२०८३ वैशाख ८ , मंगलबार

लागुऔषध काराेबारकाे हव बन्दै कर्णाली, कति छन् त सेवनकर्ता ?



सुर्खेत । कर्णाली प्रदेशमा प्रत्येक वर्ष लागु औषध सेवनकर्ता बढ्दै गएको पाइएको छ । सोमवार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले वीरेन्द्रनगरमा आयोजना गरेको लागु औषध विरुद्धको एक कार्यक्रमलाई सम्बोधन गर्दै कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख डिआइजी भीम प्रसाद ढकालले कर्णालीमा प्रत्येक वर्ष लागु औषधका सेवनकर्ताहरू बढ्दै गएको बताएका हुन् ।

उनले कर्णालीमा लागु औषधसहित पक्राउ पर्नेमा अधिकांश पुरुष रहेको बताए । जसअन्तर्गत आर्थिक वर्ष २०७७/०७८ मा १०६ जना पुरुष र १७ जना महिला गरी कुल १२३, गत आथिर्क वर्ष २०७८/०७९ मा १६४ जना पुरुष र ८ जना महिला गरी १७२ जना र यस चालु आर्थिक वर्षमा १५० जना पुरुष र १३ जना महिला गरी १६३ जना पक्राउ परेका छन् ।

उनका अनुसार हाल नेपालमा १ लाख ३० हजार ४ सय २४ जना लागु औषध सेवनकर्ता रहेकोमा कर्णालीमा मात्रै १ हजार ७ सय ६८ पुरुष र ४३  महिला गरी १ हजार ८ सय ११ जना छन् ।  उनले अरू प्रदेश भन्दा कर्णालीमा लागु औषध सेवन गर्नेको सङ्ख्या भने कम रहेको बताए । नेपालमा वार्षिक ५ दशमलव ०६ प्रतिशतले लागु औषध सेवन वृद्धि हुने गरेको छ ।

नागरीकले पनि सबै जिम्मा प्रहरीको सोच्ने भएकाले पनि लागु औषधको कारोबार झन् बढ्दै गएको उनको भनाई छ । उनले यो नियन्त्रणका लागि प्रहरी एक्लैले चाहेर मात्रै नहुने बताउँदै शङ्का लागेको खण्डमा प्रहरीलाई खबर गर्ने खालको समुदाय बनाउन जनचेतनामूलक कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने देखिएको बताए ।

प्रमुख ढकालले पछिल्लो समय हिमाली जिल्लामा समेत लागु औषधको कारोबार भइरहेको बताए । आफूहरूले सचेतनामूलक कार्यक्रम व्यापक रूपमा गरेको बताउँदै उनले प्रहरी कार्यालयमा पनि सचेतामुलक कार्यक्रम सम्बन्धी प्रतिस्पर्धा हुने गरेको बताए । ‘हामीले कसले कति कार्यक्रम गर्छ त त्यसको मापदण्ड तोकेका छौ ।’ उनले भने, ‘जसले धेरै कार्यक्रम गर्छ उसलाई हामीले पुरस्कृत गर्ने र कार्यक्रम नगर्नेलाई कारबाही गर्ने गरेकाले पनि सबै साथीहरू घाम पानी नभनी निरन्तर लागिरहनुभएको छ ।’

उनले पछिल्लो समय विकाससँगै लागु औषधको कारोबार पनि बढ्दै गएको बताए । उनले यातायात पुग्ने ठाउँमा लागु औषध कारोबार बढी  हुने भएकाले यातायात र लागु औषधको सम्बन्ध नङ र मासुको जस्तै भएको बताए । साथै उनले यसलाई नियन्त्रण गर्नका लागि घरपरिवार तथा विद्यालयका शिक्षकहरूले विशेष जोड दिनुपर्ने बताए ।

जनप्रतिनिधि तथा स्थानीयहरु जो कोहीले पनि जुनसुकै कार्यक्रममा भए पनि १० मिनेट जति लागु औषध सम्बन्धीका कुराहरू गर्न सकेमा पनि लागु औषध केही मात्रामा नियन्त्रण हुन सक्ने उनको भनाई छ । यस्तै, आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जिसीले लागु औषध नियन्त्रणका लागि आवश्यक कानुन, कार्यविधि तथा योजनाहरू बनाएर कार्यान्वयन गर्न सकेमा लागु औषध नियन्त्रण हुने सक्ने विश्वास आफूले लिएको बताए ।

उनले लागु औषध नियन्त्रणका लागि आवश्यक कानुनहरू बनाउन ढिला गर्न नहुने समेत बताए । उनले विद्यालयका शिक्षकहरूले लागु औषध सेवनमा लागेका विद्यार्थीहरूको डेटा सङ्कलन गरी आफूहरूलाई दिएमा मन्त्रालयबाट उक्त विद्यार्थीहरूका लागि केही कानुन निर्माण गर्नमा सहज हुने बताए । उनले विद्यालय र घरपरिवारले आजैदेखि लागु औषध नियन्त्रणका लागि सक्दो सहयोग गरेमा लागु औषध नियन्त्रण केही हदसम्म नियन्त्रण हुने बताए ।

धेरै नागरीकरले लागु औषध नियन्त्रण गर्ने जिम्मा प्रहरीको सोच्ने भएकाले पनि लागु औषध झनै भयावह हुँदै गएको मन्त्री जिसीको भनाई छ । उनले लागु औषध नियन्त्रण गर्न सबै आआफ्नो ठाउँबाट अग्रसर हुनुपर्ने बताए । उक्त कार्यक्रममा सहभागी भएका सहभागीहरूले लागु औषध सरुवा रोग जस्तै भएको बताएका थिए ।

प्रकाशित मिति : २०८० असार ११ गते सोमबार