२०८३ वैशाख ८ , मंगलबार

असुरक्षित सडकका कारण ज्यान गुमाउन बाध्य छन्, कर्णालीवासी



कुलेन्द्र शाही, सुर्खेत । २६ मंसिर, ०७९ मा जाजरकोटको छेडागाड नगरपालिका–३ जेवाबाट वडा नम्बर ४ को लेवातर्फ जाँदै गरेको कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जिप दुर्घटनामा पर्यो । दुर्घटनामा परी १२ जनाको मृत्यु भएको थियो । जीप दैलेख भगवतिमाई गाउँपालिका–३ बाट विरेन्द्र खड्का र छेडागाड ५ लेवाकी सम्झना बिसीको बिहेमा दुलही लिन जाजरकोटको दशेरा गएको थियो ।

विवाह भोजमा सहभागी भएका एक जना जन्ती बिरामी परेपछि उपचारका लागि थलह बजार लैजाने क्रममा उक्त जीप दुर्घटना भएको थियो । जाजरकोटमै ८ वर्ष पहिले भएको सवारी दुर्घटनामा परी एकै पटक ५० जना भन्दा बढीले ज्यान गुमाएका थिए । सो दुर्घटनाबारे कलाकारहरुले गीत नै लेखेका थिए । २२ जेठ ०७९ मा कर्णाली राजमार्ग अन्तर्गत दैलेख आठबिस नगरपालिका–२ सिस्ने लिस्नेपडामा बस दुर्घटना भयो ।

घटनामा तीन जनाको मृत्यू भयो भने २२ जना घाइते भए । यी त केही प्रतिनिधि मुलक घटना भए । कर्णालीमा बर्षेनी सैयौँ नागरिकहरुले सडक दुर्घटनामा परी अकालमै ज्यान गुमाइरहेका छन् । पहाडी भू–भाग, साँघुरा र कच्ची सडकका कारण वर्षेनी हजारौँको संख्यामा सडक दुर्घटना हुने गरेका छन् । जसमा सयौँले ज्यान गुमाउँछन् भने हजारौँ घाइते हुन्छन् । प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार आर्थिक बर्ष ०७७/०७८ मा मात्रै कर्णालीमा २९१ वटा सवारी दुर्घटना भएका छन् ।

जसमा ९८ जनाको मृत्यू भएको छ । सामान्यतया सडकयात्रा सहज र छिटो गन्तव्यमा पुग्नका लागि गर्ने गरिन्छ । तर, कर्णालीको अवस्था ठीक उल्टो छ । कसैले यात्रा गर्नुपर्ने परे ‘मुटुमाथि ढुङ्गा राखेर’ यात्रा गर्नुपर्छ । विशेष गरि सुर्खेत–जुम्ला कर्णाली राजमार्गका ठुला सडक दुर्घटना हुने गरेका छन् । त्यसै कारण यो सडकलाई मृत्यू मार्गको उपमा दिने गरिएको छ ।

प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार विगत नौ बर्षमा कर्णालीमा १ हजार ९५५ वटा सवारी साधन दुर्घटनामा परे ।  जसमा १ हजार १३ जनाको ज्यान गयो । घटनामा १ हजार ५७४ जना गम्भीर घाइते भए भने ३ हजार ५०९ जना सामान्य घाइते भएका छन् ।
आर्थिक वर्ष २०७१/०७२ मा १३९ वटा सवारी दुर्घटनामा परी १३९ जनाको मृत्यु र १७२ जना गम्भीर घाइते भएका छन् ।

यस्तै २०७२/०७३ मा ७६ वटा सवारी दुर्घटनामा परी ५३ जनाको मृत्यु, ६५ जना गम्भीर घाइते र ६८ जना सामान्य घाइते, २०७३/०७४ मा १०१ सवारी दुर्घटनामा परी, ११७ जनाको मृत्यु, १५३ जना गम्भिर घाइते र १५६ जना सामान्य घाइते, २०७४/०७५ मा ८८ सवारी दुर्घटनामा परी ९१ जनाको मृृत्यु, १२० जना गम्भिर घाइते र १४४ जना सामान्य घाइते भएको प्रहरीले उपलब्ध गराएको तथ्याङ्गकमा उल्लेख गरिएको छ ।

यसैगरी २०७५/०७६ मा १४६ वटा सवारी दुर्घटनामा परी ११९ जनाको मृत्यु, १३१ जना गम्भिर घाइते र १ हजार २६० जना सामान्य घाइते, २०७६/०७७ मा २३६ वटा सवारी दुर्घटनामा परी ९७ जनाको मृत्यु, १३१ जना गम्भिर घाइते र २९३ जना सामान्य घाइते भएको तथ्याङ्गकमा उल्लेख गरिएको छ ।

यसैगरी २०७७/०७८ मा २९१ वटा सवारी दुर्घटनामा परी ९८ जनाको मृत्यु, १६९ जना गम्भिर घाइते र ३१९ जना सामान्य घाइते, २०७८/०७९ मा ४०३ सवारी दुर्घटनामा पर १८० जनाको मृत्यु, ३६२ जना गम्भिर घाइते र ५८८ जना सामान्य घाइते र चालु आर्थिक वर्ष २०७९/०८० मा ४७५ सवारी दुर्घटनामा परी ११९ जनाको मृत्यु, २७१ जना गम्भिर घाइते र ६८१ जना सामान्य घाइते भएकोे तथ्याङ्गकमा उल्लेख गरिएको छ ।

तीन वर्षमा दुर्घटना कुन जिल्लामा कति ?
तीन वर्षमा कर्णालीका दश जिल्ला गरी १ हजार २१४ सवारी दुर्घटनामा परेका छन् । उक्त दुर्घटनामा परी ४०१ ज्नाको मृत्यु भएको छ भने ८६३ जना गम्भिर घाइते र १ हजार ६१७ सामान्य घाइते भएका छन् । तीन आर्थिक वर्षमा सबैभन्दा बढी सवारी दुर्घटना सुर्खेत ५९६ र कम डोल्पामा १३ वटा भएका छन् । सुर्खेतमा ५९६ सवारी दुर्घटनामा परी ८१ जनाको मृत्यु, ३१७ जना गम्भिर घाइते र ७ सय ५१ सामान्य घाइते भएका छन् ।

यस्तै सल्यानमा १३१ सवारी दुर्घटनामा परी ६२ जनाको मृत्यु, १५४ जना गम्भिर घाइते र १७८ जना सामान्य घाइते, रुकुमपश्चिममा १०९ सवारी दुर्घटनामा परी ३७ जनाको मृत्यु, ९७ जना गम्भिर घाइते र १९८ जना सामान्य घाइते, कालीकोटमा ६३ सवारी दुर्घटनामा परी ३० जनाको मृत्यु, ३७ जना गम्भिर घाइते र ७२ जना सामान्य घाइते र जाजरकोटमा ७४ सवारी दुर्घटनामा परी ४९ जनाको मृत्यु, ६६ जना गम्भिर घाइते र १२४ जना सामान्य घाइते भएका छन् ।

यस्तै दैलेखमा ९९ सवारी दुर्घटनामा परी ४१ जनाको मृत्यु, ९२ जना गम्भिर घाइते र १५४ जना सामान्य घाइते, जुम्लामा ६३ सवारी दुर्घटनामा परी ३३ जनाको मृत्यु, ४१ जना गम्भिर घाइते र ९६ जना सामान्य घाइते, मुगुमा १९ सवारी दुर्घटनामा परी ४० जनाको मृत्यु, ३९ जना गम्भिर घाइते र ११ जना सामान्य घाइते, डोल्पामा १३ सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु, ३ जना गम्भिर घाइते र ३२ जना सामान्य घाइते र हु्म्लामा ४७ सवारी दुर्घटनामा परी १९ जनाको मृत्यु, १७ जना गम्भिर घाइते र ४१ जना सामान्य घाइते भएको तथ्यांक प्रदेश प्रहरी कार्यालयले सिद्धदर्शनलाई उपलब्ध गराएको छ ।

कर्णालीमा सडक दुर्घटना बढी हुनुको कारण
प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका सुचना अधिकारीले भीम बहादुर खड्काले साँघुरो बाटो, मर्मत–सुधारको अभाव, अत्यधिक घुम्ती र पुराना गाडी जस्ता कारणले धेरै दुर्घटना हुने गरेको बताए । उनले मापदण्ड विना बनाईएका सडकहरू, अत्याधिक साँघुरा घुम्तीहरू, सडक चिन्हको कमी, खाल्डाखुल्डी सडक र पहिरोका कारण बढी दुर्घटना हुने गरेको बताए ।

यस्तै सवारी चालकको लापरवाही, अत्याधिक गतिमा सवारी चलाउने, ट्राफिक सचेतनाको अभाव, ओभरटेक गर्ने प्रवृति, लामो रूटमा एउटै चालक हुनु, ओभरलोड गर्ने, सहचालकले सवारी चलाउनु, सवारी चालक बीच अनावश्यक प्रतिस्पर्धा गर्ने भएकोले दुर्घटना हुने गरेको प्रहरीको भनाइ छ । साथै उनले पशु चौपायको कारणले पनि बढी दुर्घटना हुने गरेको बताए ।

यस्तै जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मण शाहीले सवारी साधनको दुरुपयोगले दुर्घटना हुने गरेको बताए । डिएसपी शाहीले ट्राफिक नियमको पालना नगर्दा, सवारी साधन तिव्र गतिमा चलाउँदा, एउटाको साधन अर्काेले चलाउँदा सवारी दुर्घटना धेरै मात्रामा हुने गरेको बताए । उनले सबै आ–आफ्नो ठाउँबाट नियमबद्ध रुपमा लागिपर्ने सकेमा सवारी दुर्घटना न्यनिकरण हुने बताए ।

सवारी दुर्घटना रोक्न के गर्दै छ प्रहरी ?
प्रहरीले विगतदेखि जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्दे आएको छ । जनचेतनामुलक कार्यक्रम गर्दै आएको भएपनि त्यो कार्यक्रम प्रभावकारी भएको पाईदैन् । प्रहरीले विद्यार्थी, सामुदायिक, चालक, सह चालक, पैदल यात्री लगायतसँग जनचेतना कार्यक्रम गर्दे आएको छ । तर, कार्यक्रम गर्दै आएको भएपनि दुर्घटना भने बढ्दै गएको छ ।

प्रहरीले पाँच आर्थिक वर्षमा कर्णालीका विभिन्न ठाउँ गरी कुल ९ हजार ४ सय ६३ पटक जनचेतना मुलक कार्यक्रम गरेको छ । आर्थिक वर्ष २०७५/०७६ मा ४१६, ०७६/०७७ मा ६ सय १०, ०७७/०७८ मा २ हजार ६ सय ६६, ०७८/०७९ मा २ हजार ७ सय २९ र ०७९/२०८० मा ३ हजार ४२ पटक जनचेतना मुलक कार्यक्रम गरीएको छ ।

कर्णालीको भुगोलअनुसार सडक निर्माणको तालमेल मिलेन : मन्त्री शाही
प्रदेशका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री मंगलबहादुर शाहीले कर्णालीको भुगोल अनुसार सडकको मापदण्ड नमिल्दा सवारी दुर्घटना अत्याधिक रुपमा बढ्दै गएको बताए । उनले हतारहतारमा सडक साँघुरा बनाई पुर्याउनुपर्ने मापदण्ड पुरा नगरी सडक नर्माण गरेको हुँदा यहाँ धेरै संख्यामा सवारी दुर्घटना हुने गरेको जानकारी दिए ।

उनले गाउँका सडकहरुमा झनै पुराना सवारी साधन चल्ने गरेकाले पनि दुर्घटना हुने गरेको बताए ।मन्त्री शाहीले मन्त्रालयले यातायातबाट कार्यालयसँग समन्वय गरी २० वर्ष पुगेका सवारी साधनमा प्रतिवन्ध लगाउने निर्णय गर्दै गरेको जानकारी दिए । साथै उनले सवारी चेकजाँच गर्ने ट्राफिकहरुको पनि अपुग भएको हुँदा यसलाई बढाएर अपुग भएको ठाउँमा थप गर्ने गरी छलफल भइरहेको जानकारी दिए ।

सुचना अधिकारी खड्काका अनुसार कर्णालीइ प्रदेशमा जनशक्तिको अभाव, प्रदेशको भूगोल, सडकको अवस्था, बढ्दै गएको शहरीकरण, जनसंख्या तथा सवारीको चाप र ट्राफिक प्रहरीको दरबन्दीको कम भएकाले पनि दुर्घटना न्यनिकरणमा समस्या भएको छ । यस्तै नीतिगतरूपमा कार्यक्रम बजेट नहुने, सडक सुरक्षा तथा ट्राफिक व्यवास्थापनका सम्बन्धमा अनुगमन गर्नुपर्ने र सचेतनात्मक कार्यक्रमहरू संचालन गर्नुपर्दा सामान्य खर्चको लागि पनि अन्य निकायहरूसंग समन्वय गर्नु पर्ने वा विना बजेट गर्नुपर्ने बाध्यता रहेकोले पनि निकै समस्या भएको छ ।

प्रकाशित मिति : २०८० असार २१ गते बिहीबार