
सुर्खेत । कर्णाली प्रदेश गौरवको आयोजनाको रूपमा रहेको निर्माणाधीन प्रदेश रंगशालाको ६० प्रतिशत भौतिक र ४६ प्रतिशत वित्तीय प्रगति भएको छ । २० मंसिर ०७८ मा पूर्व मुख्यमन्त्री एवम् नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले शिलान्यास गरेको उक्त रंगशालाको काम ६० प्रतिशत भौतिक र ४६ प्रतिशत वित्तीय प्रगति भएको भएको हो ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले आइतबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो । कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले आर्थिक वर्ष २०७९र०८० मा भएको कामको प्रगति विवरण सार्वजनिक गर्दै रङ्गशाला थ्री डी एनिमेसन दर्शक प्याराफिटमा ४ हजार कुर्सी जडानको कार्य सकिएको र भिआइपी तर्फको प्याराफिटमा सिभिल निर्माण कार्य अन्तिम चरणमा रहेको बताए ।
उनले फिनिसिङ र छाना निर्माणको कार्य बाँकी रहेको बताए । यस्तै, उनले कवर्डहलको छाना बाहेक फिनिसिङका काम भइरहेको जानकारी दिए । उनकाअनुसार पौडी पोखरी, व्यावसायिक सटर, गेट निर्माण कार्यको सिभिल स्टकचर कार्य सम्पन्न हुने अन्तिम चरणमा रहेको छ ।
फुटबल मैदानमा दुबो लगाई स्तर बुद्धिको कार्य भइरहेको र एथलेटिक्स ट्रयाकको सब बेस र नाली निर्माण सम्पन्न भएको सञ्ज्यालले बताए ।

उनले रुख रोप्ने, हरियाली गर्ने, कार्य भइरहेको बताउँदै समग्रमा निर्माणाधीन रंगशालाको कार्य तोकिएको समयभित्र सम्पन्न गर्ने गरी तालिकाअनुसार नै कार्य प्रगति भएको जानकारी दिए । १ अर्ब ५९ करोड ४७ लाख ४७ हजार ६ सय रुपैयाँ लागतमा बन्ने रङ्गशाला २०८१ जेठ महिनाभित्र सम्पन्न गरिसक्ने लक्ष्य लिइएको छ । २ मंसिर २०८१ मा हुने १० औँ राष्ट्रिय खेलकुदको लागि रङ्गशाला निर्माणको काम धमाधम भइरहेको हो ।
यता, निर्माणको जिम्मा पाएको एमएसी–जिएसएल कम्पनीले पनि भनेकै समयमा रङ्गशाला निर्माण गर्ने जनाएको छ । सदस्य सचिव सञ्ज्यालका अनुसार रङ्गशाला निर्माण अन्तरगत हालसम्म ६५ करोड ८५ लाख रुपैयाँ खर्च भएको छ । निर्माणाधीन उक्त रंगशालामा १० हजार दर्शक अट्ने क्षमता छ । खेलकुद परिषदले आर्थिक वर्ष २०७९र०८० मा असार २३ गतेसम्म चालू तर्फ ३ करोड ७२ लाख १५ हजार र पुँजीगत तर्फ ६१ करोड ७ लाख ५६ हजार गरी जम्मा ६४ करोड ७९ लाख ७१ हजार खर्च भएको छ ।
जसमा खर्च हुनेमा जिल्ला पूर्वाधार निर्माण अन्तरगत जुम्लाको राजा सिम खेलमैदानमा माटो भरान र लेभलिङ गर्ने कार्य बापत ५० लाख, रुकुम पश्चिमको चौरजहारी नगरपालिका अन्तगत पातिहाल्नामा क्रिकेट खेलमैदानको निर्माण कार्यको लागि ९४ लाख १७ हजार, यसै वर्ष २०७९ असोज २८ देखी कार्तिक ३ गतेसम्म पोखरामा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुद यस प्रतियोगिताको छनोट प्रशिक्षण र सहभागिता अन्तरगत २ करोड ५० लाख खर्च भएको जनाएको छ ।

यस्तै, खेलकुद प्रतियोगितामा सहभागिता अन्तरगत यसै वर्ष २०८० वैशाख १५ गतेदेखि १७ गतेसम्म काठमाण्डौमा सञ्चालन भएको केन्द्रीय १३ औ राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिताको सञ्चालन, प्रशिक्षण र सहभागितामा जम्मा ७० लाख, खेलाडीलाई प्रोत्साहन पुरस्कार अन्तरगत नवौँ राष्ट्रिय खेलकुदमा स्वर्ण पदक प्राप्त गर्ने खेलाडीलाई २ लाख, रजत पदक प्राप्त गर्ने खेलाडीलाई १ लाख पचास हजार र कास्य पदक प्राप्त गर्ने खेलाडीलाई १ लाखका दरले पुरस्कार प्रदानमा गरिएको थियो ।
त्यसै गरी १२ औ केन्द्रीय राष्ट्रपति रनिङसिल्ड प्रतियोगितामा स्वर्ण पदक विजेता खेलाडीलाई २० हजार रजत पदकलाई १५ हजार र कास्य पदक विजेता खेलाडीलाई १० हजार पुरस्कार प्रदान गरिएको छ । साथै कर्णाली प्रदेशका बासिन्दा भई विभिन्न अन्तर्राष्ट्रिय स्तरका पदक प्राप्त गर्नलाई पनि पुरस्कृत गरिएको छ । यसमा जम्मा रु। २७ लाख ५५ हजार खर्च भएको छ । सञ्जालले हालसम्म फुटबल मैदान, कबर्ड हल, भिआइपी प्यारापिट, स्विमिङ पुलको ढलानलगायत अन्य भौतिक संरचनाका कामहरू भइरहेका जनाए ।
१ अर्ब ५९ करोड ४७ लाख ४७ हजार ६ सय रुपैयाँ लागतमा बन्ने रङ्गशाला २०८१ जेठ महिना सम्म सम्पन्न गरिसक्ने लक्ष्य लिइएको छ ।
जसमा भलिबल, बास्केटबल लगायतका कोर्टका साथै मेडिकल वार्ड, रेफ्री, चेन्जिङ रिफ्रेस रुम, स्विमिङ पुल, पार्किङ लगायतका संरचना निर्माण भइरहेका छन् । आगामी वर्ष प्रदेश खेलकुद अन्तगत चालु तर्फ ८ करोड ३२ लाख ७६ हजार र पुँजीगत तर्फ ११ करोड ८७ लाख गरी जम्मा १ अर्व १९ लाख ७६ हजार विनियोजन भएको छ ।
जसअन्तर्गत प्रदेश रङ्गशाला निर्माणको लागि ८५ करोड, हुम्ला हक्की खेल मैदान निर्माणका लागि ५० लाख, कालिकोट कवर्ड हल निर्माणका लागि ६० लाख, दशौँ राष्ट्रिय खेलकुद लक्षित विभिन्न खेल मैदान मर्मत सुधारका लागि २ करोड, सुर्खेत चिसापानी खेल मैदानका निर्माणका लागि २४ लाख, सुर्खेत मैनतडा खेल पूर्वाधार निर्माणका १८ लाख बजेट विनियोजन गरिएको छ ।

यस्तै, रुकुम पश्चिमको चौरजहारी क्रिकेट मैदान निर्माणका लागि ६० लाख, सुर्खेत कालिन्चोक खेल मैदान निर्माणका लागि २५ लाख, जिल्ला स्तरीय खेलकुद मैदान निर्माणका लागि २ करोड रकम विनियोजन गरिएको छ । यस्तै जाजरकोट कुदु रङ्गशाला निर्माणका लागि १५ लाख, दशौँ राष्ट्रिय खेलकुद तयारीको लागी ७० लाख प्रदेश स्तरीय टिम तयारी तथा प्रशिक्षणको लागि ४ करोड ७० लाख र मुख्यमन्त्री कप जिल्ला र प्रदेश स्तरको लागि १ करोड १० लाख रुपैयाँ विनियोजन भएको जानकारी दिइएको छ।