
फाईल तस्बिर
सुर्खेत । प्रत्येक वर्षको साउन १ गतेदेखि बजेटको नयाँ काम सुरु हुन्छ । साउनबाट सुरु भएको बजेट असार मसान्तसम्म कार्यान्वयन गरिसक्नु पर्छ । जब आर्थिक बर्षको संघारमा पुग्छ, त्यतिबेला विकासका नाममा बजेटको भेल बग्न सुरु हुन्छ । कामहरुको भुक्तानी असार मसान्तमा हुने हुँदा जनप्रतिनिधिदेखि कर्मचारी समेतको सम्बन्ध गाढा हुन पुग्छ । प्रायजसोः असारमा विकासको नाममा बजेट खर्च मात्रै गर्ने देखिएको छ । आर्थिक वर्षको लामो समयसम्म काम नगर्ने र जबजब समय ढल्किदै जान्छ, तबतब बजेट खर्च गर्ने सरकारी प्रवृति यसपटक भने कर्णालीमा नहुँने अनुमान गरिएको छ ।
हरेक वर्ष असारे विकासका नाममा सरकारले बजेटको हदैसम्मको दुरुपयोग तथा निकै गुणस्तरहीन काम हुने गरेको व्यापक जनगुनासो पछि यसपटक भने कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्षमा समयमै विकास निर्माण योजनाहरू कार्यान्वयन गर्ने पहल गरेको छ । अहिले कर्णालीका सम्पूर्ण स्थानीय सरकारले बजेट कार्यान्वयनलाई तीव्रता दिन थालेका छन् । चालु आर्थिक वर्षको आठ महिना पूरा भइसकेकाले स्थानीय तह विकास निर्माणका योजना कार्यान्वयन गर्न केन्द्रित भएका हुन् । कर्णालीमा हालसम्म करिव ६५ प्रतिशत बजेट कार्यान्वयन भइसकेको सम्बद्धहरुको भनाई छ ।
दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाका प्रमुख गणेशकुमार शाहीले असारे विकास योजनाहरु कार्यान्वयन नहुने भएकाले असार अगावै योजना कार्यान्वयन गरिसक्ने गरी काम भइरहेको बताए । ‘अहिलेसम्म हामी विकासको काममा असार केन्द्रित भयौँ, बजेट सक्नाकै लागि गरिने त्यस्तो कार्य अब बन्द हुनुपर्छ । यसैलाई मध्यनजर गरेर असारअगावै सबै योजना कार्यान्वयन गरिसक्ने गरी काम गरिरहेका छौँ’, उनले भने । नगरपालिकाबाट विनियोजित दुई सय ८५ योजनामध्ये अहिले धेरैजसो कार्यान्वयनको अन्तिम चरणमा रहेको जानकारी नगरप्रमुख शाहीले दिए ।
उक्त नगरपालिकाले चालु आर्थिक वर्षमा रु. ११ करोड पुँजीगत बजेट विनियोजन गरेकामा वैशाख मसान्तसम्म पालिकास्तरबाट तोकिएका योजनाका योजनाका लागि विनियोजित रकम भुक्तानी दिइसक्ने कार्यपालिकाको निर्णय भएको हो । कालीकोटको पचालझरना गाउँपालिकाले पनि आर्थिक वर्ष २०७९÷०८० को हालसम्म ७५ प्रतिशत बजेट कार्यान्वयनको चरणमा रहेको जनाएको छ । गाउँपालिका अध्यक्ष देवराज शाहीले चालु आवका लागि नौ करोड विकासे बजेट रहेको र घोषित कार्यक्रम कार्यान्वयन गरी भनाइ र गराइबीचको खाडल पुर्ने काम भएको बताए ।
‘भाषण मात्रै होइन व्यावहारिकरुपमा काम हुनुपर्छ । त्यही नीतिलाई अनुसरण गरेर हामीले विकास निर्माणका काम गरिरहेका छौँ’, उनले भने । सल्यानको बागचौर नगरपालिकाले पनि ५० प्रतिशत बजेट कार्यान्वयन भइसकेको जनाएको छ । ‘अन्य योजना पनि कार्यान्वयनको चरणमा रहेको छ’, नगरप्रमुख जनकराज गौतमले भने, ‘विगतका वर्षमा बजेट कार्यान्वयन समयमै नहुने, असार केन्द्रित विकास हुँदा विकासका कामसमेत गुणस्तरीय नहुने अवस्था थियो ।
त्यसलाई अन्त्य गर्नुपर्छ भनेर हामीले अहिलेदेखि योजना कार्यान्वयन छिट्टै गर्नेगरी काम गरेका छौँ । असार महिना त बजेट कार्यान्वयनको महिना होइन, योजना तयार गर्न छलफल गर्ने महिना हो नी ।’ यता शिवालय गाउँपालिका अध्यक्ष शेर बहादुर शाहीले पनि असारे विकास योजनाहरु कार्यान्वयन नहुने भएकाले असारअगावै योजना कार्यान्वयन गरिसक्ने गरी काम भइरहेको बताए ।