जाजरकोट । जाजरकोटको छेडागाड नगरपालिका ५ थलह बजारमा रहेको एनआईसी एसिया लघुवित्त वित्तिय संस्था लिमिटेडका कर्मचारीले नक्कली ऋणी खडा गरेर करोडौँ रकम हिनामिना गरेको पाइएको छ । थलह शाखाका कर्मचारीहरुले ४ करोड ५३ लाख भन्दा बढी रकम हिनामिना गरेको पाइएको हो ।
कर्मचारीले स्थानीयको नाममा नक्कली ऋणी खडा गरी संस्थाको रकम हिनामिना गरेको पीडितले बताएका छन् । ठूलो रकम हिनामिना भएको कुरा पत्ता लागेपछि एनआईसी एसिया लघुवित्त वित्तिय संस्था लिमिटेड केन्द्रीय कार्यालय बनेपा ७ काभ्रेपलाञ्चोक र शाखा कार्यालय जाजरकोटले २६ वैसाख २०८० मा तत्कालिन शाखा प्रमुख केसी सहित ८ जना विरुद्ध जिल्ला प्रहरी कार्यालय जाजरकोटमा मुद्धा दर्ता गराएको छ ।
मुद्धा परेका आठै जना कर्मचारी फरार रहेको प्रहरीले जनाएको छ । करिब २ सय ८५ जना नागरिकको नाममा थलह शाखाका तत्कालीन शाखा प्रमुख सुशील केसीसहित ८ जना कर्मचारीले रकम हिनामिना गरेको आरोप पिडितहरुले लगाएका छन् । लघुवित्त संस्थाको केन्द्रीय कार्यालयले अडिट गर्दा उक्त रहस्य खुलेको हो ।
स्थानीय खातावालाको कागजपत्र लिएर नक्कली ऋणी खडा गरी रकम हिनामिना गरेको बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । मुद्दा परेकाहरूको कर्मचारीको नाम भने प्रहरीले अहिले नै सार्वजनिक गर्न नमिल्ने बताएको छ । अनुसन्धानकै क्रममा भएकाले अहिले नाम सार्वजनिक गर्न नमिल्ने जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी एवम् प्रहरी नायव उपरीक्षक सन्तोष रोकाले बताए ।
‘रकम हिनामिना मात्र नभई अन्य धेरै कुराहरु खुल्नमा आएको हुँदा उनीहरुको नाम अहिले नै भन्न मिल्दैन । ’ डिएसपी रोकाले भने । संस्थाको करिब साढे चार करोड भन्दा बढी रकम हिनामिना भएपछि ८ जना कर्मचारीविरुद्ध ठगि मुद्दा दर्ता भएको हो ।