२०८३ वैशाख ८ , मंगलबार

सल्यानमा यात्रुवाहक बसमा करेन्ट लाग्दा २ जनाको मृत्यु



तस्बिर : बुद्धि पुन /सल्यान

सल्यान । सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ३ स्थित चोर खोला नजिकै यात्रुवाहक बसमा करेन्ट प्रवाह हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पाको गंगादेव गाउँपालिका-४ का अन्दाजी वर्ष ७२ का बालराम डाँगी र उनका छोरा अन्दाजी वर्ष २३ का टोपीलाल डाँगीको रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

दाङको तुलसीपुरबाट रोल्पाको दलसिंगे जाँदै गरेको रा १ ख ८३४ नम्बरको बस सल्यानको राप्ती राजमार्गको चोर खोला नजिकै बिहीबार बिहान साढे १० बजेको समयमा उक्त घटना घटेको हो । सडकबाट बस पार हुँदा बिजुलीको तारमा छोइँदा बसमा करेन्ट प्रवाह भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक एवम् प्रवक्ता गोपाल क्षेत्रीले खबरदृष्टिलाई जानकारी दिए ।

उनकाअनुसार करेन्ट लागेर एक जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा सल्यानको छत्रेश्वरी-६ का अन्दाजी वर्ष ३२ का महेन्द्र वली रहेका छन् । उनको अवस्था गम्भीर रहेको र कपुरकोटमा उपचार भइरहेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० असार २१ गते बिहीबार