
सुर्खेत । कर्णाली प्रदेश पत्रकारिता पुरस्कार–२०८० तीन पत्रकारलाई प्रदान गरिने भएको छ । कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पुरस्कारका लागि आइतबार तीन पत्रकारको नाम प्रकाशन प्रकाशन गरेको छ ।
कर्णाली प्रदेश पत्रकारिता पुरस्कार वितरण कार्यविधि–२०८० बमोजिम मन्त्रालयले १५ असार मा पुरस्कारका लागि आवेदनको आह्वान गर्दै सूचना निकालेको थियो । तोकिएको म्यादभित्र मन्त्रालयको विद्युतीय प्रणालीमा दर्ता भएका आवेदनहरुको कार्यविधिअनुसार मूल्यांकन गरी तीन पत्रकारको नाम छनोट गरिएकोे मन्त्रालयले जनाएको छ । छनोट भएका तीनैजना पत्रकार दैलेखका रहेका छन् ।
जसमा ठाटीकाँध गाउँपालिका–१ का पंखबहादुर शाही (रातोपाटी डटकम), सोही ठाउँका भक्तबहादुर शाही (ग्यालेक्सी फोरके टेलिभिजन) र डुङ्गेश्वर गाउँपालिका–२ का हिक्मतबहादुर नेपाली (अन्नपूर्ण पोस्ट दैनिक) छन् । उनीहरुलाई प्रमाणपत्रसहित जनही ५० हजार रुपैयाँ पुरस्कार दिइने मन्त्रालयले जनाएको छ । गत वर्ष उक्त पुरस्कार (प्रादेशिक पत्रकार पुरस्कार) सुर्खेतका ललितबहादुर बुढा, चाँदनी कठायत र सल्यानकी सरिता चलाउनेलाई प्रदान गरिएको थियो ।