२०८३ वैशाख ८ , मंगलबार

दैलेखमा भैँसीको शरीरले च्यापिएर एक जना वडा सचिवको मृत्यु



दैलेख । दैलेखमा भैँसीको शरीरले च्यापिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नारायण नगरपालिका–१० मा कार्यरत वडा सचिव चक्र बहादुर कटुवाल रहेकाे प्रहरीले जनाएको छ । घरबाट बारीमा लैजाने क्रममा भैँसीले च्याप्दा वडा सचिव कटुवाल घाइते भएका थिए । घाइते भएका कटुवाललाई उपचारका लागि स्वास्थ्य सेवा कार्यालय दैलेख पु¥याइएको थियो ।

उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख किशोर लम्सालले जानकारी दिए । त्यस्तै, दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–३ मा ट्याक्टर दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा ट्याक्टर सहचालक नौमूले गाउँपालिका–३ का २२ वर्षीय कमल पुरी गम्भीर रहेका प्रहरीले जनाएको छ ।

चामुण्डा–५ जम्बुकाँधदेखि रामघाटतर्फ जाँदै गरेको भे १ त १३३७ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो । घाइते भएका सहचालक पुरीको दुवै खुट्टामा चोट लागेको र बोल्न नसक्ने अवस्थामा रहेका दैलेख प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि स्वास्थ्य सेवा कार्यालय दैलेखतर्फ ल्याइएकोछ ।

ट्याक्टर चालक सुर्खेतको लेखबेसी नगरपालिका–९ का अन्दाजी ३० वर्षीय प्रेम राना फरार रहेका छन् । उनको खोजी भइरहेको छ। ट्याक्टर ब्रेक फेल हुँदा सडकबाट अन्दाजी ३ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० असार २३ गते शनिबार