश्वासको मत दिएन । ४० सदस्यीय प्रदेशसभामा शुक्रबार ३९ सांसद मतदानमा सहभागी भएका थिए ।
नेकपा माओवादी केन्द्र संसदीय दलका नेता राजकुमार शर्मा गत पुष २७ गते कर्णाली प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए । उनले यसअघि माघ ६ गते पहिलो पटकको विश्वासको मत लिएका थिए । माओवादी, नेकपा एमाले, राप्रपा र समाजवादीका २५ सांसदको समर्थनमा शर्मा मुख्यमन्त्री नियुक्त भएका थिए । शर्मालाई माओवादी केन्द्रका १३, एमालेका १०, राप्रपा र एकीकृत समाजवादी १÷१ सांसदले समर्थन गरेका थिए । माओवादीको पोलिटब्युरो सदस्यसमेत रहेका शर्मा रुकुम पश्चिम (२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन ।
कर्णाली प्रदेशसभामा कांग्रेसका १४, माओवादी केन्द्रका १३ र एमालेका सभामुखसहित १० सांसद छन् । त्यस्तै राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्रका १÷१ सदस्य गरी ४० सदस्य छन् । मुख्यमन्त्री शर्मालाई यसअघि नेपाली कांग्रेसले विश्वासको मत दिएको थिएन । तर, यसपटक भने कांग्रेसले पनि विश्वासको मत दिएको छ।