जाजरकोट । भेरी नगरपालिकाका स्वास्थ्य कर्मचारीहरू विगत सात महिना देखि तलबविहीन भएका छन् । नगरपालिकामा ३७ जना स्थायी र २१ जना करार गरी जम्मा ५८ जना स्वास्थ्य कर्मचारीहरू रहेका छन् । काममा निरन्तर खटिरहेका कुनै पनि कर्मचारीहरूले विगत सात महिनादेखि तलब पाउन सकेका छैनन् । समयमा तलब नपाउँदा घर खर्च चलाउन उनीहरूलाई निकै गाह्रो भइरहेको छ ।
लामो समयसम्म तलब नपाउँदा कर्मचारीहरूको काममा ध्यान केन्द्रित हुन नसकेको भेरी नगरपालिकामा कार्यरत स्वास्थ्य निरीक्षक निशा थापाले बताएकी छिन् । कर्मचारीहरूको ध्यान काममा भन्दा पनि तलबमा रहेको उनको भनाइ छ । समयमा तलब नआउँदा बैङ्कबाट ऋण लिएर केही कर्मचारीहरूले काम चलाएका थिए । उनीहरूलाई प्रत्येक छ, महिनामा बैङ्कमा किस्ता बुझाउनु पर्ने हुन्छ ।
तर तलबकै भर परेका कर्मचारी भने यति बेला पटक पटक बैङ्कको फोन कलको सिकार हुन परेको छ । पालिकामा कार्यरत स्थायी कर्मचारीहरू सङ्घ सरकार अन्तर्गत पर्दछन् । तर सङ्घ सरकारले पालिकाको दरबन्दी अनुसारको तलब नहालेकाले उनीहरूलाई तलब दिन नसकिएको जनस्वास्थ्य निरीक्षक दीपक वलीले जानकारी दिए ।
पालिकामा दरबन्दी भन्दा ९ जना कर्मचारी धेरै भएको कारण पनि यस्तो समस्या आएको हुन सक्ने उनको भनाई छ । तर दरबन्दी भन्दा धेरै कर्मचारी भए पनि हाजिर लगाउनु हामी तलब हाल्दिन्छौ भने पनि सात महिना देखि तलब नहाल्दिएको वलीको दुखेसो छ । स्थानीय सरकारमा काम गरिरहे पनि सङ्घीय अन्तर्गतका कर्मचारी भनेर यस बारेमा पालिकाले कुनै चासो नदेखाएको भेरी नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख खेम पुनले बताए ।
यति लामो समयसम्म पनि पालिकामा कार्यरत कर्मचारीले तलब नपाउँदा पालिकाले चासो देखाउनु पर्ने हो र तर पालिकाले यसतर्फ ध्यान नदिएको पुनको भनाइ छ । तलबको लागि असार अन्तिमसम्म पर्खने पुनको बताउँछन् । त्यस पछि पनि तलब नपाए शृङ्खलाबद्ध आन्दोलन गर्ने स्वास्थ्य कर्मचारी बताउँछन् ।
उता कर्मचारीहरूको तलबको बारेमा पालिकाले ताकेता गरिरहेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद जैसीले बताए । सङ्घीय सरकारका कर्मचारी भएका कारण सङ्घले तलब दिनुपर्ने उनको भनाई छ । उनले पालिकाबाट बारम्बार पत्र पठाएको भए पनि सङ्घले कुनै पनि जवाफ नदिएको उनले जानकारी दिए ।