
सुर्खेत । कर्णालीमा एक प्रहरीलाई तीन सय ३ नागरिकको सुरक्षा गर्नुपर्ने जिम्मेवारी देखिएको छ । जनसङ्ख्याको आधारमा ३०३ जना नागरिक बराबर १ जना प्रहरी कर्णालीमा कार्यरत छन् । यहाँ २८ हजार भन्दा बढी वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको कर्णालीको जनसङ्ख्या १६ लाख बढी छ । कर्णाली प्रदेशभरिमा ६ हजार २ सय ७९ जना प्रहरीको दरबन्दी हुनुपर्नेमा यहाँ ५ हजार ६ सय ६ जना प्रहरी मात्रै कार्यरत रहेका छन् ।
जसमध्ये यहाँ पुरुषको सङ्ख्या धेरे छ । जसअन्तर्गत ५ हजार १ सय ९५ जना अर्थात् ९२.६७ प्रतिशत पुरुष प्रहरी कर्मचारी रहेका छ भने, ४ सय ११ अर्थात् ७.३३ प्रतिशत महिला प्रहरी कर्मचारी कार्यरत रहेकी छन् । यहाँ अझै पनि ६ सय ७३ जना अर्थात् २.८५ प्रतिशत दरबन्दी खाली रहेको छ । कर्णालीमा १ जना प्रहरी कर्मचारीले भूगोलको आधारमा झन्डै ४.३७ किलोमिटरसम्मको सुरक्षा दिनुपर्छ । प्रहरी प्रदेशमा सिभिल, ट्राफिक, नेपाली सेना र प्राविधिक प्रहरी छन् ।
भौगोलिक विकटता र स्रोत–साधनको कमीले पनि सबै क्षेत्रको सुरक्षाका लागि चुनौती भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता गोपालचन्द्र भट्टराईले जानकारी दिए । कर्णालीका १० जिल्लामा ३ सय ८ प्रहरी इकाईबाट सुरक्षा गर्नुपर्ने प्रहरीको बाध्यता छ । यी मध्ये पनि १ सय ७२ प्रहरी इकाईको जग्गा भएको र १ सय १६ जग्गा नभएको प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
प्रदेशमा अहिले पनि प्रहरी इकाईका लागि ४५ प्रतिशत जग्गाको अभाव रहेको छ । त्यसै गरी ७९ वटा अर्थात् २५ प्रतिशत मात्रै प्रहरी इकाई का आफ्नै भवन छन्, भने २२९ वटा प्रहरी इकाई का भवन छैनन् । भवन नभएका २२९ वटा प्रहरी इकाई मध्ये १ सय १ इकाई अहिले पनि भाडामा चलिरहेका छन् । अझै ११५ वटा इकाईहरू त अरूको सहयोगमा चलिरहेका अवस्था कर्णालीमा रहेको छ ।
प्रवक्ता भट्टराईकाअनुसार प्रदेश प्रहरी कार्यालय तथा मातहतमा रहेका समेत रहेका ११ वटा भवन निर्माणाधीन अवस्थामा छन् । यस्तै ७ वटा प्रहरी इकाईका लागि जाजरकोट र कालिकोटमा १७ रोपनी १ आना २ पैसा १.८७ दाम बराबरको जग्गा प्राप्त भएको छ । प्रदेशको भू बनोट सुरक्षाका दृष्टिले चुनौतीपूर्ण रहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी महानिरीक्षक एवम् डिआइजी भीम प्रसाद ढकाल बताउँछन् ।
‘कर्णालीमा भौगोलिक विकटता छ, कुनै ठाउँमा घटना भए घन्टौँ हिँड्न बाध्य भए पनि कहिलेकाहीँ प्रहरीको सुरक्षा प्रभावकारी नभएको नागरिक गुनासो आउने गरेको छ,’ उनले भने । साथै उनले घरघरमा स्टिकर टाँस अभियान सुरु भएपछि प्रहरीलाई फोन गर्नेको सङ्ख्या पनि वृद्धि भएको छ । उनकाअनुसार सबैभन्दा धेरै फोन जाजरकोटका प्रहरीलाई आउने गर्दछ । जाजरकोटमा मात्रै ५० प्रतिशत फोन कल आउनेको सङ्ख्यामा वृद्धि भएको उनको भनाइ छ ।