२०८३ वैशाख ८ , मंगलबार

भारतबाट घटेर आयो ग्याँसको मूल्य, नेपालमा के हुन्छ ?



काठमाडौँ । भारतबाट खाना पकाउने एलपिजी ग्याँसको मूल्य घटेर आएको छ । नेपाल आयल निगमका अनुसार इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नयाँ मूल्य सूचीमा ग्याँसको भाउ प्रतिसिलिन्डर एक सय ६१ रूपैयाँ घटाएर पठाएको छ । यो नयाँ मूल्य सँगै ग्याँसमा भइरहेको घाटाबाट मुक्त भएको पनि निगमले जनाएको छ ।

यस अघिसम्म निगमलाई ग्याँसमा प्रतिसिलिन्डर एक सय ६० रूपैयाँ घाटा थियो । आइओसीले पेट्रोल र मट्टीतेलमा पनि क्रमशः प्रतिलिटर १४ पैसा र प्रतिलिटर ५ पैसा घटाएर पठाएको छ । त्यस्तै, डिजेलमा प्रतिलिटर दुई रूपैयाँ १६ पैसा र हवाई इन्धनमा ५७ पैसा बढाएर पठाएको छ ।

नयाँ मूल्यअनुसार पन्ध्र दिनमा एक अर्ब ६० करोड रूपैयाँ नाफा हुने नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुरले बताए । हाल बजारमा प्रतिलिटर पेट्रोल एक सय ७५ रूपैयाँ, डिजेल र मट्टीतेल एक सय ५५ रूपैयाँ, हवाई इन्धन आन्तरिक एक सय ६० रूपैयाँ र बाह्य एक डलर ३५ सेन्ट र खाना पकाउने एलपिजी ग्याँस सिलिन्डरको १८ सय रूपैयाँ छ।

प्रकाशित मिति : २०८० असार १७ गते आइतबार