
कुलेन्द्र शाही, सुर्खेत । निर्माण व्यवसायीले काम गरेको भए वीरेन्द्रनगर १० सुर्खेतको दैलेख रोड चोकदेखि कालिञ्चोक जोड्ने बाटो सम्पन्न भैसकेको हुन्थ्यो। दैलेख रोड देखि वडा नम्बर ८ कालिन्चोक जोड्ने सडकको म्याद सकिनँ लाग्दासमेत अन्य काम गरे पनि कालोपत्रे भने हुन सकेको छैन।
यो सडक कालोपत्रे गर्नको लागि २०७८ साल कार्तिक ११ गते सम्झौता भएको थियो । ठेक्का सम्झौताअनुसार १० असार २०७९ सम्ममा सो सडक विस्तारको काम सकाउनुपर्ने थियाे । तर, समयमै काम सम्पन्न नभएपछि पुनः म्याद थप गरिएको थियो । थपिएको म्यादसमेत २०८० असार मसान्तसम्म सक्नुपर्ने सम्झौतामा उल्लेख छ । म्याद सकिन आधा महिना पनि बाँकी नरहँदा काम सम्पन्न हुने छाँटकाँट छैन ।
भौतिक पूर्वाधार अन्तरगत सडक डिभिजन कार्यालय सुर्खेतको ४ करोड १० लाख ९७ हजार ३ सय ७१ रुपैयाँ लागतमा नान्जिला आकाङ्क्षा एन्ड मजदुर जेबी सुर्खेतले जिम्मा लिएको थियो । तर, जिम्मा लिएको काम निर्माण व्यवसायीको अटेरीले ढिलाइ भइरहेको सडक डिभिजन कार्यालय सुर्खेतले जनाएको छ । पटक पटक म्याद थप गर्दा पनि निर्माण व्यवसायीको अटेरीले उक्त सडक जस्ताको त्यस्तै छ ।
एकवर्ष अघि नै कालोपत्रे सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेकोमा दुई पटक म्याद थप गर्दा समेत उक्त सडकको कालोपत्रे सम्पन्न हुन सकेको छैन । समयमै कालोपत्रे नहुँदा यहाँका स्थानीय तथा पैदल यात्रुलाई निकै सास्ती भएको छ । ठेकेदार कम्पनीको लापरबाहीका कारण सडक कालोपत्रे समयमै नसकिएको सडक डिभिजन कार्यालय सुर्खेतका इन्जिनियर रामकृष्ण थारुले बताए ।
‘दैलेख रोडदेखि कालिञ्चोक जोड्ने सडक बारम्बार म्याद थप हुँदा समेत कालोपत्रे हुन सकेन।,’ उनले भने, ‘दुई वर्ष भन्दा बढी भइसक्दासमेत सडक कालोपत्रे भएन, सडक कालोपत्रे भएमा स्थानीय तथा यात्रुहरूलाई सहज हुने थियो ।’ ‘यो ठेक्का २०७८ मा लगाइएको थियो, त्यो म्याद सकिएपछि पुनः म्याद थपियो, म्याद थप गरिएको भए पनि काम सम्पन्न हुनमा भने आशङ्का नै देखिन्छ ।
तर, पनि त्यो म्यादभित्र सडक कालोपत्रे सक्न हामीले निर्माण व्यवसायीलाई निर्देशन दिएका छौँ, उहाँले पनि काम गर्छु भन्नु भएको छ, तर गर्नुभएको छैन, विभिन्न समस्याहरू देखाउँदै काममा ढिलो गर्नुभएको छ ।,’ उनले भने, ‘अहिले आर्थिक प्रगति ४० र भौतिक प्रगति ५० प्रतिशत भएको छ । अब १७ दिन बाँकी छ, तर पनि अहिले कायम भएको मिति भित्र समेत सडक कालोपत्रे सकिने सम्भावना कम छ ।’
उनका अनुसार आर्थिक मन्दी तथा अन्य पारिवारिक समस्या देखाउँदै ठेकेदार कम्पनीले काममा ढिलाइ गरेको हो । उनले पाँच पटक लिखित र हजारौँ पटक मौखिक रूपमा ताकेता गर्दा समेत निर्माण व्यवसायीले वास्ता नगरेको गुनासो गरे ।
१ करोड रकम भुक्तानी भयो, काम ४० प्रतिशतमा अड्कियो
कार्यालयले ४ करोड १० लाख ९७ हजार ३ सय ७१ रुपैयाँ लागतमा नान्जिला आकाङ्क्षा एन्ड मजदुर जेबी सुर्खेतसँग सम्झौता गरेको थियो । सम्झौताअनुसार केही समय निरन्तर काम भए पनि वैशाखबाट यता उक्त काम रोकिएको इन्जिनियर थारुले बताए । काम सम्पन्न हुन नसक्ने निश्चित देखिएको छ । निर्माण व्यवसायीले हालसम्म १ करोड ६३ लाख ८९ हजारको रुपैयाँ भुक्तानी लिएका छन् ।
उनको पेश्की भने अलगै जोडिएको छ । उनले ८ मङ्सिर ०७८ मा १७ लाख ९९ हजार र २२ पुस ०७८ मा १७ लाख ९९ हजार गरी कुल ३५ लाख ९८ हजार पेश्की लिएका छन् । उनले हालसम्म लिएको रकम १ करोड ९९ लाख ८७ हजार रहेको थारुले जानकारी दिए । उनले लिएको रकम अनुसार काम पनि भएको थारुले जानकारी दिए।
आधा काम गरेर छोडेपछि धुलाम्मे सडकले दिउँसै अँध्यारो
निर्माण व्यवसायीले आधा काम गरेर छोडेपछि हाल यो सडक धुलाम्मे बनेको छ । यहाँ कुनै दिन बढी सवारी साधन गुड्दा त दिउँसै अँध्यारो समेत हुने गरेको थियो। सडक कालोपत्रेमा ढिलाइ हुँदा यहाँ स्थानीयदेखि पैदल हिँड्ने यात्रुले समेत सास्ती खेप्दै आएका छन्।
एक स्थानीयले भने, ‘बिहान लगाएको कपडा बेलुका फर्कँदा हेर्न नहुने भइसकेको हुन्छ । धूलो र धूवाँको मुस्लोले सडकमा हिँड्नै नसकिने अवस्था रहेको छ । यसमा कसैको ध्यान जान सकेको छैन ।’
यो बाटो हुँदै तीन वटै सरकारका जिम्मेवार व्यक्तिहरू दैनिक रुपमा हिँडिरहन्छन् । तर, यो सडक निर्माण सम्पन्न गर्न कसैको पनि ध्यान नगएको स्थानीयवासीको भनाई छ । निर्माण व्यवसायी र जिम्मेवार निकायको चरम लापरबाहीले आफूहरू सास्ती खेप्न बाध्य भएको भन्दै उनीहरूले आक्रोश पोखे।
समयमा काम सक्ने निर्माण व्यवसायीको दाबी
यता, निर्माण व्यवसायी विनीत पन्तले भने तोकिएको समयमा आफूहरूले काम सम्पन्न गर्ने दाबी गरेका छन् । पन्तले व्यक्तिगत समस्या तथा मौसमले पनि साथ नदिएकोले कालोपत्रे गर्न नसकेको बताए । उनले काम रोकिएको भन्न नमिल्ने बताउँदै आफूहरूले निरन्तर काम गरिरहेको दाबी गर्न भ्याए। केही दिनदेखि निरन्तर पानी परेकाले पनि कालोपत्रे गर्ने काममा समस्या भएको बहाना गर्दै केही दिन घाम लागे उक्त काम सुरु हुने प्रतिबद्धता जनाए।
‘काम निरन्तर भइरहेको छ, हामीले विभिन्न सामानहरू बोकिरहेका छौ, यसलाई काम रोकिएको भन्न मिल्दैन, समय पनि त्यस्तै भयो, निरन्तर पानी परेको छ, त्यसैले पनि हामीले कालोपत्रे गर्न सकेका छैनौ, ’ उनले भने, ‘निरन्तर घाम लाग्यो भने अबको दुई तीन दिनमा काम सुरु गर्छौ, काम गरेमा हामीलाई नै फाइदा हुने हो ।’
विद्युत् प्राधिकरण वाधक बनेको आरोप
निर्माण व्यवसायी पन्तले विद्युत् प्राधिकरणले पोल नसारिदिँदा काममा ढिलाइ भएको बताए । ‘अहिलेसम्म काम सकिने थियो, प्राधिकरणले पहिले बिजुलीका पोल सार्दिएन, अहिले अब निरन्तर पानी परिरहेको छ,’ उनले भने, ‘पानी परेपछि कालोपत्रे गर्न मिल्दैन, झनै समस्या हुन्छ, हामीले एक वर्षसम्म वारेन्टी लिएर काम गर्नुपर्छ, पानीमा कालोपत्रे गरे, एकछिनमा उप्किन थाल्छ, त्यसैले घाम लागेपछि काम गर्ने सोचेका छौ, घाम लाग्यो भने हामीले चार दिनमै काम सक्छौ ।’


