रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाका इन्जिनियर रमेश लम्सालमाथि कुटपिट भएको छ । योजनाको कम मूल्यांकन गरेको भन्दै उनीमाथि बुधबार बिहान स्थानीय सिम्ली बजारमा कुटपिट भएको हो ।
खाना खाएर कार्यालय जान लागेको बेला सानीभेरी गाउँपालिका वडा नम्वर ३ निवासी गोविन्द ओलीले लम्साललाई कुटपिट गरेका हुन् । इन्जिनियर लम्सालले आफूलाई ओलीले पहिले देखि नै धम्की दिदै आएको र बुधवार कुटपिट गरेको जानकारी दिए । उनले आफ्नो टाउकोमा तीन मुक्का र पेटमा लात्ति हानेर सडकमा लडाईएको बताए ।
कुटपिटपछि लम्सालको निधारमा निलो डाम भएको छ । सानीभेरी गाउँपालिका वडा नम्बर ३ को बेल्टापु रंगशाला निर्माणको मुल्यांकनलाई लिएर इन्जिनियरमाथि कुटपिट भएको बताइएको छ । रंगशाला निर्माण समितिका अध्यक्ष ओलीले यही विषयलाई लिएर इन्जिनियर माथि कुटपिट गरेको सानीभेरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक बुढाथोकीले जानकारी दिए ।
उनकाअनुसार इन्जिनियरमाथि कुटपिट गर्ने ओलीलाई प्रहरी चौकी सिम्लीले नियन्त्रणमा लिएको छ । कुटपिट गर्ने ओली नेकपा माओवादी केन्द्र निकट युवा संगठन वाईसियल नेपाल रुकुम पश्चिमका जिल्ला संयोजक र जिल्ला खेलकुद विकास समिति रुकुम पश्चिमको कार्यबहाक अध्यक्ष समेत रहेका हुन् ।