हुम्ला । हुम्लाको हिल्सा नाका सोमबारबाट संचालनमा आएको छ । कोभिड १९ का तीन वर्षदेखि बन्द रहेको नाका सोमबारबाट सञ्चालनमा आएको हो । नाका खुलेपछि स्थानीयवासीहरु आर्थिक अवस्थामा सुधार आउने भन्दै खुशी भएका छन् । उनीहरु रोजगारीको लागि चीनतर्फ जाने तयारी पनि गर्न थालेका छन् ।
नेपाल र चीन दुुबै देशको सहमतिअनुसार नाका खोलिएको प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जानकारी दिए । नाका खुल्ने सहमति भएपछि बैशाख १५ गतेबाट नै स्थानीयवासीलाई सिमा पार गर्ने पास दिन थालिएको पनि उनले जानकारी दिए ।
कोरोना संक्रमण फैलिएसँगै चीनसँग सीमा जोडिएका नेपालका सबै नाका बन्द भएका थिए । कोभिड संक्रमणको प्रभाव केही कम हुन थालेपछि दुबै देशको सहमतिमा नाका खोलिएको बताइएको छ । नाका खुलेपछि आर्थिक चहलपहल हुने हुँदा स्थानीयवासीको आर्थिक अवस्थामा सुधार आउने विश्वास स्थानीय दिनेश सिंहको छ ।
नेपालीको लागि संचालनमा आएपनि हाललाई विदेशी पर्यटकको लागि नाका खोलिएको छैन । पर्यटकको लागि नाका संचालनमा नआउदाँ सोचे अनुरुपको आर्थिक गतिविधि भने नहुने हुम्लाका पर्यटन पर्यटन व्यवसायी विजय लामा बताउछन् ।
उनका अनुसार सिमानामा दुईतर्फी व्यापार र मानिसको आवतजावत भएपनि पर्यटक नहुँदा होटल व्यवसायलाई भने खर्च धान्न मुस्किल हुुनेछ । नाकामा पर्ने नारा लेखमा हिउँ जमिरहेको हुदाँ चीनतर्फ जाने नेपालीले सचेत भएर हिड्न जिल्ला प्रहरी कार्यालय हुम्लामा प्रहरी नायव उपरीक्षक भिमलाल भटृराईले बताए ।