
मुगु । हिमाली जिल्ला मुगुमा गत वर्ष असोज १९ देखि २४ गतेसम्म परेको अविरल वर्षाले जनधनको ठुलो क्षति गरेपछि मुगुवासी अझै पनि त्रसित बन्ने गरेका छन् । अविरल वर्षा पछिको बाढीले घरबार, अन्नबाली लगायत मानवीय क्षति भएपछि पीडित मुगुवासी बर्खा लागेपछि आकाशमा कालो बादल बटारिएको देखेपछि त्रसित बन्ने गरेका छन् ।
पीडितका लागि सरकारले अहिलेसम्म पुनर्वासको व्यवस्था नगर्दा अहिले कोही खुल्ला चौरमा छन् भने कोही आफन्तका घरमा आश्रय लिएका छन् । कोही भने त्यही बाढीले चर्काएको घरमै बस्दै आएका छन् । गत वर्ष असोजमा आएको बाढी पहिरोले मुगु जिल्लामा ठुलो धनजनको क्षति गराएको थियो ।
बाढीले मालसामान, अन्नबाली खेतमा पाकेर घर भित्राउन लागेको अन्न लगायत ८ जना स्थानीयको समेत ज्यान लिएको थियो, जसमा ५ जना घाइते भएका थिए । बाढी पहिरोले पूर्ण रूपमा २ सय ३६ जनाको घरमा क्षति पुर्याएको थियो भने १ सय ८८ घरमा आंशिक क्षति र ३ सय ९९ घरमा सामान्य क्षति पुर्याएको थियो । बाढी पहिरोले २७ वटा गोठमा क्षति पुर्याएको थियो ।
छाँयानाथ रारा नगर पालिका वडा नम्बर ६ का बाढी पीडित धनबहादुर बुढाले भने, ‘हिजो आज आकाशमा बादल लागे राति निन्द्रा लाग्दैन, कालो बादल देख्दा मन जिरिङ्ग हुन्छ, बाढी पहिरो आएको समयमा स्थानीय तह विभिन्न सङ्घ संस्थाले केही राहत दिए पनि पछिल्लो समयमा घर निर्माण पूर्नवासको लागि लागत लिए पनि कुनै निकायबाट घर निर्माणको लागि पहल नहुँदा निकै समस्या भएको छ ।
हिजो आज पाल मुनी बस्दै आएका छौँ, ठुलो परिवार छौँ रात दिन काट्न निकै समस्या भएको छ ।’ बाढी पीडितहरूलाई स्थानीय तह र सङ्घ संस्थाले केही राहत वितरण गरेका थिए। बस्ती पुनर्निर्माण लागि भने हालसम्म देखिने गरी कुनै कार्य भएको छैन । यसमा स्थानीय तहको कार्यशैली दोषी रहेको पीडितको गुनासो छ ।