२०८३ वैशाख ५ , शनिबार

पञ्चपुरीका तत्कालीन प्रमुख सहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा



सुर्खेत । पञ्चपुरी नगरपालिकाका तत्कालीन प्रमुख उपेन्द्रबहादुर थापासहित सात जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

 

पञ्चपुरी नगरपालिकाका तत्कालीन नगर प्रमुख थापासहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पित्रीभक्त गिरी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद देवकोटा, लेखा अधिकृत मोहनबहादुर बुढा, लेखापाल लक्ष्मीप्रसाद अधिकारी र नमुना समाज सुर्खेतका कार्यकारी निर्देशक लालकहादुर जिएम भन्ने लालबहादुर घर्ती मगर, अध्यक्ष  भूमिसरा पुलामीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार) विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

 

पञ्चपुरी नगरपालिकाले उद्यमशीलता साझेदारी परियोजनाअन्तर्गत नमुना गाउँ निर्माण कार्यक्रम सञ्चालनको लागि नमुना समाज सुर्खेतसँग सम्झौता गरी रकम भुक्तानी गर्दा २ करोड २० लाख रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको ठहर छ । अख्तियारले पञ्चपुरी नगरपालिकाका तत्कालीन नगर प्रमुख थापाविरुद्ध ५० लाख विगो कायम गरी मुद्दा दायर गरेको छ ।

 

यसैगरी तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गिरी विरुद्ध ३० लाख, अर्का प्रशासकीय अधिकृत देवकोटाविरुद्ध २० लाख र लेखा अधिकृत बुढाविरुद्ध ५० लाख रुपैयाँ विगो कायम गरी मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जनाएका छन् । यसैगरी लेखापाल अधिकारीविरुद्ध २० लाख र नमूना समाज सुर्खेतका कार्यकारी निर्देशक जीएम, नमूना समाज सुर्खेतका अध्यक्ष पुलामी र नमूना समाज सुर्खेतको हकमा ५० लाख रुपैयाँ विगो कायम गरी मुद्दा दायर गरेको छ ।

प्रकाशित मिति : २०७९ चैत २१ गते मंगलबार