
जाजरकोट । जाजरकोटका एक जना विद्यार्थीले आफूले कार्यक्रमबाट पाएको पुरस्कार आर्थिक स्थिति कमजोर तथा जेहेन्दार विद्यार्थीलाई सहयोग गरेकी छन् । शिवालय गाउँपालिका–५ र ६ को केन्द्र थालारैकरमा रहेको इन्द्र ज्योति मावि कक्षा १० मा अध्ययनरत छात्रा गीता खत्रीले आफूले पाएको पुरस्कार उक्त विद्यालयमै अध्ययनरत कक्षा विद्यार्थी मानबहादुर वादीलाई सहयोग गरेकी हुन् ।
विद्यालयको आयोजना र सहयोगी हातहरूका समूह (सहास) नेपाल पाइला परियोजनाको सहजीकरणमा विद्यालयमा शुक्रवार ‘राष्ट्र निर्माणमा युवाको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगिता गरिएको थियो । उक्त प्रतियोगितामा उनी सान्त्वना भएर पाएको पुरस्कार आर्थिक अवस्था कमजोर भएका डम्बर बादीका छोरा मानबहादुरलाई दिएको विद्यालयका शिक्षक प्रेमबहादुर शाहीले जानकारी दिए ।
उनकाअनुसार शुक्रवारे कार्यक्रम वक्तृत्वकला प्रतियोगितामा कक्षा एकदेखि कक्षा १० सम्मका ६ जना विद्यार्थीहरूले भाग लिएका थिए । कार्यक्रममा भाग लिएका विद्यार्थीहरूको विभिन्न कुराको मुल्याङ्गकन गरी उनीहरूलाई छनोट गरिएको थियो । जसमा सबैभन्दा राम्रो प्रस्तुतीकरण प्रस्तुत गरेर चन्द्र बहादुर खत्रीले प्रथम स्थान हासिल गरेका छन् । यस्तै, द्वितीय बिपना थापा मगर, तृतीय लक्ष्मी शर्मा र सान्त्वना खत्री भएकी थिइन् ।
कार्यक्रममा विभिन्न स्थान हासिल गरेका विद्यार्थीहरूलाई पुरस्कार समेत दिइएको र उक्त पुरस्कार नै खत्रीले मानबहादुरलाई सहयोग गरेकी हुन् । शिक्षक शाहीले विद्यार्थीको अन्तर्निहित प्रतिभालाई उजागर गर्न तथा शैक्षिक स्तर उकास्नका लागि यस्ता कार्यक्रम निरन्तर भइराख्न आवश्यक रहेको बताए ।
वडा नम्बर–६ का वडा अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि धनबहादुर बुढाले वडाबाट र आफ्नो व्यक्तिगत तर्फबाट विद्यालय र विद्यार्थीका हितमा काम गर्न सधैभरी अग्रसर भइरहने प्रतिबद्धता जनाएका छन् । यस्तै शुक्रवार नै सहास नेपाल संस्थाले विद्यालयमा भएको फोहोर व्यवस्थापनको लागि स्थानीय स्तरमै बासले बुनेका डस्बिन समेत वितरण गरेको छ ।
कार्यक्रममा विद्यालयका शिक्षक विष्णुप्रसाद शर्मा, मानबहादुर थापा, रमेश बहादुर शाही, गोकर्ण रावत, लेखापाल शेरबहादुर शाही, शिक्षिका ज्योति कार्की, बाल शिक्षिका मनसरा शाही, लगायत अन्य व्यक्तिहरूको समेत बाक्लो उपस्थिति रहेको थियो ।





