२०८३ जेठ २४ , आइतबार

युवा सम्बन्धी नीति कागजमै सीमित भएको गुनासो



सुर्खेत । सरकारले युवा सम्बन्धी नीति बनाएपनि कार्यान्वयन नगर्दा कागजमै सीमित रहेको गुनासो गरिएको छ । आइतबार वीरेन्द्रनगरमा अन्तराष्ट्रिय युवा दिवसका अवसरमा आयोजित स्थानीय सरकार, पत्रकार तथा युवाहरुसँग सीप र रोजगारीमुलक शिक्षामा लगानी अभिवृद्धि विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले युवाका सवालमा राज्य गम्भिर नुहँदा युवाप्रति वितृष्णा पैदा हुँदै गएको गुनासो गरेका हुन् ।

सहभागीहरुले राज्यले युवाहरुका लागि बनाएका नीति तथा योजनाहरु कहाँ जान्छन् र यसको फाइदा कसले लिइरहेका छन्, भनेर प्रश्न गरेका थिए । युवा लक्षित नीति कार्यान्वयनमा राज्यका तीनै तहका निकायले प्रभावकारी भुमिका खेल्न नसक्दा युवाका मुल मुद्दा ओझेलमा परेको उनीहरुको भनाई छ ।

शिक्षाका लागि राष्ट्रिय अभियान जिल्ला समन्वय समिति सुर्खेतद्वारा आयोजित कार्यक्रममा बोल्दै गैर सरकारी संस्था महासंघ सुर्खेतका अध्यक्ष प्रकाश सारुले सुरुमा युवा नीति आउदा युवाको अवस्था बदलिने तथा जिम्मेवारी बढ्ने अपेक्षा गरेको भएपनि त्यसो हुन नसकेको अध्यक्ष सारुको भनाई थियो ।

सारुले राज्यले आफै नीति बनाउने र आफै बिर्सने प्रवृत्ति देखाई रहेको उल्लेख गर्दै युवाहरुलाई हेर्ने दृष्टिकोण परिवर्तन हुनुपर्ने धारणा राखे । यस्तै, गैसस महासंघ कर्णालीका सचिव घनश्याम केसीले युवाहरु नेतृत्वमा गएपनि उनिहरुले युवाका लागि काम गर्न नसकेकोमा आपत्ति जनाए ।

२०७२ मा निर्माण भएको युवा नीतिले संघीयतालाई नचिन्दा प्रदेश, जिल्ला र स्थानीय तहमा युवा परिषद् गठन गर्न नसकिएको राष्ट्रिय युवा परिषद् सुर्खेतका अध्यक्ष निरज भट्टराईले बताए । आफू परिषद्को अध्यक्ष भएपनि नीतिगत र संरचनागत दुविधाका कारण अधिकार पहिचानमा समस्या रहेको उनको भनाई छ ।

यस्तै, पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेलले युवालाई तीनै तहका सरकारले व्यवहारिक शिक्षासहितको सीप र रोजगारीमा जोड्ने खालका कार्यक्रम ल्याउनु पर्नेमा जोड दिए । उक्त कार्यक्रमा वीरेन्द्रनगर नगरपालिका शिक्षा शाखाका उपसचिव धिरेन्द्र शर्माले कार्यपत्र पेश गरेका थिए ।

प्रकाशित मिति : २०८० साउन २८ गते आइतबार