कुलेन्द्र शाही, सुर्खेत । सुर्खेतको चौकुने गाउँपालिकाका वडा अध्यक्ष र वडा सचिवलाई किर्ते हस्ताक्षर गरी खेलकुद सामाग्री वितरण गरेको आरोप लागेको छ । चौकुने गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष गोविन्द थापा र सचिव सीता पाण्डेले किर्ते हस्ताक्षर गरी दुई वटा क्लबलाई खेलकुद सामाग्री वितरण गरेको स्थानीय एक व्यक्तिले बताएका छन्।
गत २ मंसिर २०७९ मा वडा अध्यक्ष थापाको अध्यक्षतामा वडा समितिको बैठक बसेर स्थानीय दोभान असल शासन युवा क्लब र चौकुने एकता समाजलाई १ लाख बराबरको खेलकुद सामग्री हस्तान्तरण गर्ने निर्णय भएको थियो । निर्णयअनुसार वडाले विभिन्न खेलकुद सामाग्री वितरणसमेत गरिसकेको छ।
वडा समितिले फुटबल पोष्टजाली १ सेट, फुटबल कर्नर झन्डा १ सेट, फुटबल ३ थान, गोल पोस्ट पोल १ सेट, फुटबल जुत्ता १ जोर, मोजा ७ जोर, गेम ड्रेस ७ जोर रहेका छन् । उक्त सामानको मूल्य ४८ हजार ८ सय ५० रहेको छ । स्थानीय दोभान असल शासन युवा क्लबका अध्यक्ष पूर्णबहादुर शाहीले सामग्री हस्तान्तरणको फारममा आफूले हस्ताक्षर नगरेको तर उक्त फारममा आफ्नो नाम भएको हुँदा वडाले किर्ते हस्ताक्षर गरेको बताए ।
उनले भने,‘ वडाले सामाग्री हस्तान्तरण गर्ने बेलामा म काठमाडौँ थिए, तर वडाले सामाग्री हस्तान्तरण फारममा मेरा नाम र सही राखेको रहेछ र कसरी राख्यो मलाई थाहा भएन मैले सही पनि गरेन् ।’ यसबारेमा बुझ्न खोज्दा अध्यक्ष थापाले कुनै पनि किर्ते हस्ताक्षर नगरेको दाबी गरे । उनले वडाले यस काममा कुनै पनि गलत नगरेको बताउँदै वडा माथि लागेका आरोपहरू सबै झुटो भएको बताए ।
उनले आफ्नो र क्लबका अध्यक्षलगायत अन्य व्यक्तिहरूको पार्टी फरक भएकाले आफू माथि विभिन्न झुटो आरोप लगाएको जिकिर गरे । उनले आफूहरूले कुनै पनि सामानमा अनियमितताका साथै किर्ते हस्ताक्षर नगरेको दाबी गरे । ‘सामान खरिद गरिएको नै हो, फोनको माध्यमबाट हामीले क्लबलाई सामग्री पनि दिएको हो,’उनले भने ।
खबरदृष्टिलाई प्राप्त सूचनामा हस्तान्तरण फारममा वडाध्यक्ष र सचिवको हस्ताक्षर भए पनि वडा कार्यालयको छाप भने छैन । वडाध्यक्ष थापाले खरिद गरिएको सामग्री कहाँ छ र क–कसलाई दिइएको हो भन्ने बारेमा समेत स्पष्ट जवाफ दिएनन् । साथै हालसम्म कति रकम भुक्तानी भयो भन्ने बारेमा पनि उनले स्पष्ट जवाफ दिन सकेनन्।
प्राप्त सूचनाअनुसार दोभान असल शासन युवा क्लब अहिलेसम्म दर्ता भएको छैन । क्लबका अध्यक्ष शाहीले पनि क्लब दर्ता नभएको स्वीकार गरेका छन् । अध्यक्ष थापाले स्थानीय दोभान असल शासन युवा क्लब दर्ता नभएको भए पनि आफूले स्थानीय क्लबलाई दिँदा खेलकुद क्षेत्रमा केही सहयोग पुग्ने उद्देश्य राखी सामाग्री हस्तान्तरण गरेको जानकारी दिए ।
उनले आफू सामाग्री हस्तान्तरणको दिनमा बाहिर भएको दोभान असल शासन युवा क्लबबाट स्थानीय पसलमा गएर जबरजस्ती सामाग्री मागेको हुँदा आफूले फोन सम्पर्क गरी पसलेलाई सामाग्री दिन लगाएको बताए । ‘मैले आफ्नै ठाउँका दाजुभाइहरूले खेल खेल्छन् भनी मायाका साथै ठुलो विश्वास गरेर फोनको भरमा सामान दिन लगाए, उनले भने, ‘अहिले म माथि नै उल्टो उहाँहरूले आरोप लगाउनुभएको छ । यसमा मेरो गल्ती के छ र ।’


