
सुर्खेत । नेकपा (एमाले) का नेता ऋषिप्रसाद शर्माको हत्यामा आफ्नो परिवार र नेपाली काँग्रेसलाई लगाइएको आरोप निराधार र सहन नसकिने खालको भएको र यसले आफ्नो परिवारलाई सधैँ तनाव मात्रै दिइरहने भन्दै नेपाली काँग्रेस सुर्खेतका उपसभापति एवम् नेपाली काँग्रेसका केन्द्रीय उपसभापति पूर्णबहादुर खड्काका भाइ विष्णुबहादुर खड्काले दुखेसो पोखेका छन् । आफ्नो जेठो दाइ पूर्णबहादुर खड्का शर्माको हत्यामा संलग्न भएको जस्तो नितान्त झुटो कुरा गरेर नेकपा एमाले सुर्खेतले अहिलेसम्म राजनीति गरिरहेको भन्दै झुटो कुरा धेरै समय नटिक्ने र सत्यको विजय हुने खड्काको भनाई छ ।
चुनावको मुखमा शर्मालाई २०६४ साल चैत २६ गते भेरीगंगा नगरपालिकाको लोदेमा गाडी भित्रै गोली हानेर हत्या गरिएको थियो । ऋषि शर्माको हत्या भएको खबर सुन्दा आफू स्तब्ध भएको उनले बताए । आफूले घटना घटेपछि पहिलो पटक तत्कालीन डिआइजीबाट ऋषिको मृत्युको खबर सुनेको र त्यसको तत्काल जानकारी दाइ पूर्णबहादुर खड्कालाई गराएको खड्काले बताए । ऋषि हत्यापछि नेकपा एमालेले सुर्खेतमा जुन बर्बरता देखाएर राजनीति गर्याे त्यसको पुष्टि अहिलेसम्म पनि गर्न नसकेकोले शङ्काको सुई एमाले तिरै फर्केको उनको ठम्याइ छ ।
त्यो बेलाको घटना सम्झँदै उपसभापति खड्काले २०६४ साल चैत्र २६ गते मेहलकुनाको आमसभा सम्पन्न गरेर आफुहरु छिन्चु पुगेको बताए । सुरक्षा निकायबाट देशमा हत्या र हिंसाको अवस्था आउन सक्ने भन्दै आफूहरूलाई पहिलै सतर्क बनाइएकोले आफ्नो पार्टीमा घटना हुन नपाएको उनले दाबी गरे । सुरक्षा संयन्त्रबाट सूचना आएकोले घाम छँदै दाइ पूर्णबहादुर खड्कासहित सुरक्षित स्थानतर्फ लागेको उनले सम्झना गरे । मेहलकुनाबाट सकभर नेपालगन्ज जाने उद्देश्यले हिडेपनि बाटोमा केही खतरा हुनसक्ने सुरक्षा निकायको सुझावपछि छिन्चुमा नै आफूहरू बसेको उनले जानकारी दिए ।
‘टार्गेट दाई माथि थियो । तर सुरक्षा निकायको खबरदारीले घटना हुन पाएन,’ उनले भने । खड्काले त्यति बेलाको सेक्युरिटी गार्ड अङ्गरक्षकले ऋषिमाथि आफूले नै गोली चलाएको हो भनेर साविती बयान दिइसकेपछि अन्य निर्दोष व्यक्तिमाथि दोष थोपर्नुको कुनै तुक नहुने उनको तर्क छ ।आफ्नै हातबाट असावधानीवश गोली छड्केर शर्मालाई लागेको अङ्गरक्षक मोतीलाल बि.क.ले बयान दिएको र सोही बयानलाई आधार मानेर अदालतले पनि जन्मकैद फैसला गरेको उनले बताए । यही अभियोगमा अङ्गरक्षक अहिले पनि थुनामा रहेको उनको भनाइ छ ।
घटना घटेको समयमा ऋषि शर्माले सुरक्षा गार्ड समेत आफैले छानेर लिएको र सवारी चालक र सबै कार्यकर्ता आफ्नै पार्टीको भएको आफूले सुनेको उनले बताए । आफ्नै पार्टी र सबै टिम नै आफ्नै भएको बेलामा कसरी बाहिरको मानिसले हत्या गर्न सक्छ भन्दै उनले प्रश्न गरे। खड्काले घटना घटेको साँझ छिन्चुमा खाना खाने समय भएको वेला संविधान सभा सदस्यका उम्मेदवार ऋषि शर्मालाई गोली लागेको आफूहरूले खबर पाएको बताए । ‘दाजु पूर्णबहादुर खड्का, नेपाली काँग्रेसको तर्फबाट संविधान सभा सदस्यका उम्मेदवार लालबहादुर घले र म सँगै थियौ, पार्टीका साथीहरू पनि धेरै थिए ।
सबै खाना खाने तयारीमा थियौँ । डिआइजीले मलाई फोन गरेर भन्नुभयो, ‘कहाँ हुनुहुन्छ’ ? मैले जवाफ दिए ‘छिन्चु छु’ । उहाँले भन्नुभयो ‘ऋषिप्रसाद शर्मालाई गोली लाग्यो ।’ ‘अब यता ल्याउने तयारी भएको छ ।’ घटनाबारे सम्झँदै खड्का अघि भन्छन् – ‘दाइ पूर्ण खड्कालाई यसको जानकारी गराउन बित्तिकै उहाँले ‘लौ बर्बाद भयो भन्नुभयो ।’ डिआइजीको फोन आएको १५ मिनेटपछि पूर्णबहादुर खड्काले ऋषिप्रसाद शर्मालाई मार्याे भन्दै एमाले कार्यकर्ताहरूबाट छिन्चुमा उग्र खाले नारा जुलुस सुरु भएको उनले जानकारी दिए ।घटना घटेको एक घण्टा बित्न नपाउँदै सुर्खेतका पूर्वी भेगका १७ वटै गाविसमा नारा जुलुसदेखि तोडफोड र आगजनी सुरु भएको र नेपाली काँग्रेस निकटका घर र पसलमा आक्रमण भएको उनको भनाइ छ ।
काँग्रेसका कार्यकर्ताहरू घटनापछि घर पसल छोडेर जङ्गल भागेर ज्यान जोगाएको उनले बताए । खड्काले भने ‘छिन्चुमा हामी बसेको घरलाई चारैतिरबाट घेरेर हमला गरिएको थियो । प्रहरीले हामीलाई सुरक्षा दिन सकेको थिएन । हामी सबैलाई त्यही मार्ने योजना बनाइएको थियो । अन्तिम समयमा नजिकै रहेको नेपाल आर्मी अघि नसरेको भए हामी सबै मारिने निश्चित थियो । हामीले प्रयोग गरेका सबै सवारी साधनहरूलाई छिन्चुमा आगो लगाएर ध्वस्त बनाइसकेको थियो । अन्ततः त्यो सबै आफूहरूलाई चुनावमा पराजित गर्न एमालेबाट अपनाइएको हतकण्डा मात्रै साबित भयो । ऋषि शर्मा आफ्नो परिवारको नाता पर्ने व्यक्ति भएकोले आफूहरूले सधैँ श्रद्धा र आदर गर्ने गरेको खड्काले बताए ।
व्यवसाय र राजनीति सँगसँगै
खड्काले राजनीति र व्यवसाय सँगसँगै सुरु गरेका थिए । व्यवसायतर्फ उनले माया मेडिकलको सुरुवात २०४२ सालबाट गरे । खड्काले भने, ‘म पढ्दै गर्दा दाइहरू पूर्णबहादुर खड्का र डम्मरबहादुर खड्काले मेडिकल सुरु गर्नुभएको थियो ।’ पछि उहाँहरूको व्यस्तताले गर्दा आफू मेडिकलमा बढी केन्द्रित हुनु परेको उनको भनाई छ । ‘म लागिसकेपछि मेडिकल व्यवसायले पनि गति लियो । र, अहिले हामीले माया नर्सिङ होमको नामबाट सेवामूलक व्यवसाय सञ्चालन गरिरहेका छौ ।’
२०४६ अघि नै सक्रिय राजनीति
खड्काका दाई पूर्णबहादुर खड्का विद्यार्थी राजनीतिबाटै राष्ट्रिय स्तरमै चर्चित अनुहार थियो । नेपाली कांग्रेसले तत्कालिन समयमा निर्णय गरेर पञ्चायती चुनावको उपयोग गर्ने नीति लिएको थियो । सो बमोजिम २०४३ सालमा सुर्खेतका विभिन्न गाँउ पञ्चायत, नगर पञ्चायत र जिल्ला पञ्चायत कब्जा गर्ने हिसावले दाई पूर्णबहादुर खड्कालाई जनपक्षीय उम्मेदवारको रुपमा वीरेन्द्रनगर पञ्चायतको टिकट दिएको थियो । ‘उहाँले उक्त चुनावमा वीरेन्द्रनगरको प्रधानपंचका रुपमा निर्वाचन लडेर जित्नुभयो । जितेपछि केही जनपक्षीय कामहरु पनि भए ।
दाइले जितेको पञ्चायती व्यवस्थाका समर्थकहरुलाई मन परेको थिएन् । पुस १ गते पञ्चायती दिवस मनाउने कार्यक्रम बहिस्कार गरेर सुर्खेतबाट राजधानी गएपछि तत्कालिन शासन व्यवस्थाले उहाँलाई पदमुक्त गर्ने योजना बनायो,’ खड्काले भने । पुस १ गतेको पञ्चायती व्यवस्था स्थापना कार्यक्रमलाई बहिस्कार गरेको अभियोगमा तत्कालिन पञ्चायती शासन व्यवस्थाले स्थानीय पञ्चायतको निर्वाचनमा पूर्णबहादुर खड्कासँगको प्रतिस्पर्धामा तेस्रो स्थान ल्याएका मानबहादुर खड्कालाई पुनः मतगणना हुनुपर्ने मागसहित अदालतमा मुद्दा हाल्न लगाई बलजफ्ती चुनाव जितेको घोषणा गरिएको थियो ।
खड्कालाई निलम्बन गरि मानबहादुर खड्काको पक्षमा पुनः मतगणना गरेर वीरेन्द्रनगरको प्रधानपञ्च परिवर्तन गरिएको थियो । बहुदल पक्षधरहरुलाई धरपकड हुन थालेपछि पञ्चायती शासन व्यवस्थाको जग हल्लिन थालेको थियो । बहुदल पक्षधर नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीहरुले पञ्चायती शासनसत्ता विरुद्धमा आन्दोलन सुरु गरे । २०४६ सालको आन्दोलनको प्रारम्भ काठमाडौँको चाक्सीबारीमा गणेशमान सिँहको घरबाट सुरु भएको थियो । आन्दोलनको सुरुवात नेपाली कांग्रेसको नेतृत्वमा संयुक्त वाममोर्चासहितका दलहरूले पञ्चायती व्यवस्था ढाल्नको लागि गरेका थिए । उक्त आन्दोलनमा आफु सानो उमेरकै भएपनि सक्रियतापुर्वक लागेको खड्काले दाबी गरे ।
उनले तत्कालीन राज्यसत्ताको नजरमा सानै उमेरको भएपनि आफु परेको बताए । ‘आन्दोलनकारी नेताहरु जेलमा थुनिएका थिए । त्यतिबेला सुर्खेतको जेलमा दाजु पुर्णबहादुर खड्का लगायतका नेताहरु हुनुहुन्थ्यो । अनि म त्यतिबेला माया मेडिकल हल सञ्चालन गरिरहेको थिए । काठमाडौँमा भएको आन्दोलनको प्रभाव सुर्खेतमा पनि पर्दै थियो । त्यतिबेला बिबिसीबाहेक अर्काे कुनै विश्वसनीय सञ्चार माध्यम थिएन् । बाहिरका गतिविधिहरु सुर्खेत कारागारमा रहेका बन्दीहरुलाई सुनाउने र कारागारका राजनीतिक बन्दीहरुका समस्याहरु बाहिर ल्याई बाहिर रहेका नेताहरुलाई जानकारी दिने र काठमाडौँमा समेत यसको जानकारी गराउने गर्दथे,’ खड्काले विगतका कुरा सम्झदै भने ।
नेताहरु पञ्चायती शासन विरुद्धको आन्दोलनमा लागे वापत राजकाज मुद्धामा जेल परेपछि सानै उमेरका खड्काले सुर्खेतबाट गणेशमान सिँहका छोरा प्रकाशमान सिँहलाई सुर्खेतको आन्दोलन र गतिविधिहरुबारे जानकारी गराउने गरेको दाबी गरे । सुर्खेतको माया मेडिकल हलको टेलिफोनबाट आन्दोलनको बारेमा काठमाडौंमा जानकारी आदानप्रदान हुने गरेको सूचना पाएपछि प्रशासनले उक्त टेलिफोन लाईन काटेको थियो । पछि कालिप्रसाद शाक्यको अर्को टेलिफोन प्रयोग गरेर सुर्खेतमा भएका गतिविधिबारेमा जानकारी गराउने र काठमाडौँमा भइरहेका गतिविधिका बारेमा जानकारी लिने काम उनले गर्न थाले । त्यसको जानकारी कारागारमा रहेका नेतालाई पु¥याउने भइरह्यो ।
देशभर पञ्चायती शासनका विरुद्धमा आन्दोलन सुरु भयो ।
यसका समाचारहरु सरकारी मिडियाबाट आउदैनथे । निजी मिडियाहरु स्थापना भएकै थिएनन । खासगरी साँझको समयमा बिबिसी नेपाली सेवा सुन्दा देशका धेरै ठाउँका आन्दोलन, आगजनी, तोडफोड र पञ्चायती शासन ढाल्नका लागि भएका विभिन्न घटनाहरुको बारेमा जानकारी हुन्थ्यो । त्यतिबेलाको अवस्था सम्झदै खड्का भन्छन्, ‘सुर्खेतमा ४/५ जना भन्दा बढी राजनीतिक व्यक्तिहरु फिल्डमा उत्रिने र आन्दोलनमा अग्रसर हुने अवस्था थिएन् । मध्यपश्चिम विकास क्षेत्रको राजधानी भएकोले प्रहरी प्रशासनको दमन निकै ठूलो थियो । सुर्खेतमा आन्दोलन नै नभएको र अन्य ठाउँमा ठूल–ठूला आन्दोलन भएको समाचार पढेपछि हामी केही व्यक्तिहरुलाई समाचारमा आउने गरि काम गर्न मन लाग्यो ।’
सरकारी गाडीमा आगजनी
जनआन्दोलनको समयमा कालिञ्चोकमा क्षेत्रीय स्वास्थ्य निर्देशनालय थियो । सुर्खेत जिल्लामा सरकारी गाडी एकदमै कम थिए । उनले पहिलो पटक सुर्खेतमा गाडी जलाउने योजना बनेकोबारे सिद्धदर्शन दैनिक मार्फत खुलासा गर्दै खड्काले भने, ‘हामीले जनआन्दोलनलाई थप उचाइमा पुर्याउन सरकारी गाडीमा आगजनी गर्ने योजना बनायौ ।’ अन्य जिल्लाको जस्तै सुर्खेतमा पनि आन्दोलन कसरी प्रभावकारी बनाउने भन्ने विषयमा हामी केही युवाहरू बिच सल्लाह भयो ।
उनको काइँला बुवाको छोरा प्रेमप्रकाश खड्काको घर कालिञ्चोकमा थियो । उनीहरू दुईभाईले गाडीमा आगजनी गर्ने निधो गरेर नजिकै रहेको नारायण आयल स्टोरबाट १० लिटरको जर्किनमा पेट्रोल लिई रातको दुई बजेको समयमा पार्किङ गरेर राखिएको स्वास्थ्य निर्देशनालयको निलो रङ्गको गाडीमा पेट्रोल छर्केर आगजनी गरे । रातिको समय भएकोले गाडीमा गरिएको आगजनी गर्ने व्यक्तिहरूलाई कसैले देखेन ।
एघार दिन हिरासतको बास
पछि अनुसन्धानको सिलसिलामा प्रहरी प्रशासनले उनलाई र प्रेम प्रकाशको दाइ लालबहादुर खड्कालाई गिरफ्तार गरी ११ दिनसम्म जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा कठोर यातना दिएर राख्यो । उनीहरूलाई कुटपिट गरेर स्वास्थ्यको गाडी जलाएको अभियोग कबुल गर्न दबाब दिइन्थ्यो । तर जति कुटे पनि उनीहरूले गाडी जलाएको स्वीकार भने गरेनन् ।
अभियोग स्वीकार नगरेपछि प्रहरीले त्यति बेलाका प्रधानपञ्च मानबहादुर खड्कालाई प्रहरी कार्यालयमा बोलायो । घटना सम्झँदै उनले भने ‘हामीलाई भेटेर गाडी जलाएको स्वीकार गर्न र अबदेखि यस्ता गतिविधि नगरे कागज गरे छाडिदिने भने । तर, हामीहरू दुईलाईले कागज गर्न मानेनौँ । पटक–पटक गाडी नजलाएको जिकिर गरेपछि अन्तिममा प्रहरीले हामीहरूलाई ११ दिनपछि रिहा गर्याे ।’
बाहिर निस्किसकेपछि झन् आन्दोलन प्रति समर्पित हुने प्रेरणा मिलेको उनले बताए । माया मेडिकलको छेउमै रहेको काँग्रेस नेता कालीप्रसाद शाक्यको पसल भित्र लुकेर उनीहरूले पञ्चायत विरुद्धको गतिविधि तेज गराए । पसलको माथिल्लो तलामा शाक्यको बस्ने कोठा थियो त्यहाँ बसेर सुर्खेतमा आन्दोलन तेज बनाउनुपर्छ भनेर रातिको समयमा चार तारे झन्डा सिलाउन लगाएको खड्का सम्झिन्छन् । उनले आफ्नो मेडिकल बन्द गरी आन्दोलनलाई उग्र बनाउन कालो कपडा किनेर ल्याउने र चोक चोकमा विरोध स्वरूप राख्ने अनि काँग्रेस पार्टीको चार तारे झन्डा बजारमा राख्ने अभियान सुरु गरेको बताए ।
कालो झन्डा दिउँसो राख्दा प्रशासनले धरपकड गर्ने डरले राति सबै सुतिसकेपछि गर्ने गरेको उनले सम्झे । त्यति बेलाको घटना सम्झँदै खड्का भन्छन्, “त्यति बेला रातको १ बजेको थियो । शंकरचोकमा रहेका एक जनाको घरमा पनि हामीले कालो झन्डा गाड्यौ । अहिलेको जस्तो त्यति वेला सडकबत्तिहरु थिएनन् । निस्पट्ट अँध्यारो थियो । त्यसपछि इत्राम स्कुल नजिकैको चौतारामा आयौ । त्यहाँ आइसकेपछि विद्यालय अगाडिको पिपलको रुखमा ठुलो चार तारे झन्डा राख्यौँ ।’
प्रजातन्त्र आएपछि पद र प्रतिष्ठा खोजेनन्
प्रजातन्त्र आएपछि अरू नेताहरू काठमाडौँ गए । तर, उनी गएनन् । उनी सुर्खेतमा बसेर व्यवसायसँगै पार्टी काममा क्रियाशील रहिरहे । व्यवसाय पनि सम्हाले र राजनीतिलाई पनि सँगसँगै हिडाले । “राजनीति सेवाको विषय हो भने व्यवसायबाट जीवन निर्वाह गरिरहेको छु । राजनीतिमा टिक्नलाई पनि आर्थिक स्रोत चाहिन्छ । समस्या परेर सहयोगको अपेक्षा लिएर गाउँ गाउँबाट साथीहरू आउँछ । उनीहरूका लागि पनि मैले सकेको सहयोग गर्नुपर्छ,” उनी भन्छन् ।
लामो समयदेखि स्वास्थ्य क्षेत्रमा संलग्न खड्काले आफ्नो तत्काल मेडिकल कलेज बनाउने योजना नभएको बताए । उनले भने, “हामीसँग घरपरिवारमा मेडिकल लाईनको जनशक्ति छ । तर, अहिले मेडिकल कलेज बनाउने केही योजना छैन । माया नर्सिङ होमलाई चाहिँ कर्णाली प्रदेशकै सुविधा सम्पन्न अस्पताल बनाउने योजना छ । त्यसैमा अहिले काम गरिरहेको छु ।”
२४ सै घण्टा पेट्रोल पम्म खुला
खड्काले अहिले वीरेन्द्रनगर १० को तीनकुने चोक नजिक माया आयल स्टोर सञ्चालन गरिरहेका छन् । सुर्खेतमा रातिको समयमा पेट्रोल पम्प बन्द हुदा धेरैलाई समस्या भइरहेको गुनासो आएपछि रातिमा समेत सञ्चालन गरिएको उनले जानकारी दिए । आयल स्टोरलाई उनले २४ सै घण्टा सञ्चालनमा ल्याएका छन् । उनी भन्छन, “मलाई सेवा भावले गरिने व्यवसाय गर्न आनन्द आउँछ । दिउँसो भन्दा रात्रीको समयमा जनतालाई बढी सास्ती हुने भएकोले आयल स्टोरलाई रातिपनि सञ्चालन हुने व्यवस्था मिलाएको छु ।”
सानैमा मेडिकल र यातायात क्षेत्रको नेतृत्व
उनले सानै उमेरदेखि नै चूनौतीपूर्ण काममा होमिए । सानो केटाकेटी उमेरमा मेडिकल हल खोले र त्यसमा काम गर्दा गर्दै अनुभवी भयो । समयक्रम संगै यातायात क्षेत्रमा देखिएको वेथिति सुधार्न र बाहिरबाट सुर्खेतमा आई यातायात क्षेत्रमा गरिरहेको दादागिरीको अन्त गर्न यो क्षेत्रको नेतृत्व गर्नुपर्याे । समयले जे–जस्तो माग गर्याे उनी त्यही क्षेत्रमा लागिरहे । उनी भन्छन्, ‘मेरो कुनैपनि काममा लागेपछि निरन्तर लागिरहने बानी छ । कुनै चिज नपाउँदैमा आत्तिने र पाउँदा मात्तिने मेरो बानी छैन । म सानै उमेरदेखि व्यवसायमा लागेकोले व्यवसाय क्षेत्रलाई स्थापित गरेको छु ।’
सानो उमेरदेखि नै व्यवसाय र राजनीतिमा लागेको कारण पढाईलाई निरन्तरता दिन नसकेको उनले पछुतो मान्दै भन्छन्, ‘दाईहरु राजनीति, पढाई र जागिरमा भएकोले घरको जिम्मेवारी पुर्णरुपमा मेरो काँधमा आईलाग्यो । परिवारलाई परेको समस्या हल गर्दै सकेको जिम्मेवारी बहन गरे ।’ २०५० सालसम्म सुर्खेत लगायत पश्चिम नेपालमा भेरी अञ्चल यातायात व्यवसायी संघको बोलवाला थियो । सुर्खेत आउने र जाने सबै बसहरु भेरी समितिका मात्रै थिए । मध्यपश्चिम यातायात व्यवसायी समिति २०५३ साल साउनमा दर्ता भयो । मध्यपश्चिम यातायात दर्ता गर्नेबेलामा निकै संघर्ष भएको खड्का बताउँछन् ।
‘उतिबेलाको संघर्ष अहिलेका व्यवसायीहरुले विश्वास नै गर्नुहुदैन । २०५३ सालमा २५ वटा मात्रै गाडी थिए । ती सबै गाडीहरु भेरी अञ्चल यातायात व्यवसायी नेपालगञ्जमा मात्रै दर्ता भएका थिए । त्यसपछि हामीले नेपालगञ्जमा भएका समितिका पदाधिकारीहरुलाई सुर्खेतमा पनि एउटा शाखा कार्यालय खोलौ, भन्यौ तर उनीहरुले मानेनन् । उनीहरुले सुर्खेतका मान्छेहरुलाई पटकपटक होच्याउने काम मात्रै गरे,’ खड्काले भने । नेपालगञ्जमा भेरी समितिको साधारण सभामा सुर्खेतबाट संघको कार्यसमितिमा उम्मेदवारी दिनेबारे छलफल भएको खड्का सम्झिन्छन् ।
सुर्खेतका मानिसहरु समितिमा नआउने देखिएपछि आफुहरुले विरोध गरेको र विरोधपछि साधारण सभा रोकिएको उनले बताए । सुर्खेत फर्किएपछि गाडीवालाहरु बीचमा सल्लाह गरेर नयाँ समिति दर्ता गर्ने निर्णय भएको उनले सुनाए । समिति दर्तापछि मध्यपश्चिम यातायात व्यवसायी संघ स्वतन्त्र रुपले संचालन गर्ने तयारी गरेपछि भेरी समितिले मध्यपश्चिम वस समिति भेरीको मातहतमा हुनुपर्छ भन्ने दबाब दियो । भेरीले मध्यपश्चिम बस समितिको अस्थित्व स्वीकार नगर्दा ठूलो आन्दोलन भयो ।
कार्यसमितिमा मात्रै बसेको मलाई पछि साथीभाईहरुले ठूलो दबाब दिएपछि मेरो चाहना नहुँदा पनि जर्वजस्ती अध्यक्ष बने । ठूलो संघर्षपछि बनेको बस समितिले सामाजिक क्षेत्रमा पनि थुप्रै कामहरु गरेको छ । बस समितिले मध्यपश्चिम विश्वविद्यालय स्थापना गर्न त्यतिबेला ५ लाख सहयोग गरेको थियो ।
बैंकहरुको ज्यादती प्रति असन्तुष्ट
खड्काले बैङ्कहरूले व्यवसायीहरूको पिर मर्का नबुझेर नाफा मात्रै कमाउन खोजेको प्रति असन्तुष्टि जनाए । ‘व्यवसायीहरू अहिले निकै समस्यामा छन् । उनीहरू व्यापार निकै घटेको छ । तर, उनीहरूले तिर्नुपर्ने साँवा र व्याजको किस्ता बढेको छ । व्यवसायीले कमाए पनि नकमाए पनि घाटा लागे पनि, जग्गा लिलाम भए पनि बैङ्कहरूले ब्याज लिनै पर्ने, सरकारले सहुलियत नदिने । बैङ्कहरूले पनि सबैको समस्यामा ध्यान दिएको छैन । यस्तो अवस्थामा बैकले पनि अलि–अलि भए पनि घाटा सहनुपर्छ । केही प्रतिशत व्याज घटाउनुपर्छ भन्ने सोच छैन,’ खड्काले बैङ्कप्रति असन्तुष्टि व्यक्त गर्दै भने ।
२०४८ सालमै जिल्ला कमिटीमा ल्याउनु प¥थ्यो
नेपालको राजनीतिमा आसेपासे र परिवारका मान्छेहरूलाई मौका मिल्दा पद प्रतिष्ठा दिने चलन भएको भन्दै त्यो काम एकदम गलत भएको उनले बताए । हिजो दुखका दिनहरू सम्झँदै उनले प्रतिबन्धित पञ्चायती कालमा आन्दोलनमा सहभागी हुँदा र जेल जाँदा अहिले देखिएका नेताहरू नदेखिएको तर अहिले भने ठूलाठूला कुरा गर्ने गरेकोमा उनको चित्त दुखाइ छ । “त्यो बेला यो पूर्णबहादुर खड्काको भाइ हो ।
यो मात्रै जेल जानुहुन्न, हामी पनि आन्दोलनमा अघि सर्नुपर्छ भन्ने सोच नेताहरूमा देखिएको थिएन र अहिले भने केही सामान्य अवसर लिँदा यो पूर्णको भाइ हो भन्ने गरेका छन् । यसलाई अवसर दिनुहुन्न भन्ने कुराहरू मैले अलि बढी नै सुनेको छु,’ उनले केही काँग्रेस पार्टीका नेताहरूको व्यवहारप्रति चित्त दुखाउँदै भने । खड्काले अहिले पार्टीका महत्त्वपूर्ण पदहरूमा रहेकाहरू आफूभन्दा धेरै जुनियर भएको बताए । ‘पार्टीका महत्त्वपूर्ण पदमा बसेका मान्छेहरू नै म भन्दा धेरै जुनियर छन् ।
यदि पार्टीले मूल्याङ्कन गरेको भए मलाई २०४८ सालमै नेपाली काँग्रेसको जिल्ला समितिमा मनोनयन गर्नुपर्ने थियो । आफूले कहिल्यै पनि यो पद चाहिन्छ र त्यो चाहिन्छ भनेर भनिन्,’ उनले गुनासो गर्दै भने । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काका कारण पछाडि परेको भन्ने आफूलाई नलागेको समेत दाबी गरे । “दाइले भाइ अगाडि बढ्नु हुँदैन भनेर कहिले पनि भन्नु भएको छैन । तर, मैले आफ्नोतर्फबाट सकेको सहयोग सबैलाई गरिरहेको छु । मलाई यसैमा आनन्द महसुस भएको छ,’ उनले भने । यो समाचार आजको सिद्धदर्शन दैनिकमा प्रकाशित छ ।