२०८३ वैशाख ८ , मंगलबार

विद्यालयमा भौतिक पूर्वाधार निर्माण भएपछि विद्यार्थीको घुइँचो



रवि हमाल, मुगु । २०७६ सालमा मुगम कार्मारोङ गाउँपालिका –३ ताखामा स्थापना भएको नेपाल राष्ट्रिय आधारभूत विद्यालय कर्णाली प्रदेशको एक मात्र आवासीय विद्यालय हो । कुनै बेला भौतिक संरचना अभाव हुँदा विद्यार्थीहरू एउटै कोठामा बसेर पठन पाठन गर्न बाध्य भएका अहिले भौतिक संरचना निर्माण भए पछि निकै खुसी छन् ।

सुरुवातको समयमा ढुङ्गा र काठको टहराबाट सुरु भएको आवासीय विद्यालय पछिल्लो समयमा विभिन्न भौतिक सामग्री र पक्की भौतिक पूर्वाधार निर्माण हुँदै व्यवस्थित बन्न थालेपछि पढ्न आउने विद्यार्थीको निकै घुइँचो लाग्ने गरेको छ । सङ्घीय सरकारबाट छाना, प्रदेश र सरकारबाट नाना, स्थानीय सरकारबाट अन्य व्यवस्था सहयोग गरी मुगुम कार्मारोङ गाउँपालिका भित्र रहेका गरिब, दलित, असहाय, विद्यार्थी र समुदायमा शिक्षामा परिवर्तन गरी जिल्ला र देशको शिक्षा क्षेत्रमा सुधार ल्याउन विद्यालय सञ्चालन गरिएको हो ।

यो आवासीय विद्यालयमा बिस्तारै भौतिक पूर्वाधार जस्तै मैदान, लाइब्रेरी, शौचालय, खानेपानी, विद्युत् लगायत खाना, बास बस्न, लता कपडा समेत निःशुल्क पाउने भएपछि हिजो आज विद्यार्थीहरूको निकै चाप बढ्दै गएको छ । मुगम कार्मारोङ गाउँपालिकामा रहेका सामुदायिक विद्यालयमा कक्षा ५ सम्म अध्ययन गरिसके पछि अन्य कक्षा पढ्नको लागि बाहिरी पालिका जिल्ला सदरमुकाम र अन्य जिल्लामा पढ्न जानु पर्ने परिस्थिति भएको हुँदा विद्यार्थीहरूले बिचैमा कक्षा छोड्ने गरेका थिए ।

तर अहिले उक्त आवासीय विद्यालयको प्रवर्धन भएसँगै विद्यार्थीले पढाइलाई निरन्तरता दिन थालेका छन्। ‘ठुला ढुङ्गाको आड, काठका टहराबाट बाँस, गाँस, पठन पाठन गर्दै आएका थियौँ । स्थापनाका बखत यो विद्यालय सञ्चालनका लागि निकै कठिनाइहरू थिए ।पछिल्लो समयमा संघीय सरकारदेखि स्थानीय सरकारको सहयोगमा विद्यालयका भौतिक पूर्वाधार बन्दै गएपछि पठन पाठनमा गुणस्तरीय बन्दै गएको छ ।

कक्षा ४ बाट सुरु गरेको विद्यालय अहिले कक्षा ९ सम्म सञ्चालन गरिरहेका छौँ । विद्यालयमा हिजो आज छात्रा र छात्र गरी जम्मा ३ सय ४४ जना विद्यार्थी छन्,’ प्रधानाध्यापक कुशल बहादुर शाहीले भने । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास चन्द्र रावलले पनि पछिल्लो समय भौतिक पूर्वाधारको विकास भएकाले विद्यालयमा विद्यार्थीहरूको आकर्षण बढेको बताए । उनले भने,

‘पछिल्लो समयमा विद्यार्थीहरूको अनुपात विगतको भन्दा बढेको छ । भौतिक पूर्वाधार निर्माण भएका छन्, छात्रा छात्रहरूको आवास, विद्यालय कोठा, भान्सा, गोदाम घर, शौचालय,खेल मैदान, निर्माण हुँदै गएपछि निकै सुधार भएको छ । अन्तर विद्यालयमा हुने अतिरिक्त क्रियाकलापमा पनि यो विद्यालय उत्कृष्ट रहँदै आएको छ ।’

प्रदेश सरकारबाट प्रति विद्यार्थी प्रति महिना ४ हजारको दरले १० महिनाको खानाको व्यवस्था गरेको छ । त्यस्तै सङ्घीय सरकारले छाना अर्थात् पूर्वाधार भवनको व्यवस्था गरेको छ । त्यस्तै गरी स्थानीय सरकारले स्वास्थ्य सामग्री लता कपडाको व्यवस्था गरेको छ । अन्य चौकीदार भान्से लगायत १० जना कर्मचारीहरूको समेत व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष छिरीङ्ग क्याप्र्ने लामाले बताएका छन् ।

प्रकाशित मिति : २०८० असार २५ गते सोमबार