२०८३ जेठ २० , बुधबार

बेपत्ता पारियो भनिएकी सुर्खेतकी १५ वर्षीय बालिका सकुशल फेला



सुर्खेत । आवाज संस्थाले बेपत्ता पारिएकी भनिएकी सुर्खेतकी एक जना बालिका सकुशल फेला परेकी छन् । २९ जेठमा दलितका लागि दलित आन्दोलन नेपालले एक विज्ञप्ति जारी गर्दै आवाज संस्थाले सुर्खेतकी वर्ष १५ की (नाम परिवर्तन) गरेकी बालिका बेपत्ता पारेको आरोप लगाएको थियो ।

जारी विज्ञप्तिमा आन्दोलन नेपालले बालिकाको कि सास कि लास चाहियो भन्दै बालिकाको फोटोसहित सार्वजनिक गरेको थियो । उक्त विज्ञप्तिलाई निराधार भएको भन्दै संस्थाले प्रहरीको सहयोगमा बालिकाको खोजी गरेको थियो ।

(नाम परिवर्तन) गरेकी बालिका विवाह गरेर वीरेन्द्रनगर (ठेगाना परिवर्तन) बसेको अवस्थामा उनलाई फेला पारेर बिहीबार जिल्ला प्रहरी कार्यालयमा मानव अधिकार, बाल सञ्जाल, आवाज संस्था लगायतको उपस्थितिमा प्रहरीले बालिकालाई आमाको जिम्मा लगाएको हो ।

दलितका लागि दलित आन्दोलन नेपालले आफ्नो फोटोसहित सामाजिक सञ्जालहरूमा प्रयोग भएकोमा बालिका चिन्तित भएको बताएकी छन् । यसअघि पनि उनी दुई पटक हराएकी थिइन् । आमाले दुई पटक प्रहरीमा उजुरी दिएपछि आफुहरुले खोजेर उनलाई आमाको जिम्मामा पठाएको जिल्ला प्रहरी कार्यालय सुर्खेका डिएसपी एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मणबहादुर शाहीले बताए ।

उनी हराएको भनिएको बेला केटाकै घरमा बसेको बालिकाले जवाफ दिएकी छन् । दलितका लागि दलित आन्दोलन नेपालले जारी गरेको विज्ञप्तिमा १५ फागुन २०७९ मा बालिकालाई आवाज संस्थाले बेपत्ता पारेको आरोप लगाएको थियो । संस्थाले गरेको कामलाई कुप्रचार गर्न र अनावश्यक बदनाम गराउने उद्देश्यले गलत प्रचार गरेको संस्थाले बुझेको छ ।

प्रकाशित मिति : २०८० जेठ ३२ गते बिहीबार