
मुख्यमन्त्री हिक्मत कार्की
कोशी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की पदमुक्त भएका छन् । शुक्रवार प्रदेशसभामा भएको मत विभाजनमा बहुमत सांसदको समर्थन पुष्टि गर्न नसकेपछि उनी पदमुक्त भएका हुन् । मत विभाजन हुँदा कार्कीको पक्षमा ४६ र विपक्षमा ४३ मत पर्यो । सरकार टिकाइराख्न कार्कीलाई ४७ सांसदको समर्थन जरुरी थियो ।
प्रदेश सभामा एमालेका ४० र राप्रपाका ६ सांसद उनको पक्षमा उभिए । एक सांसदको अभावमा कार्कीको सरकार ढलेको हो । २०७९ पुस २४ गते माओवादी केन्द्रसहितका दलको समर्थनमा कार्की मुख्यमन्त्री बनेका थिए । केन्द्रमा समीकरण फेरिएसँगै प्रदेशमा जसपा र माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता गरेपछि कार्की संकटमा परेका हुन् ।
कोशी प्रदेशमा सरकार ढलेसँगै नेकपा एमाले ७ वटै प्रदेशमा विपक्षमा पुगेको छ । त्यसो त कोशीमा नयाँ सरकार गठन पनि त्यति सहज छैन । विपक्षमा पनि कांग्रेसका २९, माओवादीका सभामुखबाहेक १२, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ गरी ४६ सांसद नै छन् । विपक्षी दलहरू सभामुखको समेत हस्ताक्षर लिएर सरकार गठनको दाबी गर्ने तयारीमा छन्, तर सभामुखलाई मत बराबरी भएको अवस्थामा मात्र मताधिकार हुन्छ ।