२०८३ वैशाख ८ , मंगलबार

गत आर्थिक वर्षमा कर्णालीका नौ सय अन्ठाउन्न नागरिक हराए

प्रहरी भन्छ भेटिएका नागरीकको खबर भएन् दबाब मात्रै आयो


कुलेन्द्र शाही, सुर्खेत । कर्णाली प्रदेशमा गत आर्थिक वर्षमा ९ सय बढी नागरिकहरू हराएका छन् । यहाँका १० वटै जिल्लाका कुल ९ सय ५८ जना नागरिक हराएकामध्ये ८ सय १३ जना भेटिइसकेका छन् भने १ सय ४५ जना हालसम्म पनि भेटिएका छैनन्। हराउनेहरूमा अधिकांश बालबालिका र महिला रहेका छन् भने सबैभन्दा धेरै सुर्खेतका रहेका छन् ।

सुर्खेतका मात्रै एक आर्थिक वर्षमा महिला २ सय १४, बालक ५६, बालिका १ सय २२ र ज्येष्ठ महिला एक जना गरी कुल ३ सय ९३ जना हराएकोमा हालसम्म ३ सय १६ जना फेला परेका तथ्याङ्क छ। ७७ जना हालसम्म पनि फेला नपरेको प्रदेश प्रहरी कार्यालयले उल्लेख गरेको छ । यस्तै, दैलेखमा महिला ७७, बालक ११ र बालिका ३६ गरी १ सय २४ जना हराएकोमा हालसम्म १ सय २० जना फेला परेका छन् ।

अझै ४ जना फेला पर्न बाँकी रहेको प्रहरी कार्यालयले जनाएको छ । जाजरकोटमा महिला २९, बालक १० बालिका १८ र ज्येष्ठ नागरिक २ गरी ५९ जना हराएकोमा ५९ जना नै फेला परेका छन् । सल्यानमा ८० जना हराएकोमा महिला ४३, बालक १५ र बालिका २२ जनामध्ये ६८ जना फेला परिसकेका छन् भने १२ जना अझै पनि प्रहरी र घर परिवारको सम्पर्कमा आएका छैनन् ।

No description available.

रुकुम पश्चिममा महिला २९, बालक १२ र बालिका १४ जना गरी ५५ जना हराएकोमा ३३ जना फेला परेको र २२ जना अझै पनि फेला पर्न नसकेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । यस्तै, कालिकोटमा महिला १५, बालक १३ र बालिका १३ गरी ४१ जना हराएकोमा ४१ जना नै फेला परिसेकेका छन् । हुम्लामा महिला ३, बालक ५ र बालिका ३ जना गरी ११ जना हराएकोमा १० जना फेला परिसकेका छन् भने १ जना हालसम्म पनि फेला परेका छैनन् ।

मुगुमा महिला ७, बालक १४ र बालिका ६ जना गरी २७ जना हराएकोमा २१ जना फेला परेको र ६ जना हालसम्म पनि नभेटिएको प्रहरीले जनाएको छ । यस्तै, डोल्पामा महिला ६, बालक २ जना र बालिका ४ गरी १२ जना हराएकोमा १२ जना नै फेला परिसकेको प्रहरीको तथ्याङ्कले देखाएको छ । जुम्लामा महिला ३०, बालक १४ र बालिका २४ गरी ६८ जना हराएकोमा ६३ जना फेला परेको र ५ जना प्रहरी तथा घरपरिवारको सम्पर्कमा नभएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी वरिष्ठ उपरीक्षक एवम् प्रवक्ता गोपालचन्द्र भट्टराईले जानकारी दिए ।

भेटिसकेपछि अभिभावकले प्रहरीलाई खबर नगर्दा समस्या
प्रवक्ता भट्टराईले कति नागरिक भेटिइसक्दा पनि प्रहरीलाई जानकारी नदिएकोले उक्त सङ्ख्या केही घटबढ हुनसक्ने बताए । बालबालिका हराएपछि अभिभावक तथा आफन्त तुरुन्तै प्रहरीमा निवेदन दिन पुग्छन् । तर, बालबालिका सम्पर्कमा आइसकेपछि भने कतिपयले प्रहरीलाई जानकारी नै गराउँदैनन् । यस्ता बालबालिकालाई प्रहरीले बेपत्ताकै सूचीमा राख्ने गरेको उनले बताए ।

हराएका बालबालिका भेटिएपछि प्रहरीलाई जानकारी नगराउने प्रवृत्तिका कारण पनि प्रहरीको तथ्याङ्कमा नभेटिने बालबालिकाको सङ्ख्या ठुलो रहेको उनको भनाई छ । उनले भेटिइसकेपछि प्रहरीलाई खबर नगर्दा चौतर्फी दबाब हुने, प्रहरीलाई पनि खोजतलासमा सास्ती हुने, स्रोत साधनको प्रयोग धेरे हुने जस्ता समस्या आउने गरेको बताए।

‘प्रहरी सबै अभिभावक र आफन्तको सम्पर्कमा पुग्न सक्दैन, कतिपयले नभेटिएसम्म प्रहरीकहाँ ताकेता गरे पनि भेटिएपछि भने खबर नै गर्दैनन्,ु उनले भने, ‘बालबालिका तथा अन्य उमेर समूहका मानिस हराउन साथ प्रहरीमा रिपोर्ट गर्नेको सङ्ख्या धेरै हुन्छ, तर आफैँले भेट्टाएपछि प्रहरीलाई उहाँहरू खबर गर्नुहुन्न, त्यस कारण पनि प्रहरीको तथ्याङ्कमा नभेटिनेको सङ्ख्या बढी देखिन्छ ।’

हराउनेमा धेरै सुर्खेतका
गत आर्थिक वर्षमा मात्रै सुर्खेतमा २ सय १४ महिला ५६ बालक, १ सय २२ जना बालिका र एक जना ज्येष्ठ महिला हराएका छन् । यो तथ्याङ्क कर्णालीका अन्य जिल्लाको भन्दा उच्च हो । यहाँ सबैभन्दा धेरै महिला हराएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मणबहादुर शाही यहाँ जनसङ्ख्या पनि धेरै भएको र यहाँका नागरिकहरू पनि अलि धेरै चलाख बन्ने भएकाले हराउनेको तथ्याङ्क धेरै भएको बताउँछन् ।

उनी भन्छन्, ‘यहाँ त मान्छेको बस्ने केन्द्र नै भइसक्यो, ७७ वटै जिल्लाका मान्छे सुर्खेतमा होलान् । ती मध्ये जहाँको मान्छे पनि सुर्खेतबाट हराएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा निवेदन दिन्छन्। त्यसपछि त्यो हराएको तथ्याङ्क सुर्खेतमा जोडिन्छ। त्यसैले सुर्खेतबाट हराउनेको सङ्ख्या धेरै देखिएको हो ।’ घरमा सामान्य झैँ–झगडा हुने बित्तिकै बालबालिकाहरू यहाँबाटै बाहिर जाने भएकोले पनि यहाँको तथ्याङ्क अन्य जिल्लामा भन्दा धेरे देखिएको उनको भनाई छ ।

किन हराउँछन् बालबालिका ?
अधिकांश बालबालिकाहरू सानै उमेरमा प्रेममा परेर भाग्ने, सामान्य कुरामा पनि असन्तुष्ट हुने र घर छोड्ने, परिवारमा अभिभावकले राम्रो व्यवहार नगर्ने, बाबुआमा कलह गर्ने, बालबालिकाले माग गरेको पूरा नगरिदिने, रिसाउने, कुट्नेजस्ता कारणले बालबालिकाले घर छाड्ने गरेको प्रवक्ता भट्टराईले बताए । उनले अध्ययन, रोजगारी र सुख–सुविधाको प्रलोभनमा पारेर महिला तथा बालबालिका भारतका विभिन्न सहरमा पु¥याउने गरेको उनको भनाइ छ ।

त्यसै गरी अशिक्षा, जनचेतनाको अभाव, मानव तस्करी, यौनजन्य दुर्व्यवहार, बेचबिखन, आर्थिक प्रलोभन, गरिबी, बेरोजगारी, असुरक्षाका कारण प्रत्येक वर्ष बालबालिका हराउने क्रम बढ्दो छ । सामाजिक सञ्जालको दलदल र साथीभाइको लहैलहैमा घरै छाडेर हिँड्ने प्रवृत्तिले गर्दा पनि पछिल्लो समय बालबालिकाहरू हराउने क्रम बढ्दै गइरहेको छ । उनका अनुसार हराउनेमध्ये सबैभन्दा धेरै जसो बालबालिका रहेका छन् ।

हराउनेलाई कसरी रोक्ने ?

कर्णालीमा वर्षेनि बालबालिका तथा महिलाहरु हराउनेको सङ्ख्या बढ्दै गएको छ । यसलाई रोक्नको लागि बालबालिकाहरूलाई शिक्षित बनाउनुपर्ने,अभिभावकले आफ्ना बालबालिकालाई राम्रोसँग बुझाउने, आफ्नो बालबालिकालाई उचित समय दिन सकेमा बालबालिकाहरू हराउने सङ्ख्यामा कमी आउने जानकारवाला बताउँछन् । गरिबी र पछौटेपनमा परेका बालबालिकाहरूप्रति राज्य तथा सरकारवाला निकायको ध्यान जान सके यो सङ्ख्या घट्न सक्ने उनीहरुको भनाई छ।

प्रकाशित मिति : २०८० साउन २८ गते आइतबार