२०८३ वैशाख ८ , मंगलबार

आठबिसकोटले तरकारी तथा फलफूल आयातमा ७५ प्रतिशत कर लगाउने



रुकुम पश्चिम । रुमसपश्चिमको आठबीसकोट नगरपालिकाले पालिका बाहिरबाट आयातित तरकारी बालीमा कर लगाउने भएको छ । पालिकामा तरकारी आयातलाई रोकि स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले जिल्ला बाहिर वा विदेशबाट आयातित तरकारी बालीमा ७५ प्रतिशत कर लगाउने भएको हो ।

चालु आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रममार्फत पालिकाले कृषिजन्य वस्तुको आयातलाई निरुत्साहित गर्दै आन्तरिक उत्पादनलाई प्रोत्साहन गरेको छ । पालिकाले कर कम लगाउँदा आयातित कृषिजन्य उत्पादनसँग स्थानीय किसानले उत्पादन गरेको कृषिजन्य वस्तुले बजार मूल्यमा प्रतिस्पर्धा गर्न सकिरहेको थिएन ।

स्वदेशी उत्पादन आयातित कृषिजन्य वस्तुभन्दा महँगो पर्न जाँदा कृषकले बजार पाउन सकेका थिएनन् । नगरपालिका भित्रका कृषकहरुको उत्पादन, बिक्रि, वितरण र कृषकलाई प्रोत्साहन हुनेगरी जिल्ला बाहिर वा विदेशबाट आयात तरकारी बालीमा कुल मुल्यको ७५ प्रतिशतसम्म कर लगाइने नगरप्रमुख रवि केसीले जानकारी दिए ।

आठबीसकोट नगरपालिकामा किवी, सुन्तला, आँप, अङ्गुर, स्याउ, आलु, गोलभेँडा, धान, गहुँ खेती राम्रो हुने गरेको छ । नगरपालिकाको सो नीतिबाछ बाह्य उत्पादन निरुत्साहित हुने र स्वदेशी किसानले मूल्य पाउने विश्वास लिईएको छ ।

प्रकाशित मिति : २०८० साउन २७ गते शनिबार