
सुर्खेत । कर्णाली प्रदेश प्रहरीले आर्थिक वर्ष २०७९/०८० को वार्षिक गतिविधि सार्वजनिक गरेको छ । सोमबार पत्रकार सम्मेलनमार्फत कार्यालयले एक वर्षमा गरेका विभिन्न गतिविधि तथा उपलब्धिहरू सार्वजनिक गरेको हो । कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत हाल नेपालगञ्जलाई सुर्खेतमा सारिने भएको छ ।
सुर्खेतको पञ्चपुरी नगरपालिका–८ दुलालथाईमा तालिम केन्द्र सार्न लागिएको हो । प्रहरी तालिम केन्द्रलाई सुर्खेतस्थित पञ्चपुरी नगरपालिका–८ दुलालथाईमा रहेको २३ बिगाहा जग्गा उपलब्ध गराउन सबै प्रक्रिया पुरा गरी गृह मन्त्रालयमा फाइल पेस गरिसकिएको छ । नेपाल प्रहरी विशेष सुरक्षा गण कोहलपुर बाँके हाल नेपालगञ्जलाई भने सुर्खेतकै गुर्भाकोट नगरपालिकामा सार्न लागिएको छ ।
गुर्भाकोटको १३ र १४ नम्बर वडाको गुमीमा साढे चार बिगाहा जग्गा प्राप्तिको लागि आवश्यक प्रक्रिया पुरा भएको छ । २०८० असार २६ गतेको मन्त्रीपरिषद्को निर्णय मार्फत नेपाल प्रहरी विशेष सुरक्षा गणको नाममा प्राप्त गर्न सफल भएको थियो । उक्त स्थानमा कार्यालय स्थानान्तरणको निमित्त भवन निर्माण र मर्मत कार्यको लागि आवश्यक पर्ने बजेटको एस्टिमेट गरी कर्णाली प्रदेश सरकार आन्तरिक मामिला मन्त्रालयमा पेस गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख भीमप्रसाद ढकालले जानकारी दिए ।
यस्तै कर्णाली प्रदेशमा एक आर्थिक वर्षमा २ सय ७ वटा जबरजस्ती करणीका मुद्दा दर्ता भएका छन् । जसमध्ये सबैभन्दा बढी सुर्खेतमा ८८ र कम डोल्मा १ वटा मुद्दा दर्ता भएको छ । यस्तै सल्यानमा २३, दैलेखमा १८, रुकुम पश्चिममा १७, जाजरकोटमा ९, कालिकोट १७ र जुम्लामा १८ मुगुमा ७ र हुम्ला ९ वटा जबरजस्ती करणी सम्बन्धी मुद्दा दर्ता भएको छ ।
त्यसै गरी जबरजस्ती करणीका २ सय ३४ वटा प्रतिवादीहरू पक्राउ परेका छन् भने ५५ जना फरार रहेका छन् । जबरजस्ती करणीको घटनाहरूबाट सबै भन्दा बढी १० देखी १६ उमेर समूहका बालिका ९४ जना, १० भन्दा कम उमेरका ४ जना , १७ देखी २५ वर्षसम्मका ७४, २६ देखी ३५ वर्षसम्मका २१, ३६ देखी ४५ वर्षसम्म ९, ४६ देखी ५९ वर्षसम्म ३ र ६० वर्षभन्दा माथि २ जना पीडित भएका छन् ।
महिला तथा बालबालिकामा हुने हिंसाहरूमा जबर्जस्ति करणी २ सय ७, आत्महत्या १ सय २३, बहुविवाह ७५ तथा अन्य विभिन्न एसिड आक्रमण, जबरजस्ती करणी उद्येग, बेचबिखन लगायतका घटनाहरूका रहेका छन् । अपराध अनुसन्धान तर्फ आव २०७८/०७९ मा १ हजार ५५५ मुद्दा दर्ता भएकोमा २०७९/०८० मा १ हजार ७२९ मुद्दा दर्ता भएको प्रदेश कार्यालयले जनाएको छ ।
जुन ११.१८ प्रतिशतले बढी हो । जसमध्ये फर्छ्यौट ९ सय ६ वटा सामान्य, गम्भीर र जघन्य प्रकृतिका कसुरहरू फर्छ्यौट भएका छन् भने १ हजार ४ सय २७ जना पक्राउ गरिएको प्रदेश कार्यालयले जनाएको छ ।
एक करोड बढीका अवैध सामान बरामद
कर्णाली प्रदेशका विभिन्न नाकाबाट प्रहरीले एक वर्षमा एक करोड बढी रुपैयाँको अवैध सामान बरामद गरेको छ । गत आर्थिक वर्ष ०७९÷८० मा प्रहरीले कर्णालीका १० वटै जिल्लाका विभिन्न नाकाहरूबाट भन्सार चोरी–तस्करीका १ करोड ४४ लाख ८३ हजार ७ सय ९ रुपैयाँको अवैध सामान बरामद गरेको हो ।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता गोपाल चन्द्र भट्टराईले उक्त मूल्य बराबरको सामान बरामद गरेको जानकारी दिए। प्रवक्ता भट्टराईका अनुसार भन्सार छली र तस्करी गरी ल्याएका चिनी, मल, सुर्ती, लत्ताकपडा, प्लाष्टिक र काठ लगायतका सामान नियन्त्रणमा लिएर बरामद गरिएको हो ।
बरामद गरिएका सामान नियन्त्रणमा लिएर कारबाहीका लागि भन्सार कार्यालयमा बुझाउने गरिएको छ । यस्तै गत आर्थिक०७९/०८० मा १ सय ५ स्थानहरूमा सिसी क्यामेरा जडान गरिएको छ । कर्णाली प्रदेशका विभिन्न ठाउँका ३ सय ७८ वटा सिसी क्यामेरा प्रयोगमा रहेका छन् । यस्तै कर्णाली प्रदेशको जाजरकोट, डोल्पा, रुकुम पश्चिम लगायत विभिन्न जिल्लाहरूमा १५१ बिगाहा (१९६) रोपनीको गाँजा तथा अफिम खेती नष्ट गरिएको छ ।
१ हजार बढी क्युफिट काठ बरामद
प्रहरीले एक आर्थिक वर्षमा कर्णाली प्रदेशका विभिन्न स्थानहरूबाट १ हजार ३ सय ५९ क्युफिट काठ बरामद गरेको छ । यस्तै १६ क्विन्टल काईनेटीक ढुङ्गा, २० बोरा सुनपाती बरामद, ८ सय केजी सेतक चिनी, २ हजार १ सय ९२ केजी, जटामसी, ४ सय ७६ केजी, पदमचाल्नो बरामद गरेको छ ।
यस्तै एक मृत घोरल, भालुको पित्त एक थान र चितुवाको छाला एक थान सहित ४७ जनालाई पक्राउ गरिएको जानकारी दिइयो । ५१ नाल भरुवा बन्दुक नियन्त्रणमा कर्णालीमा एक वर्षको अवधिमा प्रहरीले ५१ नाल भरुवा बन्दुक बरामद गरेको छ । विभिन्न जिल्लाबाट प्रहरीले भरुवा बन्दुक तथा अन्य विभिन्न विस्फोटक पदार्थ समेत बरामद गरेको छ ।
जसमा पेस्तोल, ब्यारल दुई/दुई थान, एअर गन, ग्रिनेड, सकेट बम एक–एक थान बरामद गरेको कार्यालयको तथ्याङ्कमा उल्लेख गरिदिएको छ । पेस्तोलको गोली पाँच राउन्ड र बारुद २४९ ग्रामसमेत प्रहरीले बरामद गरेको छ ।
यस्तै, बिजुलीको तार आठ थान, ब्याट्री, सकेटसहितको पाइप र खाली पाइप थान दुई–दुई थान बरामद गरेको छ । भरुवा बन्दुकको छर्रा नौ थान र अवैध हातहतियार तथा विस्फोटक पदार्थ नियन्त्रण लिने क्रममा २२ जनालाई पक्राउ गरेर मुद्दा चलाएको कार्यालयले जनाएको छ ।
११ वटा प्रहरी कार्यालयका भवनहरू निर्माणाधीन
११ वटा प्रहरी कार्यालयका भवनहरू निर्माणाधीन रहेको जानकारी गराइएको छ । कार्यालय व्यवस्थापन, जनशक्ति व्यवस्थापन, शान्ति सुरक्षा तथा अमनचयन, अपराध रोकथाम तथा नियन्त्रण, महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा, अपराध अनुसन्धान, विपद् व्यवस्थापन, ट्राफिक व्यवस्थापन, समुदाय– प्रहरी साझेदारी कार्यक्रम, कर्णाली प्रदेश प्रहरी कार्यालयबाट सुरु गरिएका नवीनतम कार्यहरूबारे जानकारी गराइएको थियो ।
गत आर्थिक वर्षमा नयाँ स्थापना भएका कार्यालयहरूमा अस्थायी प्रहरी पोष्टहरु हुम्लाको सल्लिसल्ला र गोठिल्लाबाडामा २, मुगुको माझ घट्टमा १, दैलेखको हाडाकोट र काँसिकाधमा २, डोल्पाको फोक्सुन्डो रिग्मामा १ रहेको उल्लेख गरिएको छ ।
प्रदेशमा प्रहरी कर्मचारी र अनुपातमा ६ हजार २ सय ७९ जना प्रहरी कर्मचारीको जम्मा दरबन्दी रहेकोमा ५ हजार ६ सय ६ कार्यरत प्रहरी कर्मचारी कार्यरत रहेको प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालले बताए । जसमध्ये ५ हजार १ सय ९५ जना, ९सय ९२ जना ६७ प्रतिशत पुरुष प्रहरी कर्मचारी र ४ सय ११ गरी ९७।३३ प्रतिशत जना महिला प्रहरी कर्मचारी कार्यरत रहेका उनले जानकारी दिए ।
४९ हजार बढी सवारीसाधन कारबाहीमा
कर्णाली प्रदेश भरी ४९ हजार ४ सय २४ वटा गरी सवारीसाधनलाई कारबाहीमा परेका छन् ।कारबाहीमा परेका सवारी साधनबाट ३ करोड ८७ लाख ९१ हजार ५ सय राजश्व संकलन भएको छ ।
जसमा आर्थिक वर्ष ०७८/०७९ मा ४० हजार ४सय ४ सवारीसाधनलाई कारबाही गरी ३ करोड ३० लाख ७९ हजार राजश्व सङ्कलन भएकोमा यो आर्थिक वर्षमा १६ दशमलव ६३ प्रतिशत राजश्व संकलन वृद्धि भएको छ । चालु आर्थिक वर्षमा प्रदेश भरी सवारी नियम उल्लङ्घनमा जम्मा ४९ हजार ४सय २४ वटा कारबाही गरी ३ करोड ८७ लाख ९१ हजार ५ सय राजश्व संकलन भएको छ ।
१ लाख ५ हजार घर धुरीहरूमा स्टिकर टाँस
प्रहरीले छिटो छरितो प्रहरी सेवा प्रवाह, वास्तविक सूचना आदान–प्रदान, आपराधिक गतिविधिहरूको निरुत्साहन र नागरिकहरूलाई अझ नजिकबाट सेवा दिन सकियोस् भन्ने उद्देश्यका साथ २०८० असार ३१ गतेबाट “घरघरमा स्टिकर टाँस अभियान” सुरु गरेको थियो ।
जसमा कर्णाली प्रदेश भित्रका दश वटै जिल्लाहरूमा रहेका ३ लाख ७१ हजार भन्दा बढी घर धुरीहरूमा प्रहरीको फोन नम्बर सहितको स्टिकर प्रत्येक घरहरूको मूल ढोकामा टाँस गर्ने क्रममा हालसम्म १ लाख ५ हजार ०२७ घर धुरीहरूमा स्टिकर टाँस गरिसकिएको छ ।
प्रत्येक घरको मूल ढोकामा स्टिकर टाँस गरिरहँदा घर परिवारसँग सुरक्षा अन्तरक्रिया गर्नुको साथै आवश्यक पारिवारिक विवरण समेत सङ्कलन गरिएको छ । उक्त स्टिकर टाँस अभियानमा ३ हजार भन्दा बढी प्रहरी जनशक्ति परिचालित भई करिब ३ महिना भित्रमा सम्पन्न गर्ने लक्ष्य रहेको छ । यो अभियान सुरु भएपछि पहिलेभन्दा हाल प्रहरीलाई फोन आउने गरेको र फोन गर्नेको सङ्ख्या पनि धेरै रहेको बताएका छन् ।