सुर्खेत । स्थानीय सरकारले १० असार भित्र आगामी आर्थिक वर्षको बजेट ल्याउनु पर्ने कानुनी व्यवस्था अनुसार सुर्खेतका ९ वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेट पेश गरेका छन् । सुर्खेतका ९ वटै स्थानीय तहले आइतबार आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा वार्षिक बजेट पेश गरेका हुन् ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ अनुसार उपाध्यक्ष, उपप्रमुख वा कार्यपालिकाले तोकेको कार्यपालिकाको कुनै सदस्यले आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान कार्यपालिकाबाट स्वीकृत गराई असार १० गतेभित्र सभामा पेस गर्नुपर्ने व्यवस्था छ । जसअनुसार आइतबार सुर्खेतका ९ वटै स्थानीय तहले प्रस्तुत गरेको बजेटमा खानेपानी, कृषि, स्वास्थ्य, शिक्षा, रोजगारी र पूर्वाधार विकासले प्राथमिकता पाएका छन् ।
प्रदेशको ठुलो नगरपालिका वीरेन्द्रनगर नगरपालिकाले खानेपानी, भूमिहीन सुकुम्वासीका समस्या समाधान, व्यवस्थित नगर, स्वास्थ्य, र शिक्षालाई प्राथमिकतामा राखेर बजेट पूर्वाधार विकास लक्षित बजेट सार्वजनिक गरेको छ । आर्थिक सम्पन्नता, भौतिक रूपले योजनाबद्ध सहरी सुविधायुक्त, लैङ्गिक रूपमा महिलामैत्री, सामाजिक रूपले समावेशी/सहभागितात्मक, वातावरणीय रूपले स्वच्छ, सफा तथा व्यवस्थापकीय रूपले सुव्यवस्थित शैक्षिक, प्रशासनिक र पर्यटकीय सहरको रूपमा निर्माण गर्ने योजना बजेटका प्राथमिकतामा छन् ।
नगरपालिकाले खानेपानी र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै पुँजीगत तर्फ १ अर्ब २५ करोड ८९ लाख ९२ हजार ९ सय ६७ रुपैयाँ, चालु तर्फ १ अर्ब ७३ करोड ४६ लाख ९९ हजार र वित्तीय तर्फ ३ करोड २५ लाख गरी कुल ३ अर्ब २ करोड ६१ लाख ८९ हजार ९ सय ६७ रुपैयाँ पेश गरेको हो । यो चालु आर्थिक वर्षको भन्दा झन्डै एक करोडले बढी हो । यस्तै लेकवेशी नगरपालिकाले ६६ करोड ८१ लाख ७३ हजार ७ सय ६५ विनियोजन गरेको छ । जसमा पुँजीगततर्फ १८ करोड २५ लाख ८ हजार ५६१ र चालुतर्फ ४४ करोड ६३ लाख ६९ हजार बराबरको बजेट विनियोजन गरेको छ ।
चालु आर्थिक वर्ष ७४ करोड ८७ लाख ९ हजार ५७ रुपैयाँको बजेट ल्याएको लेकवेशीले आगामी वर्षका लागि ८ करोड ५३ लाख ५ हजार २ सय ९२ रुपैयाँले कम बजेट ल्याएको हो । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाले झन्डै ६६ करोड बराबरको बजेट प्रस्तुत गरेको छ । पञ्चपुरी नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि ६६ करोड ९८ लाख ३४ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । चालुतर्फ ३७ करोड ३३ लाख ३३ हजार र पुँजीगततर्फ २९ करोड ६५ लाखको बजेट विनियोजन गरिएको छ ।
यस्तै, भेरीगंगा नगरपालिकाले आगामी वर्षका लागि ६८ करोड ९९ लाख ८१ हजार १ सय ३९ रुपैयाँ बराबरको ल्याएको छ । पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकाले विकास बजेट चालु बजेटभन्दा झन्डै तीन गुणा कम बराबरको बजेट सार्वजनिक गरेको छ । गुर्भाकोट नगरपालिका ९७ करोड ९१ लाख ५० हजार सात सय ५६ रुपैयाँ बराबरको बजेट आएको छ ।
जसमा चालुतर्फ ७४ करोड ३६ लाख ४३ हजार छ भने पुँजीगततर्फ २३ करोड ५५ लाख सात हजार रहेको छ । यो चालू आर्थिक वर्षको बजेट भन्दा झन्डै तीस करोडले बढी हो । चालु आर्थिक वर्षमा गुर्भाकोटले ६४ करोड ३७ लाख ५५ हजार बराबरको बजेट सार्वजनिक गरेको थियो ।यस्तै, चिङ्गाड गाउँपालिकाले कृषि, पशु, स्वास्थ्य तथा पूर्वाधार विकास लक्षित बजेट प्रस्तुत गरेको छ ।
गाउँपालिकाले चालुतर्फ २८ करोड ७७ लाख १० हजार र पुँजीगततर्फ १० करोड ३९ लाख ७८ हजार ४० गरी कुल ४९ करोड ३८ लाख ९६ हजार ८ सय ९६ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । यस्तै, सुर्खेतको बराहताल गाउँपालिकाले ५९ करोड ५८ लाख ८७ हजार बराबरको बजेट ल्याएको छ ।
गाउँपालिकाले पेस गरेको बजेटमा चालुतर्फ ३४ करोड ५६ लाख १४ हजार र पुँजीगततर्फ २५ करोड दुई लाख ७३ हजार बजेट विनियोजन भएको छ । यस्तै, सिम्ता गाउँपालिकाले नयाँ आर्थिक वर्षका लागि कुल बजेट ५८ करोड १७ लाख ७० हजार ३ सय ५० रुपैयाँ विनियोजन गरेको छ । विनियोजित बजेटको चालु तर्फ रु ३९ करोड ८९ लाख ४ हजार ३५० र पुँजीगततर्फ रु १८ करोड १७ लाख ६६ हजार छुट्टाइएको छ ।
पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाले आगामी आर्थिक २०८०/०८१ का लागि ६६ करोड २९ लाख ७६ हजार बराबरको बजेट ल्याएको छ ।गाउँपालिकाले चालुतर्फ ३६ करोड ५७ लाख ८१ हजार र पुँजीगततर्फ २९ करोड ७१ लाख ९५ हजार गरी जम्मा ६६ करोड २९ लाख ७६ हजार ल्याएको हाे ।
सुर्खेतका ९ वटै स्थानीय तहले आगामी आर्थिक वर्ष ०८०/०८१ का लागि झन्डै ८ अर्ब भन्दा बढीको बजेट ल्याएका छन् । ९ वटै स्थानीय तहले कुल ८ अर्ब २७ करोड ८५ लाख ५५ हजार ८ सय ७४ रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएका हुन् ।