२०८३ वैशाख ८ , मंगलबार

वन रक्षकको परीक्षा दिने कालीकाेटका ३ जना नक्कली परीक्षार्थी पक्राउ



प्रेम भण्डारी र गौरी सञ्ज्याल

सुर्खेत । प्रहरीले वन रक्षकको परीक्षामा ३ जना नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालीकोटको रास्कोट नगरपालिका– २ सिपखाना घर भएका १९ वर्षीय प्रेम भण्डारी, रास्कोट– ४ सिउना घर भएका २० वर्षका गौरी सञ्ज्याल र सोही स्थानका १८ वर्षीय गोविन्द चौलागाईं रहेका आयोग गण्डकीका सूचना अधिकारी शिला बराल सापकोटाले जानकारी दिइन् ।

लोक सेवा आयोग, गण्डकी प्रदेशले खुलाएको वन रक्षक पदको लागि शुक्रबार गण्डकी प्रहरी तालिम केन्द्र छिनेडाँडामा सञ्चालित शारीरिक तन्दुरुस्ती परीक्षणअन्तर्गत दुई मिटर र तीन हजार मिटर दौडको परीक्षामा सहभागी मास्टर आइडी २०९५९ रोल नम्बर १३१०३ का उम्मेदवार स्युना– ३ कालीकोटनिवासी गुरुराज सञ्ज्यालले नक्कली उम्मेदवार खडा गरी उनीहरूलाई परीक्षा दिन लगाएका थिए ।

नक्कली उम्मेदवार बनी परीक्षा दिन गएका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ भने मुख्य व्यक्ति गुरुराज भने फरार रहेका छन् । उनीहरुले परीक्षार्थीहरुको नामको सक्कल नागरिकतामा आफ्नो फोटो टाँस गरेर परीक्षा दिँदै गरेका थिए । उनीहरुलाई जिल्ला अदालतबाट शिक्षा ऐनसम्बन्धी मुद्दामा ८ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवणकुमार बिकले जानकारी दिए ।

ऐनले गरेको व्यवस्थाअनुसार आयोगको शुक्रबार बसेको बैठकले नक्कली उम्मेदवार खडा गरी परीक्षा दिन लगाउने गुरुराजलाई ऐनको दफा ३० बमोजिम उनको परीक्षा रद्द गरी आयोगबाट सञ्चालन हुने कुनै पनि परीक्षामा पाँच वर्षसम्म उम्मेदवार बन्न नपाउने गरी निलम्बन गरेको सूचना अधिकारी सापकोटाले जानकारी दिइन् ।

यसैगरी, आयोगले परीक्षा दिन लगाउने र दिन आउने चारैजनालाई प्रचलित कानुनबमोजिम आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा लेखी पठाउने निर्णयसमेत गरेको छ ।

प्रकाशित मिति : २०८० असार २३ गते शनिबार