२०८३ वैशाख ८ , मंगलबार

वित्तीय संस्थाहरु लुटेरा हुन्, यिनीहरूका नाइकेलाई जनकारबाही गर्नुपर्छ : बास्तोला



सुर्खेत । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोलाले बैङ्क, वित्तीय संस्थाहरूका नाइकेलाई जहाँ भेट्यो त्यही जनकारबाही गर्नुपर्ने बताएका छन् । बिहीबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै उनले बैङ्क, वित्तीय संस्थाहरू लुटेका भएको बताउँदै यिनीहरूका नाइकेलाई जहाँ भेट्यो त्यही कारबाही गर्नुपर्ने बताएका हुन् ।

साथै उनले नेपालमा जनताको गणतन्त्र नभई दलाल पुँजीवादी र माफियाको गणतन्त्र भएको बताए । उनले संसदीय व्यवस्था स्थापना भएपछि विभिन्न भ्रष्टाचारका काण्डहरू समेत घटेको जिकिर गरे । सरकारमै रहेका मन्त्रीहरू पनि भ्रष्टाचारका विषयमा जोडिनु भनेको लज्जास्पद भएको उनका भनाई छ ।

‘पछिल्लो समय सरकारमै रहेका मन्त्रीहरू पनि भ्रष्टाचारका जोडिनु भएको विषय धेरै सुनिँदै आएको छ, उनले भने, उहाँहरू पनि त्यसरी भ्रष्टाचारमा जोडिनु भनेको लज्जास्पद हो । साथै क्रान्तिकारी कम्युनिष्ट पार्टीले हप्ता उठाउने गरेको छ भन्ने प्रश्नमा उनले आफ्नो पार्टीले कुनै पनि हप्ता उठाउने नगरेको प्रष्ट पारे ।

उनले एमाले र काँग्रेस पार्टीले मात्रै हप्ता उठाउने गरेको आरोप लगाए । लामो समयदेखि भुटानी शरणार्थी प्रकरणलाई दबाएर राखिएको भन्दै उनले यो प्रकरणमा विभिन्न शीर्ष नेताहरू जोडिए पनि उनीहरूलाई उन्मुक्ति दिइएको आरोप समेत लगाए ।

प्रकाशित मिति : २०८० असार १४ गते बिहीबार