२०८३ वैशाख ८ , मंगलबार

छ महिने बालकको जिल्ला अस्पताल हुम्लामा मृत्यु



हुम्ला । समयमै उपचार नपाउँदा जिल्ला अस्पताल हुम्लामा छ महिने बालकको मृत्यु भएको छ । अस्पतालले यहाँ उपचार हुन नसक्ने भन्दै जिल्ला बाहिर रिफर गरिएका बालकलाई हवाई सेवा अवरुद्ध भएका कारण समयमै अन्यत्र अस्पताल पुर्याउन नसक्दा उनको जिल्ला अस्पतालमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा हुम्लाको सिमकोट गाउँपालिका– ६ को माथिल्लो गाउँका सुरज सुनारका छ महिनाका छोरा ईब्रान सुनार रहेका छन् । साउन १४ गते बालकलाई मिनोनिया भएपछि अस्पताल भर्ना गरिएको थियो । नागरिक उड्डयान प्राधिकरणले उडान तालिका नयाँ लागु गर्नु र मौसम समेत खराब भएको कारण हवाई सेवा अवरुद्ध हुँदा बिरामी बालकको शुक्रबार बिहान सात बजे अस्पतालमै मृत्यु भएको अस्पतालका चिकीत्सक रोशन रावतले जानकारी दिए ।

उनकाअनुसार गत साउन १७ गते चिकीत्कसले अस्पतालमा उपचार नहुने भन्दै जिल्ला बाहिर रिफर गरेको भएपनि लिन नसक्दा छ महिनाका बालकको अस्पतालको बेडमै मृत्यु भएको हो । बालकलाई निमोनिया, झाडापखाला र इम्फेक्सन भएपनि अस्पतालका चिकीत्सकले साउन १७ गते जिल्ला बाहिर रिफर गरेका थिए।

त्यस यता हवाई सेवा अबरुद्ध भएकोले थप उपचार गर्न नपाउदा बालकको मृत्यु भएको हो। साउन १७ गते रिफर गरिएको भएपनि २६ गते बिहान मात्र बालकको मृत्यु भएको हो । बिहान मौसम सफा नहुनु र दिउसो साढे बाह्र बजेपछि नागरिक उड्ययान प्राधिकरणले लागु गरेको उडान भर्न नपाउने नियमका कारण बालकको मृत्यु भएको अधिकारकर्मीहरूले जनाएका छन्।

प्रकाशित मिति : २०८० साउन २६ गते शुक्रबार