
मुगु । पूर्वाधार विकास कार्यालय, मुगका निमित्त कार्यालय प्रमुख इञ्जिनियर दत्त बुढ्थापामाथि कार्यकक्षमै कुटपिट गर्ने एमाले नेता समातिएको विरोधमा सो पार्टीका कार्यकर्ताले प्रदर्शन गरेका छन् ।
कर्णाली प्रदेशका पूर्वसांसदसमेत रहेका दानसिंह परियार र स्थानीय नेता तथा छायाँनाथ रारा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष खेमबहादुर रावललाई पक्राउ गरिएको विरोधमा एमालेले जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेको हो ।
शनिबार दुवै जनालाई प्रहरीले पक्राउ गरेर कारबाही प्रक्रियाअघि बढाएको थियो । त्यसपछि आज रिहाइको माग राखेर एमाले मुगुका नगर इञ्चार्ज डम्बरबहादुर रावलको नेतृत्वमा विरोध प्रदर्शन भएको हो ।
पूर्वाधार विकास कार्यालय प्रमुख बुढ्थापालाई सडक योजना सम्झौताअनुसार सबै रकम भुक्तानी नगरेको आरोप लगाउँदै कार्यालय हाताभित्रै पूर्वसांसद परियार र वडाध्यक्ष रावलले कुटपिट गरेका थिए । हिजो उनीहरुविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसूरमा जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता भएको थियो ।