
कालिकोट । कालिकोटको तिलागुफा १० रुडुगाउँमा अज्ञात रोग फैलिएपछि शुक्रबार जिल्ला अस्पताल मान्म र तिलागुफा नगर अस्पतालबाट खटिएका ३ चिकित्सकसहित ९ स्वास्थ्यकर्मीले ३ सय ११ बिरामीको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरेका छन् ।
ज्वरो आउने, घाँटी र टाउको दुख्ने, घाँटीमा टन्सिल हुने, अनुहारमा दाग देखिने र हातखुट्टा सुनिने लक्षण भएको अज्ञात रोग गाउँमा फैलिएपछि तिलागुफा नगरपालिका र जिल्ला अस्पताल मान्मबाट चिकित्सकसहितको टोलीले शुक्रबार रुडु गाउँ पुगेर बिरामीको परीक्षण गरी औषधि वितरण गरेको हो ।
गाउँमा फैलिएको बिमारले बुधबार १३ वर्षीया बालिका कर्मा थापाको मृत्यु भएको थियो भने अन्य बिरामी परेका थिए। प्रयोगशालामा नजाँचिकन रोग यकिन गर्न नसकिने चिकित्सकको भनाइ छ। रोगले महादेव मावि रुडुका १ सय ३० सहित गाउँका अन्य गरी १ सय ७८ जना बिरामी परेको बिहीबार विद्यालयले नगरपालिका र जिल्ला सदरमुकाममा खबर पठाएको थियो ।
गाउँमा महामारी फैलिएको जानकारी आएपछि तिलागुफा नगरपालिकाबाट नगर अस्पतालका डा. टंकप्रसाद आचार्य, जिल्ला अस्पताल मान्मका डा। रामानन्द चौधरी, डा। डण्डप्रसाद नेपालसहितको स्वास्थ्यकर्मीको टोली शुक्रबार गाउँ पुगेको हो ।
गाउँमा फैलिएको रोगको यकिन गर्न परीक्षणमा आएकामध्ये ९ जना बिरामीको रगतको नमूना संकलन गरेर सुर्खेत पठाइने तिलागुफा नगरपालिकाले जनाएको छ । अधिकांश बिरामीहरू महिला र बालबालिका रहेका छन् । शुक्रबार १ सय ९४ महिला र १ सय १७ पुरुषको स्वास्थ्य जाँच गरी औषधि दिइएको छ । जसमध्ये उपचार गर्न आउने १५ वर्षमुनिका बालबालिका २ सय ६ जना छन् ।