२०८३ वैशाख ८ , मंगलबार

अब २० रुपैयाँमै वीरेन्द्रनगर बजार पुग्न सकिने !



सुर्खेत । सुर्खेत उपत्यका भित्र वीरेन्द्रनगर नगरपालिकाले वर्षाैेदखि सञ्चालनमा ल्याउँन नसकेको नगर बस निजी क्षेत्रले सञ्चालनमा ल्याएको छ । अटो रिक्साले मनलाग्दी भाडा अशुल्ने गरेको जनगुनासो बढेपछि संयुक्त यातायात प्रा.लि ले शुक्रवारबाट नगर बस संचालनमा ल्याइएको हो ।

वीरेन्द्रनगरबासीलाई सहुलियत र सहज रुपमा यातायात सेवा प्रदान गर्न संयुक्त यातायात प्रा.लि ले फोर्स गाडिलाई नै नगर बसका रुपमा सञ्चालन गरेको सुर्खेत काँक्रेविहार यातायात प्रा.लि.का अध्यक्ष रमेश सापकोटाले जानकारी दिए । उनले पहिलो चरणमा १० ओटा फोर्स गाडीबाट सेवा आरम्भ गर्न लागिएको बताए ।

मुख्यगरी फोरलेन सडकको धुलियाविटबाट मंगलगढी–यरिचोकहुँदै मुलपानी चोकदेखि प्रदेश अस्पताल भएर बाँगेशीमलसम्म पुग्नेगरी माइक्रो गाडी सञ्चालन गरिएको छ । सोही रुट भएर ति गाडीहरु पुनः धुलियाविट पुग्नेछन् । १० वटा माइक्रो गाडी १०–१० मिनेटको फरकमा छुट्नेछन् । यात्रुहरुलाई सहज सेवा दिन र सहुसलयत भाडादर २० रुपैयाँ कायम गरिएको छ ।

धुलियाविटदेखि बाँगेसिमल पुग्दा पनि भाडा २० रुपैयाँ नै कायम गरिएको छ । बाँकी एक चोकबाट अर्को चोकसम्म पुग्न भाडादर २० रुपैयाँ नै कायम गरिएको सापकोटाले जानकारी दिए । उनकाअनुसार विस्तारै नगर माइक्रो सेवा मंगलगढी–गणेशचोक, घण्टाघर – कपासे हुँदै कालिञ्चौक भएर नेवारे– पिपिरासम्म रुट थप गरिनेछ ।

साथै, गणेश चोक–कारागार–टेलिकमहुँदै कपासे रुट समेत थप गरिने सापकोटाले बताए । केही दिन फारेलेन सडकमा गाडीहरु सञ्चालनपछि विस्तारै यातायात सेवा विस्तार गरिने सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति : २०८० असार १ गते शुक्रबार