२०८३ असार १४ , आइतबार

कर्णालीका ४ प्रतिशत नागरिक मात्रै बिमाको पहुँचमा



सुर्खेत । कर्णालीको कुल जनसङ्ख्याको ४ प्रतिशत नागरिक मात्रै जीवन बिमाको पहुँचमा रहेको पाइएको छ । नेपाल बिमा प्राधिकरण कर्णाली प्रदेश कार्यालयको तथ्याङ्क अनुसार गत जेठ मसान्तसम्म कर्णालीका चार प्रतिशत नागरिक मात्रै बिमाको पहुँचमा रहेका हुन् ।

बिमा शुल्क सङ्कलनको अवस्थाका आधारमा कर्णालीमा जीवन बिमा गर्ने नागरिकको सङ्ख्या न्यून रहेको कार्यालयले जनाएको छ । यो सङ्ख्या देशका सात प्रदेशको तुलनामा सबैभन्दा कम हो । प्रदेशगत तथ्याङ्कमा बाग्मतीमा सबैभन्दा बढी ४४.९ प्रतिशत नागरिक जीवन बिमाको पहुँचमा छन् ।

यस्तै गण्डकी र लुम्बिनीमा १४.७, कोशीमा १२.१ मधेसमा ९.२ र सुदुरपश्चिममा ५.१ प्रतिशत नागरिक बिमाको पहुँचमा रहेका छन् । कर्णालीमा सक्रिय जीवन बिमा लेखको सङ्ख्या दुई लाख १७ हजार ६ सय ५० रहेको प्राधिकरणको कर्णाली प्रदेश कार्यालय प्रमुख पदमप्रसाद सोडारीले बताए ।  उनकाअनुसार सक्रिय बिमा लेखामा सबैभन्दा बढी सावधिक जीवन बिमा गराउनेको सङ्ख्या धेरै रहेको छ ।

जसमा ६५ हजार ६ सय ७२, बालबच्चा सम्बन्धी सावधिक जीवन बिमामा ६० हजार ८०६, लघु जीवन बिमामा ४३ हजार ८०, अग्रिम भुक्तानी सावधिक जीवन बिमा १९ हजार ८ सय ३७, रूपान्तरित सावधिक जीवन बिमामा १२ हजार १ सय १९, आजीवन जीवन बिमामा ८ हजार २ सय ८२, म्यादी जीवन बिमामा ६ हजार ४ सय १४ र एकल बिमा शुल्क जीवन बिमामा १ हजार ४ सय ४० जना रहेको प्राधिकरणको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

यी सबै सक्रिय बिमा लेखबाट ४९ हजार ७ सय ४६ रुपैयाँ ९८ पैसा सङ्कलन भएको छ । प्राधिकरणका प्रमुख सोडारीले कर्णालीवासीमा बिमाको पहुँच अभिवृद्धि गर्न जीवन तथा निर्जीवन बिमकसँग नियमित छलफल, बिमा अभिकर्ता, सर्भेवर तथा क्षति मुल्यांकनकर्तासँग अन्तरक्रिया, स्थानीय सरकार, जिसस, प्रहरी लगायतसँग छलफल तथा अन्तरक्रिया कार्यक्रमहरू गरिरहेको बताए ।

उनकाअनुसार कर्णालीका १० वटै जिल्लामा एक सय १० वटा जीवन बिमाको शाखा र उपशाखा रहेका छन् । कर्णालीमा निर्जीवन बिमा गर्ने सङ्ख्या पनि न्यून छ । सम्पत्ति, सामून्दि«क, मोटर, कृषि बाली, लद्यु तथा विविधसहित कर्णालीमा ५६ हजार ८ सय ९२ निर्जीवन बिमालेख रहेको सोडारीले बताए ।

उनका अनुसार गत पौष मसान्तसम्मको कर्णालीमा कर्णालीका १० जिल्लामा गरी निर्जीवन बिमकको सङ्ख्या शाखा र उपशाखासहित ४५ वटा छन् । जसमा सबैभन्दा धेरै सुर्खेतमा रहेका छन् । सुर्खेतमा ४५, दैलेखमा ५, डोल्पामा २, हुम्लामा २, जाजरकोटमा २, जुम्लामा ५ कालिकोटमा २, मुगुमा २, सल्यानमा ३ र रुकुम पश्चिममा ५ गरी जम्मा ४५ वटा शाखा उपशाखा रहेका छन् ।

के छन् त कर्णालीमा बिमाका मुख्य चुनौती ? 

शुक्रवार पत्रकारहरूसँगको छलफलमा सोडारीले कर्णालीमा बिमा क्षेत्रमा थुप्रै चुनौतीहरू रहेको बताए । कर्णालीमा जनचेतनाको कमी, प्रदेशमा बिमा नीति तथा कानुन नहुनु, भौगोलिक कठिनाइ, वित्तीय शिक्षाको अभाव, बेरोजगारी तथा न्यून आय स्तर, वित्तीय क्षेत्रमा काम गर्ने संस्थाहरूको न्यून उपस्थिति वित्तीय क्षेत्रमा कार्य गर्ने संस्थाहरूमा आपसमा समन्वयको अभाव लगायतका चुनौती रहेको बताए ।

प्राधिकरणले कर्णालीमा बीमितको हितमा काम गरिरहेको उनको दाबी छ । उनले कर्णाली प्रदेशमा सर्भेको समस्या भएको बताउँदै ४०० वाटबाट १२०० सय पु¥याएको जानकारी दिए । कृषि बिमा राज्यको प्राथमिकतामा परेको उनको भनाई छ ।

यस्तै कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले बिमालाई अभियानकै रूपमा लिनुपर्ने बताए  । मन्त्री सिंहले बिमालाई सहर बजारमा मात्र केन्द्रित नगरी गाउँ–गाउँसम्म पु¥याउनुपर्ने बताए ।

उनले कर्णालीका दूर दराजका नागरिकसम्म बिमाको पहुँच विस्तार गर्न प्रदेश सरकारले सहयोग र सहजीकरण गर्ने बताए । कर्णालीमा बिमा क्षेत्रमा देखिएका समस्याहरू समाधानका लागि आवश्यक सहयोग प्रदेश सरकारले गर्ने मन्त्री सिंहको भनाई छ ।

कर्णालीमा प्राधिकरणले के–के ग¥यो कार्यक्रम ?

नेपाल बिमा प्राधिकरण कर्णाली प्रदेश कार्यालयले हालसम्म विभिन्न कार्यक्रम गरेका छ । जसमा स्थानीय तहका सरकारसँग अन्तरक्रिया कार्यक्रम १५, नेपाल प्रहरी, ट्राफिक प्रहरी र सशस्त्र प्रहरीसँग अन्तरक्रिया कार्यक्रम १, बिमा अभिकर्ता, सर्भेवर तथा क्षति मूल्याङ्कनकर्तासँग अन्तरक्रिया कार्यक्रम २, जिल्ला समन्वय समितिसँग अन्तरक्रिया कार्यक्रम २ र उद्योग वाणिज्य महासङ्घ कर्णाली प्रदेशसँग अन्तरक्रिया कार्यक्रम १ कार्यक्रम गरेको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : २०८० साउन २० गते शनिबार